Logo
Logo

कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले ब्यहोर्नु गैरकानूनी : थापा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमालेका बरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हाल दिल्लीमा उपचारत नेता खनालको उपचार खर्च सरकारले ब्यहोर्ने बताएपछि नेता थापाले त्यसको विरोध गरेका हुन् ।

सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालको उपचार खर्च ब्यहोर्ने बताएसँगै नेपाली कांगेसभित्रै आलोचना सुरु भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने दावी गरेका छन् ।

प्रधानमन्त्री देउवपाले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासबाट नेता खनाललाई फोन गरेर उपचार खर्च सरकारले ब्यहोर्ने बताएका थिए ।

नेता थापाले बुधबार प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउँदै विदेशमा उपचार गराउने व्यक्तिलाई सरकारले खर्च ब्यहोर्न नपाउने भनेका छन् । उनले भनका छन्, ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी हो र अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाइ उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।’

२०७४ मा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने उल्लेख छ ।

नेता थापाले उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेको बताउँदै भनेका छन्, ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन ।’ नेता खनाललाई उपचार गराउन परिवार, पार्टी नै लागिरहेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्