ढुङ्खर्कमा ऐतिहासिक साहित्यिक जमघट « Drishti News – Nepalese News Portal
Logo
साहित्य

ढुङ्खर्कमा ऐतिहासिक साहित्यिक जमघट


छविरमण सिलवाल


काभ्रेको वेथानचोकमा साहित्यिक कार्यक्रम गर्ने योजना मुताविक साहित्य सञ्जाल नेपालका अध्यक्ष दीपक कथित, जयराम तिमल्सिना, विक्रम तिमल्सिना, रमेश सागर र म बसेर छलफल गर्यौ । छलफलले मूर्त रुप लियो । तीन दिने कार्यक्रम तय भयो, २०६८ पुष ८–९ र १० गतेका लागि ।

ढुङ्खर्क गाविसको वडा नं. १ मा पर्ने सो स्थान काभ्रेकै उच्चस्थान, अर्थात काभ्रेकै अग्लो स्थान हो । विहानै सूर्यको किरणले घप्लक्कै अङ्गालो मार्ने यस ठाउँ निकै रमणीय छ । केही वर्ष पहिले ‘ढुङ्खर्क’सम्म हामी पुगेका थियौ, साहित्यिक मित्रहरूका साथ । त्यो यात्रा दुःखद परिवेशले निम्ताएको यात्रा थियो । अहिलेको यात्रा साहित्यसँगै पर्यटन सम्भावनाको थियो ।

समुद्री सतहबाट ३ हजार १८ मिटर उच्चाइमा रहेको यो स्थलमा पुग्नको लागि ढुङ्खर्क गेल्डुङ्बाट ४ घण्टाको पैदलयात्रा तय गर्नु पर्नेरहेछ । त्यहाँबाट तराई र हिमाल एकैचोटी देख्न सकिन्छ । त्यस ठाउँलाई पर्यटनको गन्तव्यस्थलको रुपमा विकास गर्ने नै हाम्रो मुख्य लक्ष थियो । शुरुमा लागेको थियो, त्यहाँ कुनै होटल लज छैनन्, कसरी पाहुनाहरूलाई राख्ने होला ? तर, स्थानीय वासिन्दाको जोस देखेर चकित भएँ ।

पुषको चिसो भएपनि हाम्रो यात्रा घमाइलो थियो । पुष ८, ९ र १० गतेका लागि तीन दिने यात्रा शुरु भयो, काठमाडौँबाट । लेखक, साहित्यकार, पत्रकार र साहित्य सञ्जालका सदस्यसहित करिव ८० जनाको टोली काभ्रे पुग्यो । साँगामा रहेको नेपाल प्रहरी उच्च माविमा साहित्यकार, कथाकार तथा स्कुलका प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले हामीलाई बिहानी खाजाको व्यवस्था गरेका थिए । खाजापछि हामी बनेपा लाग्यौ । बनेपामा चण्डेश्वरी मन्दिरको दर्शन गरेर बनेपा नगरपालिकाको सभा कक्षमा भेला भयौ ।

साहित्यको माध्यमबाट बेथानचोक नारायणस्थानको ऐतिहासिक धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार तथा अभिलेखिकरण गरी एक पर्यटकीयस्थलका रुपमा विकास गर्न सहयोग पुर्याउनु नै हाम्रो कार्यक्रमको उद्देश्य थियो ।

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियशरत्न शाक्य, काभ्रे बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, जनमतका सम्पादक तथा साहित्यकार मोहन दुवाल, तेश्रो आँखा नेपालका प्रमुख मधु आचार्यले हामीलाई स्वागत गर्नुभयो । छोटो परिचयात्मक कार्यक्रमसँगै काभ्रे बहुमुखी क्याम्पसले आयोजना गरेको दिवाभोजमा सहभागी भयौँ । यसपछि हाम्रो यात्रा धुलिखेलतर्फ मोडियो ।

धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठले हामीलाई स्वागत गर्नुभयो । धुलिखेलमा रहेको हजारसिँढी अवलोकन पछि हामी नमोबुद्धतर्फ लाग्यौ । नमोबुद्ध मन्दिरको दर्शन पश्चात हामी शंखु, सुन्थान हुँदै पनौती पुग्यौ । सुन्थानमा ध्रुव ढुङ्गानाज्यूले सुन्तला खानको लागि बगैँचा नै खुला गरिदिनुभएको थियो ।

धेरैको पहिलो अनुभव थियो– बोटबाटै सुन्तला टिपेर खाने । सबैजना रमाएर सुन्तला खाइरहेको दृष्यले ढुङ्गानाज्यू निकै रमाउनु भएको मैले देखें, उहाँको मुहारको चमकले यो बताइरहेको थियो । दिन ढल्दै थियो, हाम्रो यात्रा जारी थियो । पनौतीमा डा. सुमन ताम्राकार लगायत केही साथीलाई लिएर हामी आजको हाम्रो गन्तव्य ‘च्यासिङ्खर्क’तर्फ लाग्यौँ ।

काभ्रे एउटा ऐतिहासिक जिल्ला हो । हरेक क्षेत्रबाट यहाँको प्रतिनिधित्व हुने गरेको छ । धार्मिक, राजनीतिक, आर्थिक हिसावले पनि इतिहास बनाएको जिल्ला हो, काभ्रे । यहाँ रहेका विभिन्न शक्तिपिठहरूले जिल्लाको महत्ववोध गराइरहेका छन् ।

साहित्यको माध्यमबाट बेथानचोक नारायणस्थानको ऐतिहासिक धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार तथा अभिलेखिकरण गरी एक पर्यटकीयस्थलका रुपमा विकास गर्न सहयोग पुर्याउनु नै हाम्रो कार्यक्रमको उद्देश्य थियो ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त साहित्यकार, पत्रकार, संस्कृतकर्मी, चित्रकार, फोटोपत्रकार तथा पर्यटन व्यवसायी सहभागी थिए । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, श्रीहरि फुँयाल, श्रीओम श्रेष्ठ ‘रोदन’, सुमन सौरभ, तुलसीहरि कोइराला, शंकर भारती, हरिहर तिमिल्सिना, मधुसुधन पाठक, मनोज न्यौपाने, भिष्म उप्रेती, रामप्रसाद पन्त, दिपक खड्का, रमेश सागर, चेतनाथ धमला, पलपल दाहाल, ब्रम्हप्रियप्रेमस्वरुप, रमेश सागर, मोदनाथ अधिकारी, रामसुन्दर देउजा, डम्वर रसिक भारती, डा. सुमन ताम्राकार लगाय सहभागी थिए, हाम्रो यात्रामा ।

साँच्चै निकै सम्भावना बोकेको छ, ढुङ्खर्कले । पर्यटनसंगै सबै क्षेत्रले क्रमशः विकासकाको बाटो समातेको छ । राजनीतिक रुपमा पनि यहाँका थुम्काहरूले धेरै इतिहास बनाइसकेका छन् । गोर्खाली सेनाहरूले अङ्ग्रेजहरूलाई परास्त गरेको स्थान अहिले पनि सुरक्षित छ । त्यहाँ बनाइएको बंकर सुरक्षित छ, कोट थुम्कामा ।

स्थानीय मदन तामाङ भन्नु हुन्थ्यो– ‘यहाँ चियाको निकै सम्भावना छ । हामीले सबै बन्दोबस्त गरिसकेका छौं, अबको पाँच वर्षमा तपाईहरू आउँदा यी पहाडहरूमा चियाका बोटहरू हुनेछन् । अब चिया बगान हेर्न इलाम पुग्न नसकेका कैयन नेपालीहरू शहरबाट केबल ५५ किमी गुडेपछि चियाका बोटसँग लुकामारी खेल्नेछन् ।’

