Logo
Logo

माधव पक्षको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बुधबार स्थायी कमिटी बैठक बसेको छ । तर, बैठकमा एमाले उपाध्यक्ष भीम रावल भने सहभागी भएनन् । सुरुका दिनमा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध खरो रूपमा उत्रिएका रावल पछिल्लो केही दिनयता नेता नेपालसँग टाढिएका छन् । बैठकमा उनको अनुपस्थितले पनि त्यो पुष्टि गरेको छ ।

नेता नेपाल समेत रावलको पछिल्लो गतिविधिबाट असन्तुष्ट भएका छन् । नेता रावलले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई १० असारमा भेटेका थिए । त्यसपछि रावलमाथि अध्यक्ष ओलीतिर ढल्किएको आरोप छ ।

रावलले सुरूका दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निकै सक्रियता देखाएका थिए । देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा बुझाएको निवेदनमा समेत हस्ताक्षर गरेका रावलले देउवालाई विश्वासको मत भने दिएनन् । उल्टै उनले सांसद पदबाट राजीनामा घोषणा गरेर तर्किए । पार्टीको संस्थागत निर्णयबिना देउवाई भोट दिन नहुने भन्दै उनले सांसद पदबाट राजीनामा दिएका थिए । तर, अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको छैन ।

यसअघि मंगलबार बानेश्वरमा बसेको नेपाल पक्षका नेताहरूको छलफलमा संसद जोगाउने एउटा कोर्स सकिएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न कोशिस गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

आइतबार नेता नेपालसहित २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । जसमध्ये ८ जना पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका थिए । नेपाल निकट मानिएका १० सांसदले भने बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्