शेरबहादुरजीले अन्तिम अवसर सदुपयोग गर्नेछन् « Drishti News – Nepalese News Portal
Logo

शेरबहादुरजीले अन्तिम अवसर सदुपयोग गर्नेछन्


वसन्त लोहनी


राष्ट्रपतिसँगको सम्बन्ध दुरुपयोग गरी ‘संगठनात्मक मिलेमतो’बाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक विघटन गराएको प्रतिनिधि सभा बाँचेर अन्ततः शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिए । खसेको २४९ मतमा १६५ प्राप्त गरी करिब १६ महिनाको लागि बहुमतको प्रधानमन्त्री भए । र, प्रतिनिधिसभा चुनाव पनि उनले नै गराउने छन् ।

प्रत्येक अन्त्यले एउटा सुरुवात बोकेको हुन्छ । नेपालको राजकाजमा एउटा अध्याय सकिएर अर्को अध्याय सुरु भएको छ । हावा भरिएको बेलुन उडे जस्तो भरिँदै गएको दम्भले उडाएको ओलीको स्वेच्छाचारी प्रवृत्तिले तहसनहस अर्थ–राजनीति र राज्य सञ्चालनको बेथिति हटाउनुपर्ने पहिलो आवश्यकता छ । मनोमानी ढंगले सत्ता सञ्चालन गर्न ओलीले दुई महिनामामा करिब १४ वटा अध्यादेश जारी गराएर ‘अध्यादेश राज’ सुरु गरेका थिए, त्यसलाई भत्काउनुपर्ने हुन्छ ।

देउवाले मन्त्रिपरिषद्को निर्णयबाटै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गराइसकेका छन् । यसअन्तर्गत भएका संवैधानिक नियुक्तिहरू ओलीले राज्यको नियन्त्रण र सन्तुलन प्रणाली भत्काएर ‘म नै राज्य हुँ’ अवधारणा निर्माण गर्ने मिलेमतोअनुसार गरेका थिए । अब के हुन्छन् ती नियुक्तिहरू त्यो हेर्न अझै बाँकी छ । संसदीय सुनुवाइ विना नियुक्त भएका नौ जना राजदूतलाई त देउवाले फिर्ता बोलाइसकेका छन् ।

देउवा सरकार दोहोरो च्यापोमा छ । पहिलो हो कोभिड–१९ सँग जुध्नु, पुसको १५ गते चीनको हुवानबाट निस्केको यो भाइरस व्यवस्थापन गर्न सरकारको घैँटोमा घाम चैत्र ११ गते मात्र लाग्यो । रोकथामको लागि व्यवस्थापन गर्नुपर्ने झन्डै अढाई महिनाको यो समय तत्कालीन प्रधानमन्त्री ओलीले बरबाद गरे । उनी त झन् भन्दै हिँडे– ‘आएको थियो गई सक्यो । बेसार पानी खाए ठिक हुन्छ ।’ त्यतिबेला उनी त भ्रमण वर्षको २०२० को लागि पर्यटनमन्त्री चीन पठाउँदै थिए, जतिबेला अकस्मात् लकडाउन गर्नुपर्यो ।

ओम्नीको उदय, भ्रष्टाचारबाट बच्न सेनाबाट खरिद, पार्टीभित्र असन्तुलन, सत्तामा टिक्न गरिएका स्वेच्छाचारी निर्णयबाट निस्केका दुष्परिणाम आदिले गर्दा सरकारले लकडाउन गर्नु सिवाय व्यवस्थापन नै गर्न सकेन । पहिलो खोप लगाएका ६५ वर्ष कटेका नागरिकले अहिलेसम्म दोस्रो खोप लगाउन पाएका छैनन् । अहिलेसम्म ६ लाख ६७ हजार संक्रमित भए र ९ हजार ५ सय ५० मरिसकेका छन् । र, भाइरसको प्रकोप बढ्दो छ । यसलाई रोक्न सक्नु फलाम चपाउनुजस्तै छ ।

