Logo
Logo

यसवर्ष बिस्केटको रथ दिउँसो तान्ने


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, २२ चैत । यही २७ गतेबाट भक्तपुरबाट शुरु भई नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत भएका छन् ।
हरेक वर्ष ढुंगा हानाहान हुने र ज्यानसम्म जाने गरी जात्रा सञ्चालन हुँदा प्रसिद्ध जात्राको नकारात्मक सन्देश गएको भन्दै यसवर्ष जात्रालाई शान्तिपूर्ण र मर्या्दित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले कार्यदल समेत गठन गरेको छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जात्रालाई शान्तिपूर्ण र मर्या्दित रुपमा सम्पन्न गर्न कार्यदल गठन गरेको बताउँदै यसवर्ष रथ दिउँसो तान्ने गरी व्यवस्था मिलाएको बताए ।
गुठी संस्थानले दिने सेवा सुविधा कम भएको र गुठीको पूजा ढिलो आउने गरेको भन्दै जात्रा सञ्चालन गर्ने नाइके एवं पूजारीले मुख्य पूजा ढिलो सञ्चालन गर्दा भैरवको रथ तान्न रातपर्ने र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने गरेको छ ।
यसवर्ष यो समस्यालाई समाधान गर्दै दिउँसो २ बजे नै रथ तान्ने व्यवस्था मिलाएको नगरपालिकाको भनाइ छ । जात्रा सञ्चालन गर्ने दिन २७ गते बिहान ७ बजे भक्तपुर नगरपालिका क्षेत्र परिक्रमा गर्ने गरी प्रचारप्रसार सहितको सद्भाव ¥याली तथा जनचेतनासभा आयोजना गरिने भएको छ ।

जात्राको अवधिमा रथ तानिने मूल सडक, जात्रा हुने स्थान र चोकमा राखिएका भूकम्पले भत्काएका घरका भग्नावशेष एवं निर्माण सामग्री र अन्य सामग्री २५ गतेभित्र हटाइसक्ने भएको छ ।
जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जात्राको पहिलो दिन २७ गते र अन्तिम वैशाख ५ गते तौमढीबाट भैरवनाथको रथ तानेर पूर्वमा बुलबुल हिटी, सुकुलढोकासम्म र पश्चिममा नासमनासम्म मात्र लैजाने गरी सीमा निर्धारण गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।
जात्राको समयावधिमा भक्तपुर नगर क्षेत्रका भट्टी पसल तथा मदिरा पसलमाथि निगरानी एवं नियन्त्रण गर्न प्रहरी परिचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्