साँच्चै निकै सम्भावना बोकेको छ, ढुङ्खर्कले । पर्यटनसंगै सबै क्षेत्रले क्रमशः विकासकाको बाटो समातेको छ । राजनीतिक रुपमा पनि यहाँका थुम्काहरूले धेरै इतिहास बनाइसकेका छन् । गोर्खाली सेनाहरूले अङ्ग्रेजहरूलाई परास्त गरेको स्थान अहिले पनि सुरक्षित छ । त्यहाँ बनाइएको बंकर सुरक्षित छ, कोट थुम्कामा । त्यसबेलाका सैनिकहरूलाई बसाइएको वस्ती अहिले ‘गोर्खाली गाऊँ’को नामले चिनिन्छ ।

दशवर्षको युद्धकालका बेलामा पनि सेल्टरको रुपमा रहेको यो ठाउँ निकै चर्चित बन्यो । यहाँबाटै गणतन्त्रका विगुल फुकिएको थियो । सशस्त्र युद्धको थालनी भएको थियो । जे जसरी भएपनि यो ठाऊँ सधैँ ‘हटकेक’ बन्ने गर्दछ । हाम्रा कलमहरू यो ठाउँको समुन्नत विकासको लागि क्रान्ति गरिरहने नै छन् ।

यस क्षेत्रलाई एउटा ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउँनु नै हाम्रो यात्राको मूल उद्देश्य थियो । हरेक क्षेत्रका प्रख्यात व्यक्तित्व सहभागी यो यात्रा निकै महत्वपूर्ण रहेको बताउँनुहुन्छ, गजलकार ज्ञानुवाकर पौडेल । यात्रा धेरै हुने गर्छन तर निश्चित उद्देश्य बोकेर हुने यात्राहरू कमै मात्रामा हुन्छन् ।

काभ्रेली स्रष्टाहरू दिनमान गुर्मछान दिगु, नरेन्द्रकुमार नगरकोटी, अविरल ओझेल, शारदाप्रसाद शर्मा लगायतका थुप्रै सर्जकहरूले यात्रालाई सघाएका थिए । थुपै्र साहित्यिक संघ–संस्थाहरूको सहयोगबाट नै यो यात्रा सहज बन्न सकेको थियो ।

राजधानीबाट नजिकै भए पनि राज्यबाट उपेक्षित यो दुर्गम स्थानलाई ऐतिहासिक पर्यटनको विकासमा थुपै्र कार्यहरू भइरहेका छन् । तेस्रो आँखा नेपालले अघिल्लो वर्ष पनि यस्तै कार्यक्रम गरेको थियो । यसैबाट प्रभावित भएर राज्यलाई निरन्तर घच्घच्याउँन यसपटक लेखक साहित्यकारमार्फत यस भेगलाई हामीले रोजेका थियौं ।

राजधानीबाट नजिकै भएपनि भौगोलिक हिसावबाट निकै कठिन ‘ढुङ्खर्क’ महाभारत लेकहरूसँग लुकामारी खेलिरहन्छ । पर्यटनको पर्खाइमा आफ्नो सुन्दरतालाई सजाइरहेको छ । हामी विश्वस्त हुन सकिन्छ, अबका केही बर्षहरू पछि यहाँकोे मुहार फेरिने छ । हामीलाई यात्रामा निकै सहज महशुस भएको थियो । स्थानीय परिकारहरूमा रमाउने मौका पायौं । सानैमा खाएको सिस्नुको स्वाद लिन पाएँ ।

सिस्नु र ढिँडो थपिथपि खाइयो । पहिलो दिन कामीडाँडाको च्यासिँङ्खर्क पुग्दा रात परिसकेको थियो । गाऊँलेहरूको न्यानो आतिथ्यले जाडोको अनुभव त्यति भएन । रात छिप्पिदै गर्दा हामी साँस्कृतिक कार्यक्रममा सहभागी भयांै । कामीडाँडाको बारेमा धेरै कुराहरू जानकारी लियौं ।

