Logo

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध


Published On : 8 April, 2019

विराटनगर, २५ चैत । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ ।
समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गरेको हो । मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरिएको हो ।
मन्त्रालय प्रांगणको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सुर्तीजन्य पदार्थ जाँच गरी सुर्ती फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ ।
मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आइतबारदेखि यसको प्रभावकारी थालनी गरिएको जनाएको छ ।
मन्त्रालयमा आउने व्यक्तिको साथमा सुर्तीजन्य पदार्थ फेला परे मन्त्रालयमा लैजान नदिनुका साथै यस्ता पदार्थ भेटिएमा मन्त्रालयको गेटमै फाल्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले जानकारी दिए । मन्त्रालयभित्र त्यस्तो पदार्थ साथमा भेटिए नियमअनुसार कारवाही हुने उनले बताए ।
यस्तै, आइतबारबाटै मन्त्रालयका सबै मातहतका सम्पूर्ण कार्यालयमा यस्ता पदार्थ लैजान रोक लगाइएको छ । त्यसैगरी प्रदेश भित्रका विद्यालय, स्वस्थ्य संस्थालगायतका अन्य स्थानमा सुर्तीजन्य पदार्थको सेवन रोक्ने कार्यको शुरु गरिएको छ । प्रदेशमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न कानून निर्माण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्