ओलीको स्वेच्छाचारी चरित्रले जसरी संविधान भत्कियो त्यसलाई पुनर्निर्माण गर्ने अभिप्रायले ओलीविरुद्ध उठेको आवाजको प्रतिफल शेरबहादुरजी प्रधानमन्त्री बनेका हुन् । उनी दूधले धोएको उम्दा मान्छे भएर होइन । तर, सच्चिने अवसर सबैलाई हुन्छ ।

दोस्रो हो, प्रतिनिधिसभामा काँग्रेसको ६१ सदस्यको नेतृत्व गरेकोमा अब गठबन्धनको १६५ संसद्को नेतृत्व गर्नु पर्दाको तालमेल मिलाउनु पर्नेछ । सबैलाई मन्त्री खाने चटारो छ । पैसा कमाउनु परेको छ । महन्त ठाकुर समूहको जनता समाजवादी पार्टी, जसका ११ संसद् अदालतको आदेश अगाडि १९ दिन ओली सरकारमा मन्त्री बनेका थिए, तीनले पनि मन्त्री खाने लोभमा देउवालाई भोट दिएका छन् । ओलीको कट्टर समर्थकसम्म पनि मन्त्री खाने लोभमा देउवाको समर्थक बनेका छन् । माओवादी, एमाले–माधव नेपाल समूह, जसपाको दुवै महन्त ठाकुर र उपेन्द्र यादव पक्ष र उनको आफ्नै पार्टी कांग्रेसभित्र पनि लुज एलायन्स गर्नु पर्नेछ ।

विदेशी मालिक रिझाउन जे पनि गर्न नहिचकिचाउने ओलीको स्वभाव मुलुकभित्र भने दम्भले फुलेको बेलुनजस्तो थियो, जो क्षणभरमै फुट्यो । यहाँनेर देउवालाई सजिलो छ । उनी अत्यन्त लचकदार छन् । यति लचकदार छन् कि उनको प्रधानमन्त्री विगतलाई हेर्दा उनले सत्तामा टिक्नको लागि नेपालको राजनीतिमा धेरै नै विकृति ल्याएका छन् । पजेरो कल्चर देखि, संसद् खरिद–बिक्री, अनि असक्षम सक्षम हुँदै श्री ५ बाट अन्याय, न्याय दुवै पाएका व्यक्ति हुन् ।

ओलीको स्वेच्छाचारी चरित्रले जसरी संविधान भत्कियो त्यसलाई पुनर्निर्माण गर्ने अभिप्रायले ओलीविरुद्ध उठेको आवाजको प्रतिफल शेरबहादुरजी प्रधानमन्त्री बनेका हुन् । उनी दूधले धोएको उम्दा मान्छे भएर होइन । तर, सच्चिने अवसर सबैलाई हुन्छ । उनी जीवनको उत्तरार्ध मात्र होइन राजनीतिको उत्तरार्ध पनि छन् । यो अन्तिम अवसरको सदुपयोग गरेर मुलुकको हकहित, स्वाभिमान र पहिचानको लागि एकलव्य भएर कर्म गर्न सके निःसन्देह उनले इतिहासमा असल नाम राख्न सक्नेछन् । यहाँनिर म एउटा पुरानो गीत सम्झिरहेको छु ।
बोल छ–
भो, भो, नरोऊ जुरेली चरी
हाम्रो पालो आइपुग्यो अब त

हरेक पार्टीमा उन्मुक्त अपराध कर्म गर्न र कमाउने पालो पर्खेर बसिरहेका छन् । यो गठबन्धनमा त्यस्तो जमात बढी छ । गच्छदारहरू र आलमहरूको चंगुुलभित्र परे भने देउवाको यो पाँचौँ कार्यकाल झन् दुःखदायी हुनेछ । तर मलाई लाग्छ, यस्तो हुनेछैन । किनकि उहाँले यो कुरा राम्ररी बुझ्नुभएको छ । यो अन्तिम अवसर को सदुपयोग गर्न म उहाँलाई ह्रदय देखि शुभकामना दिन चाहन्छु । चेतना भया !

प्रतिक्रिया दिनुहोस्