दोश्रो दिन विहानै कामीडाँडाबाट सूर्योदय हेर्दै केही साथीहरू बेथानचोक (नारायणस्थान)तर्फ लाग्नुभयो । हामी केही साथीहरू कोटथुम्का, चौकीको अवलोकन गर्दै च्याल्टीस्थित आत्मविकास उच्च मा.वि. र महाङ्कालस्थित कृष्णगोपाल माविमा साहित्यिक कार्यक्रमहरूमा सहभागी हुँदै बेलुका गेल्दुङमा हुने साहित्यिक, साँस्कृतिक कार्यक्रममा सहभागी भयाँै ।

बेथानचोक पुगेका साथीहरू पनि बेलुका खुशीले गदगद हुँदै आइपुग्नुभयो । बेलुका स्थानीय झाँकीसहित त्यहाँका सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । बेलुका गेल्दुङ वासीको न्यानो आतिथ्य निकै न्यानो भयो । बेलुकीको न्यानोे आतिथ्यले हामीलाई छुट्टिन निकै कठिन भएको थियो । पार्वती उच्च माविमा भएको साहित्यिक कार्यक्रममा स्थानीय लगायत अतिथि साहित्यकारहरूको सिर्जना वाचनमा स्थानीय निकै रमाए ।

ढुङ्खर्कको इतिहासमै पहिलो थियो यो कार्यक्रम भने हाम्रो बेथानचोक यात्रा काभ्रेको इतिहासमा पहिलो थियो । यस कार्यक्रमले स्थानीय व्यक्ति निकै लाभान्वित बने । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनको लागि हामीलाई अनुरोध गरिरहेका छन् ।

पुष १०, यात्राको तेश्रो तथा अन्तिम दिन हामी हाम्रो यात्रालाई विश्राम दिएर आ–आफ्नो वासस्थानतर्फ फर्कनुपर्छ । दिन ढल्किसकेछ । मन गह्रुङ्गो बनाएर हामीले बिदा लियाँै । तर काभ्रेको यात्रा जारी थियो, हाम्रो । ५ः३० बजे पनौतीमा यात्राको समापन समारोहमा सरिक भयौ ।

पनौती साहित्य समाजद्धारा आयोजित समारोहमा मोहन दुवाल, मधु आचार्य, पनौती साहित्य समाजका अध्यक्ष सूर्यप्रसाद लाकाजूले आ–आफ्ना मन्तव्व राख्नुभयो । काभ्रेको सिमाना साँगामा नेपाल प्रहरी उच्च मा.वि.बाट शुरू भएको हाम्रो पर्यटन साहित्य यात्रा ऐतिहासिक नगरी पनौतीमा चिया र यमोरीसंगै समापन भयो ।

काभ्रे जिल्लाका विभिन्न साहित्य संस्थाहरूको सहयोगमा साहित्य सञ्जाल नेपाल र तेश्रो आँखा नेपालको पर्यटन साहित्य यात्रामा भएको आत्मियता मनभरी लिएर राजधानी फर्कियौ । मेरो मुल घर काभ्रे त म गई नै रहन्छु तर पर्यटनको अथाह सम्भावना बोकेको ‘ढुङ्खर्क’ले दिएको न्यानो आतिथ्यलाई सधँै सम्झिरहने नै छु । स्थानीय मदन तामाङको सपना अहिले साकार हुँदै गरेको छ, ढुङ्खर्कमा ।

चिया खेतीको आरम्भसँगै र होटल रिर्सोटहरु पनि खुल्दै गरेका रहेछन्, हामीले करिब दशवर्ष अगाडि गरेको यात्राको प्रतिफल अहिले प्राप्त हुँदै रहेछ । यो खुसीको कुरा हो । वास्तवमै काभ्रे जिल्ला पर्यटनको निकै सम्भावना बोकेको ऐतिहासिक जिल्ला हो, त्यसकारण पनि आन्तरिक पर्यटनमा जोड दिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्