Logo
Logo

हावाहुरी प्रभावितलाई ५ नं प्रदेश सरकारले एक करोड दिने


- दृष्टि न्युज/संवाददाता


बुटवल । बारा र पर्सा क्षेत्रका हावाहुरी प्रभावितलाई प्रदेश नं ५ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावितहरुको सहयोगका लागि एक करोड रकम राहतकोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय जानकारी प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सञ्चारकर्मीलाई जानकारी गराउँदै प्रदेश प्रवक्ता वैजनाथ चौधरी ।

गत आइतबार साँझको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको थियो । यस्तै मन्त्रिपरिषद्को बैठकले अस्वस्थ रहनुभएका कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । क्यान्सर रोगले ग्रस्त पोखरेल अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत रहेकाले उनको उपचारमा सरकारले सहयोग गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताए ।

यसैगरी प्रदेश सरकारले प्रदेश सभाका सदस्यको जीवन बीमा गर्ने निर्णय समेत गरेको छ । एकजना बराबर रु १० लाखको स्वास्थ्य बीमा गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए । बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा÷नगरसभाको कार्यसञ्चालन कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने बैठकले निर्णय गरेको छ । प्रदेशको आवधिक योजनाको आधारपत्र ०७६÷७७–०८०÷८१ र प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन स्वीकृत गर्ने, कानून मस्यौदा तथा सुझाव आयोगको कार्य्विधि थप गर्ने र आयोगका अध्यक्ष तथा सदस्यको म्याद थप गर्ने तथा प्रदेशको घरेलु सौर्य ऊर्जा प्रणाली अनुदान कार्य्विधि स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले बाँकेको खजुरा गाउँपालिकाको केन्द्र परिवर्तन गरी बागेश्वरीमा रहेको वडा नम्बर ३ स्थित बागमती नगरमा कायम गर्न गाउँपालिकाले गरेको प्रस्ताव सरकारसमक्ष पठाउन स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्