Logo
Logo

घोडेपानी जाने होइन त ? खुल्दैछ नयाँ-नयाँ पदमार्ग


- दृष्टि न्युज/संवाददाता


पर्वत, २३ चैत । नेपालको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ–नयाँ पदमार्ग निर्माण सुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो ।
हाल वीरेठाटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउण्ड’ लगाउन सकिने भएको छ ।
नयाँ पदमार्गको सांसद पदम गिरीले शिलान्यास गरे । कुश्मा–३ भारतीगाउँमा आयोजित कार्यक्रममा गिरीले पदमार्गको शिलान्यास गर्नुभयो । नयाँ पदमार्ग आम्बोटबाट शुरु हुन्छ । पोखराबाट साढे एक घण्टामा आम्बोट पुगिन्छ ।
आम्बोटबाट एक घण्टा ३० मिनेट पैदल हिँडेपछि क्यानोनिङस्थल पुग्न सकिन्छ । क्यानोनिङबाट ३० मिनेटको दूरीमा आकर्षक घरवास पनि सञ्चालनमा ल्याइएको छ । क्यानोनिङसम्म सवारी साधनमा जान पनि सकिन्छ तर पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो ।
दुर्लुङमा गत वर्षदेखि महभीर छहरामा क्यानोनिङ शुरु गरिएको छ । क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो मार्गबाट अन्नपूर्ण फेरोमा पर्यटकलाई आकर्षित गर्न सकेमा साहसिक खेल क्यानोनिङको प्रचार हुने र वर्षेनी हजारौँले क्यानोनिङको मज्जा लिने क्यानोनिङ तथा पदमार्गका मुख्य अभियन्ता गोलमान गुरुङले बताए ।
‘आम्बोट–दुर्लुङ हुँदै घोडेपानी जान छोटो पर्छ, आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ’, उनले भने । यो पदमार्गमा केन्द्र सरकारको पर्यटन मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । चालू आर्थिक वर्षमा यो रकमले तीन हजार ५०० मिटर पदमार्ग निर्माण गर्ने तयारी भएको गुरुङले जानकारी दिए । उनले भने, ‘आवश्यकताअनुसार संरचना निर्माण गर्दै जान्छाँै ।’
लामो समय बेलायतमा बस्दै आएका उहाँ दुर्लुङमा क्यानोनिङको विकास र पदमार्गसहितको पर्यटकीय गाउँ बनाउन जन्मगाउँ फर्किएका छन् । ‘म पर्यटकीय गाउँको भौतिक संरचना निर्माण नगर्दासम्म गाउँमै रहनेछु’, उनले भने, । क्यानोनिङ र पदमार्गमा आउने पर्यटकलाई बास बस्नको सहज बनाउन लागि गाउँका परम्परागत घरलाई सजाएर घरवास पनि सञ्चालनमा आएको छ । अहिले घरवासका थप संरचना पनि बनाउने काम जारी छ ।
सांसद गिरीले देशभरका १०० पर्यटकीय गन्तव्यमध्ये दुर्लुङको क्यानोनिङ परेको र यसलाई नियमित चलाउन सकेमा दुर्लुङ पर्यटकीय क्षेत्र बन्ने बताए । नयाँ पदमार्ग निर्माण भएपछि दुर्लुङमा पर्यटनको सङ्ख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने धारणा उनले सुनाए ।


सफा सडक बनाउन ‘स्टिकर अभियान’
पर्वत जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान चलिरहेको छ । सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ ।
सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभियान’ शुरु गरिएको छ । यात्रुले जथाभावी रुपमा फोहर फाल्न थालेपछि सरसफाइसम्बन्धी जनचेतना जगाउने र सचेतसमेत बनाउने उद्देश्यले ‘स्टिकर अभियान’ चलाइएको हो ।
यात्रुले फालेका खानेकुरा र फोहरले सडकमा दुर्गन्ध बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी पर्वतले सवारी साधनमा सबै यात्रीले देख्ने गरी ‘पर्वतको सडक फोहोर फाल्न निषेध’ भन्ने नारासहितको स्टिकर राखेका छन् । पर्वतमा हालसम्म ५०० भन्दा बढी सवारी साधनमा स्टिकर टाँस्ने काम भएको छ । पर्वतको सडक फोहर फाल्न निषेध भन्ने नारासहितको सन्देश पर्वतबाट देशका विभिन्न ठाउँमा छुट्ने सवारी साधनमा टाँस्ने अभियान शनिबारदेखि शुरु गरिएको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए । ‘धेरै यात्रुले बसमा आवतजावत गर्दा खाने र जथाभावी फोहर प्याक्दा दुर्गन्ध फैलिँदै आएको छ, प्रमुख तिवारीले भने ।
स्टिकर टाँस्ने अभियानपछि यात्रुले जथाभावी फोहर फालेमा कारवाही गर्ने तयारी पर्वत प्रहरीको छ । अभियानले पर्वतलाई स्वच्छ हराभरा बनाउनेमा आफू विश्वस्त रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्