Logo
Logo

ब्यूटी पार्लर सरसफाई र सामग्री निर्मलीकरण


डा. रेखा थापा


सरसफाइ मानव जीवनको महत्वपूर्ण पक्ष हो । सरसफाइमा ध्यान नदिने हो भने मानिसलाई अनेक किसिमका रोग लाग्न सक्छ । त्यसैले स्वास्थ्य जीवनका लागि सरसफाइ अनिवार्य शर्त हो । प्रशंग ब्यूटी पार्लर सरसफाइको हो ।

मानिस सुन्दरतामा निखार ल्याउन ब्यूटी पार्लर तथा सलोनहरुमा पुग्छन् । आज पार्लर अनिवार्य जस्तै बनेको छ । त्यसैले मानिस सुन्दर बन्न आउने पार्लरको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

ब्युटि पार्लर र सलोनहरुमा व्यक्ति–व्यक्ति प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने तथा सामग्री दोहो¥याएर प्रयोग गर्नुपर्ने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने खतरा अधिक रहन्छ । त्यसैले सरसफाई तथा निर्मलीकरणमा विशेष ध्यान दिनुपर्छ ।

किन सफा राख्ने ब्यूटी पार्लर ?

ब्यूटी पार्लर र पार्लरमा प्रयोग गरिने सामग्रीको सरसफाई गर्नाले व्यक्तिगत तथा वातावरणको स्वच्छता कायम गर्न मद्दत पुग्छ । पार्लर भित्रको हरेक सामग्री र वातावरण सफा राखी किटाणुमुक्त बनाउनुपर्छ । पार्लर सफा हुँदा आफ्नो र ग्राहक दुवैको स्वास्थ्य र स्वच्छतालाई कायम राख्न सकिन्छ । सरसफाइ नै पहिलो चरण हो, जसले मानिसलाई धेरै रोगबाट बचाउँछ ।

ब्यूटी पार्लरमा गरिने निर्मलीकरण के हो ?

ब्यूटी पार्लरमा प्रयोग गरिएका साधनहरुमा रहेका देख्न नसकिने धेरै मसिना किटाणुहरुलाई नष्ट गर्नु नै निर्मलीकरण हो । निर्मणलीकरणपछि मात्र ती सामानहरु पुनः प्रयोग गर्न सकिन्छ । ब्यूटी पार्लर र सलोनमा यस्ता धेरै साधनहरु प्रयोगमा ल्याइएका हुन्छन्, जो एक व्यक्तिलाई प्रयोग गरेपछि अर्काे व्यक्तिमा पनि प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा साधनहरु (टुल्स एण्ड इक्युपमेन्ट)लाई निर्मलीकरण गर्नु अनिवार्य हुन्छ ।

निर्मलीकरण गर्ने तरिकाहरु :

यूभी लाइट : ब्यूटी पार्लर तथा सलोनहरुमा धेरै मात्रामा प्रयोग हुने ‘यूभी लाइट स्टेरलाइजर’ हो । यसमा हुने ‘यू.भी.सी. वेभलेन्थ’ले मसिना–मसिना किटाणुहरुलाई नष्ट गर्छ । यू.भी. लाइट स्टेरलाइजर गर्दा वा किन्दा यू.भी.सी भएको लाइट स्टेरलाइजर हेर्नुपर्छ । किनकि यू.भी.ए र यू.भी.वी. किटाणुलाई नष्ट गर्न पर्याप्त हुँदैन ।

अटोक्लेभः अटोक्लेभमा किटाणु मार्न वा नष्ट गर्नको लागि १२० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पानी उमालेर प्रेसर दिइन्छ । त्यसको वाफले सामानहरुको निर्मलीकरण गरिन्छ । यसलाई ‘मोइस्ट हिट स्टेरलाइजर’ पनि भनिन्छ । वर्षाैँदेखि प्रयोगमा आएको यस्तो मेसिनले सबैभन्दा बढी प्रभावकारी रुपमा जीवाणुको नष्ट गर्छ ।

ड्राइ हिट स्टेरलाइजरः यो एक प्रकारको मेसिन हो । यसमा १५० डिग्री सेल्सियसभन्दा माथि तापक्रममा रामग्रीहरु राखी निर्मलीकरण गरिन्छ ।

जीवाणुबाट कसरी बच्ने ?

