Logo
Logo

यस्तो छ संसदको अंकगणित, यसरी पाउँदैछन् देउवाले विश्वासको मत


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमसँगै जनता समाजवादी नेपाल (जसपा)को उपेन्द्र यादव समूहमा सांसदको घनत्व बढेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने भएका छन् । त्यसमा नेकपा एमाले माधवकुमार नेपाल समूह बलियो सारथी बन्नेछ ।

सर्वोच्च अदालतले कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै राजनीतिक परिदृश्य फेरियो । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा रहेका सांसदहरु ओली सरकार ढलेसँगै यादव समूहमा सर्दा देउवा सरकारलाई राहत मिल्यो । त्यसमा एमाले माधव समूहले समेत विश्वासको मत दिने भएपछि देउवा नेतृत्वको सरकारले संसदको बाँकी अवधि सरकारको नेतृत्वका गर्ने पक्का भएको छ ।

संसदको अंक गणित यस्तो छ :

प्रतिनिधि सभाको कुल संख्या २ सय ७५ हो । त्यसमा रिक्त संख्या ४ छ । जुन निलम्बित सांसदको संख्या हो । कुल मतमा निलम्बित सांसदको संख्या घटाउदा हाल कुल सांसद संख्या २ सय ७१ कायम हुन्छ । हाल कायम कुल संख्याको बहुमत संख्या १ सय ३६ हो । त्यसैले देउवालाई विश्वासको मतका लागि १ सय ३६ मत चाहिन्छ ।

हाल नेकपा एमालेसँग १ सय २१ मत छ । नेपाली कांग्रेसको ६१ र नेकपा माओवादी केन्द्रको ४९ मत छ । त्यस्तै, जनता समाजवादी पार्टीको ३२ (१७ उपेन्द्र यदको पक्ष) र (१५ महन्थ ठाकुर पक्ष)सँग मत छ । त्यसैगरी, नेपाल मजदुर पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनमोर्चा (राजमो)को एक–एक मत छ ।

कसरी पुग्छ देउवालाई विश्वासको मत ?

प्रधानमन्त्री देउवाले कांग्रेसको ६१, माओवादीको ४९, उपेन्द्र यादव समूह (जसपा)को १७ र राजमोको १ मत पाउनेछन् । जुन मत १ सय २८ हुन्छ । देउवालाई आवश्यक १ सय ३६ मत हो । कांग्रेस, माओवादी, जसपा र राजमोको मत बाहेक देउवालाई थप ८ मत चाहिन्छ । उक्त मत नेकपा एमालेको माधवकुमार नेपाल समूहले दिनेछ ।

प्रतिक्रिया दिनुहोस्