Logo
Logo
टिप्पणी

बेला घर्केपछि ओलीको ‘ब्याक गियर’


नवीन राई


केही नेपाली उखान यस्ता छन्, जुन उखानहरु सधैँ काम लाग्छन् । धेरै उखानहरु आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्ला निर्णयहरुसँग मेल खान्छन् । सुरुमा केही नेपाली उखान :

‘लगनपछिको हगन’
‘मर्ने बेलामा हरियो काँक्रो’
‘अर्थ न व्यर्थ गोविन्द गाई’
‘जब भयो राती, तब बुढी ताँती’ (अनर्थ नलागोस्)

यस्ता धेरै उखान छन् । जुन उखानसँग ओलीका पछिल्ला निर्णयहरु ठ्याक्कै मेल खान्छन् । उनका पछिल्ला सबै निर्णयहरु ‘लगनपछिको हगन’ सावित भएका छन् ।

सोमबार ओलीले एमालेको दशौं केन्द्रीय कमिटी बैठक राखे । जुन माग वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा खारेज भएकै दिनदेखि राख्दै आएका थिए । अर्थात, अब पार्टीलाई २०७५ जेठ २ बाट अगाडि बढाउँ भन्दै आए । ओली, आंशिक रुपमा जेठ २ मा त फर्के । तर पछाडि फर्केर हेर्दा धेरै ढिलो भइसक्यो ।

के हो जेठ दुई ?

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो । त्यसको ठीक एक दिन अगाडि नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो । हो, त्यही दिनमा फर्कौँ भनेका हुन्, माधव नेपालले ।

सर्वोच्च अदालतलले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववतः अवस्थामा फर्काएपछि फर्कनुपर्ने जेठ २ मै थियो । तर, ओली जेठ ३ मा अडिए, जेठ ३ मा फर्कन कहिले तयार भएनन् । एमाले ब्यूँतिएपछि ओली–नेपाल चारपटक आमनेसामने भए ।

पहिलो भेट पार्टी कार्यालय धुम्बाराहीमा भयो । दोस्रो भेट होटल मेरियटमा भयो । तेस्रो भेट बुढानिलकण्ठस्थित एक व्यवसायीको घरमा भयो । र, चौथो भेट, पुनः होटल मेरियटमा भयो । यी चारै भेटमा नेपालले ‘जेठ २ मा फर्कौ’ भने । तर, ओलीले चारै भेटमा ‘कुन जेठ २ को कुरा गर्नु भएको भनेर व्यङ्ग गर्दै धेरै अगाडि बढिसकियो पछाडि फर्कन सकिन्न’ मात्र भने ।

आफ्नैले पनि घात गर्न थालेपछि ओलीले केन्द्रीय कमिटीको १०औँ बैठकबाट ‘ब्याक गियर’ लगाउने कोसिस त गरे तर गाडीको आधा भाग भीरमा पुगेपछि लगाइने ‘ब्याक गियर’ले काम गर्दैन ।

पछिल्लो पटक सत्ता संकटमा पर्दा निक्कै ढिलो गरी ओलीले जेठ २ फर्केको घोषणा गरे । तर, १२औँ केन्द्रीय कमिटीको बैठक बोलाए । ओलीले जेठ २ मा फर्केको घोषणा गरे पनि वास्तावमा त्यो जेठ २ थिएन । किनकि, जेठ २ मा फर्केको भए १०औँ केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने थियो, ओलीले बोलाए त्यो बैठक १२औँ बैठक थियो । ओलीको त्यो चलाखीपूर्ण निर्णयबाट माधव नेपाल समूह झनै चिढिँए ।

ओलीले बोलाएको १२औँ बैठकले एमाले संकट झनै गहिरियो । त्यसपछि नेपाल समूहका सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर राष्ट्रपतिलाई बुझाए । संविधानविपरित देउवाको दावी राष्ट्रपतिले खारेज गरेपछि माधव समूह देउवालाई प्रधानन्त्री बनाउन परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालत पुगे ।

सर्वोच्च अदालतमा त्यो मुद्दा करिब एक महिना रह्यो । हो, त्यही बेला ओली-नेपाल अन्तिम पटक होटल मेरियटमा आमनेसामने भएका थिए । उक्त भेटमा पनि ओली र नेपालबीच पुरानै जुहारी चल्यो । माधवले जेठ २ मा फर्कौ भने ओलीले कुन जेठ दुई ? भन्दै प्रश्न गरे ।