जीवाणुहरु हरेक ठाउँमा हुन्छन् । फोहोर सामग्री, फोहोर हात, निर्मलीकरण नगरिएका औजार लगायतबाट मानिसमा जीवाणु सर्ने गर्दछ । ती जीवाणुहरु मानिसको खुल्ला भागहरु– मुख, आँखा, नाक, कान, छालाको घाउ आदिबाट शरीरभित्र प्रवेश गर्छन र रोग फैलँन्छ । त्यसैले पार्लर वा सलोनहरुमा काम गर्ने व्यक्तिले हरेक कदममा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

– भुइ पटक–पटक सफा गर्नुपर्छ । अल्कोअल, फिनाइल वा लाइजोल मिसाएर सफा गर्न सकिन्छ ।

– क्रिमहरु प्रयोग गर्दा बट्टाबाट हातले सिधैं झिक्नु हुँदैन । स्पाचुलाले सानो कचौरामा खन्याएर मात्र प्रयोग गर्नुपर्छ । चाहिने जतिमात्र झिक्दा राम्रो हुन्छ । बाँकी भयो भनेर पुनः बट्टामा मिसाउनु हुँदैन ।

– डिस्पोजेवल टावेल, गाउन, ब्याण्ड तथा एप्रोनहरु प्रयोग गर्नुपर्छ । डिस्पोजेवल टावेल नभए एक व्यक्तिका लागि प्रयोग गरेपछि अर्को व्यक्तिलाई प्रयोग गर्नुपरे पनि धोएरमात्र प्रयोग गर्दा राम्रो हुन्छ । धोइसकेपछि जीवाणु नष्ट गर्न सक्ने ‘डिस्इन्फेक्टेन्ट एजेन्ट’ अल्कोहलमा डुबाउनुपर्छ ।

– अनिवार्य रुपमा माक्स र ग्लोव प्रयोग गरेर काम गर्नुपर्छ ।

– हरेक पटक काम गर्नुभन्दा अगाडि र गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ ।

– ट्वीजर, कैँची, काइँयो र ब्रसहरु एक जनामा प्रयोग भइसकेपछि स्टेरलाइज गरेर राख्नुपर्छ । त्यसपछिमात्र अरुका लागि प्रयोग गर्नुपर्छ ।

– मेकअप ब्रसहरु एकपटक प्रयोग गरेपछि सफा गरिहाल्ने बानी गर्नुपर्छ ।

– सकेसम्म डिस्पोजेबल (एक पटक प्रयोग गरेपछि फाल्न मिल्ने) टुल्स प्रयोग गर्नुपर्छ ।

– छुट्टाछुट्टै डस्टबिन राख्ने । सिसा वा निडलहरुलाई कभर गरेर छुट्टाछुट्टै डस्टबिनमा राख्नुपर्छ ।

– मेटल वा स्टिलको स्पाचुलाभन्दा डिस्पोजेवल स्पाचुला प्रयोगमा ल्याउनुपर्छ ।

एकअर्कासँग एकदम नजिक भएर गरिने काम भएकोले पार्लर र सलोनहरुमा सरसफाई र निर्मलीकरणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य तथा सरसफाइ मापदण्ड अनिवार्य पालना गर्नुपर्छ ।

पछिल्लो लकडाउन आंशिक खुलेसँगै ब्यूटी पार्लरहरु पनि पुनः सञ्चालनमा आउन थालेका छन् । ब्यूटी पार्लर तथा सलोनमा व्यक्ति–व्यक्ति प्रत्यक्ष सम्पर्कमा रहने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । पार्लर र सलोनहरुमा भौतिक दुरी कायम गर्न प्रायः असम्भव हुन्छ । त्यसैले संक्रमणको जोखिम एकदमै हुन्छ । यस्तो अवस्थामा सरसफाई र निर्मलीकरण अर्थात ‘सानिटेशन वा स्टेरलाइजेसन’मा विशेष ध्यान दिनुपर्छ ।

कोरोना निर्मूल भएपछि लकडाउन खोलिएको होइन । केही नियन्त्रण भएकाले जनजीवन सहज होस् भनेरमात्र लकडाउन आंशिक रुपमा खोलिएको हो । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा विशेष ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्