Logo
Logo

पूर्वमाओवादी साहले घोषणा गरेको ‘आईटी आर्मी’ले एमालेमा हलचल


दृष्टि संवाददाता


काठमाडौं । फेरि एकपटक नेकपा एमालेका ‘आईटी आर्मी’ले हंगामा ल्याएको छ । माओवादी केन्द्र त्यागेर एमाले बनेका प्रभु शाहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन भएपछि एमालेभित्रै हल्लीखल्ली चलेको हो । धेरैलाई लागेको छ कि ‘के हो आईटी आर्मी ?

यसअघि एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘साइबर सेना’ घोषणा गर्दा आलोचित भएका थिए । अहिले फेरि पूर्वमाओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेर एमालेभित्रै हंगामा मच्चाएका छन् ।

मंगलबार भक्तपुरमा नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेका थिए । जतिबेला ललितपुरस्थित च्यासलमा नेकपा एमाले केन्द्रीय कमिटी बैठक चल्दैथियो । नेता शाहले ‘आईटी आर्मी’ घोषणा गर्न लागेको थाहा पाएपछि बैठकमा नेताहरुबीच सोधीखोजी भएको थियो ।

कतिपयले नेताले प्रभु साहले घोषणा गरेको ‘आईटी आर्मी’ले के गर्छ ? यसको संगठन कस्तो हुने ? भन्दै चासोपूर्वक सोधखोज गरेका थिए । तर, साहले ‘आईटी आर्मी’ घोषणाबारे एमाले नेताहरूलाई पूर्वजानकारी गराएका थिए । उनले घोषणा कार्यक्रममा एमालेका नेताहरूलाई समेत निम्तो दिएका थिए । तर, एमाले नेताहरु कार्यक्रममा गएनन् ।

नेता साहले ‘साइबर सेना’का संस्थापक महेश बस्नेतलाई समेत निम्तो दिएका थिए । तर, बस्नेत कार्यक्रममा सहभागी नभएको एक नेताले बताए । साहले ‘आईटी आर्मी’ घोषणा गर्दा पूर्वमाओवादी नेताहरूमात्र सहभागी थिए । कार्यक्रममा पुर्वमाआवादी नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेललगायतका नेताहरू सहभागी भएका थिए ।

साहले घोषणा गरेको ‘आइटी आर्मी’मा एमालेका नेताहरु औपचारिक प्रक्रिया दिएका छैनन् । तर, पूर्वमाओवादी नेता साहाले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको साहले जानकारी दिएका थिए ।

आईटी आर्मी’ले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितिको विरुद्ध संघर्ष गर्दै विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने उनको दावी छ । उनका अनुसार चन्द भूषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्