Logo
Logo

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका २० छात्रछात्रालाई जनक खड्का छात्रवृत्ति कोषले सहयोग गरेको छ । गोकर्णेश्वर नगरपालिका–२ मा रहेको बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिस्वरुप आज सहयोग हस्तान्तरण गरिएको हो ।

विद्यालयमा मजदूरका छोराछोरी मात्र अध्ययन गरिरहेका प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिनुभयो । आर्थिक अवस्थाका कारण बेलुकी खानाखान नपाएका विद्यार्थी बिहान पनि भोकै विद्यालय आएर पहिलो घण्टीमै ढलेपछि सहयोगीलाई छात्रवृत्तिका लागि आह्वान गरिएकामा कोषले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।


“निम्न आयभएका विद्यार्थी भोकभोकै विद्यालय आउँदा पहिलो घण्टीमै ढले, कारण खोज्दै जाँदा बेलुकी आमाले भात नपकाएको र बिहान आमा मजदूरी गर्न हिँडिसकेकाले भोकै विद्यालय आएका विद्यार्थी ढलेको थाहा भयो, शिक्षकहरुले चन्दा उठाएर चमेनागृहमा खाना खुवायौँ, यस्तो वर्गका विद्यार्थीलाई सहयोग आह्वान गरिएको हो”, उहाँले भन्नुभयो ।


कोषले विपन्न वर्गका जेहेन्दार २० छात्रछात्रालाई रु दुई हजारदेखि रु दुई हजार ५०० सम्म वितरण गरेको छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कापी, कलम, सिसाकलम, कलरलगायत शैक्षिक सामग्री बाँडिएको थियो । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुहुँदै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विपन्न वर्गलाई शिक्षामा विशेष सहयोग गर्ने गरी नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले न्यून आय भएका विद्यार्थीका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभएको थियो । विद्यालयमा हाल ४५० विद्यार्थी अध्ययनरत छन् । सम्पन्न वर्गका स्थानीयवासीले आफ्ना बालबालिका संस्थागत विद्यालयमा पढाउँदा डेरा गरेर मजदूरी गर्नेका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
यस्ता विद्यार्थी बाहिरबाट आउने भएकाले स्थानीयवासीबाट सामुदायिक विद्यालयलाई आर्थिक, भौतिक, नैतिकलगायत सहयोग पनि नमिल्ने गरेको शिक्षकहरुको गुनासो छ । (रासस)

प्रतिक्रिया दिनुहोस्