सर्वोच्चको मुद्दाबाट हस्ताक्षर फिर्ता लिन भने । अदालतमा पुगेर सुनुवाइसमेत सकेर फैसलाको चरणमा रहेको हस्ताक्षर फिर्ता गर्ने कुरा भएन । ओलीको यो प्रयास ‘जब भयो राती, तब बुढी ताती’ (अनर्थ नलागोस्) भयो । हस्ताक्षर नै रोक्नु थियो भने परिस्थितिलाई संविधानको धारा ७६ (५)मा पुर्‍याउनु नै हुँदैनथ्यो । ७६ (५)मा पुर्‍याउने त ओली नै हुन् ।

सर्वाेच्चमा मुद्दा विचाराधिन रहेकै बेला ओलीको चाहनामा एमाले विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भयो । कार्यदलले विवाद समाधानका लागि १० बुँदे सहमति पत्र नै सार्वजनिक गर्‍याे । तर, जुन बुँदामा जेठ २ फर्कने आशयको गुन्जायस नै भएन ।

ओलीले जेठ २ मा फर्कनेगरी सहमति गर्न आफ्ना पक्षका कार्यदल सदस्यलाई भन्दै भनेनन् । प्रधानमन्त्री पद गएपनि पार्टी एकता जोगाउन ओलीले चाहेको भए साँचो अर्थमा जेठ २ फर्कन आफ्ना सदस्यमार्फत कदम चाल्नुपर्ने थियो । ओली त्यहाँ पनि चुके ।

सर्वोच्चले संविधानको धारा टेकेर शेरबहादुर देउवालाई प्रधानन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍याे । ओलीले दाह्रा किटेर माधवहरुलाई सत्तोसराप गरे । तर, माधवले भने सर्वोच्चको परमादेश लगत्तै विपक्षी गठबन्धनबाट बाहिरिएको घोषणा गरे । र, भने- ‘अब पार्टी एकताका लागि पहल गर्छु ।’

माधवको त्यो भनाइपछि नयाँ सिराबाट एमाले एकताको बहस होला भन्ने आशा पलायो । तर, बालुवाटारबाट बालकोट पुगेपछि बार्दलीबाट ‘बा’ले विष बमन गरेपछि माहोल झनै बिग्रियो ।

ओलीको उग्र उवाचले माहोल झनै बिग्रेको बेला आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भए । माधवहरु नैतिक रुपमा विश्वासको मत नदिने अवस्थामा थिएनन् । ‘मर्ने बेलामा हरियो काँक्रो’ भनेझैँ ओलीले देउवालाई विश्वासको मत नदिन ह्वीप जारी गरे । तर, त्यो धेरै ढिलो भइसकेको थियो ।

आइतबार प्रधानमन्त्री देउवाको पक्षमा अनपेक्षित विश्वास देखियो । ओली पक्षकै सांसदहरुले पनि देउवालाई विश्वासको मत दिए । त्यसपछि संविधानको धारा १०० बाट पुनः सत्तारोहण गर्ने ओलीको अन्तिम चाहना पनि कमजोर भयो । अनि, बल्ल ओली आडम्बरको गहिरो निद्राबाट ब्युँझिए । ओली ब्यूँझदा ओलीले नै भनेझैँ सत्ताको गाडी धेरै अगाडि पुगिसकेको थियो । जहाँबाट फर्कन सम्भव थिएन ।

आफ्नैले पनि घात गर्न थालेपछि ओलीले सोमबार केन्द्रीय कमिटीको १०औँ बैठकबाट ‘ब्याक गियर’ लगाउने कोसिस गरेका छन् । तर, गाडीको आधा भाग भीरमा पुगेपछिको ‘ब्याक गियर’ले काम गर्दैन, गरेको इतिहास छैन । गाडी फर्के ‘मिराकल’ मान्नुपर्छ । तर, त्यो सम्भावना अब देखिँदैन । आज ‘टुक्कावाज’ ओलीका लागि ‘दुःख पाइस मंगले आफ्नै ढंगले’ उखान उपयुक्त बनेको छ ।

(टिप्पणीमा प्रयोग गरिएको उखान लैङ्गिक विभेदयुक्त प्रकृतिका भए पनि त्यो आशय नरहेको स्पष्ट पारिन्छ ।) –स.

प्रतिक्रिया दिनुहोस्