Logo
Logo

‘माग सम्बोधन भए सरकारमा आउँछौँ’

प्रधानमन्त्री देउवासमक्ष ठाकुरको आठ बुँदे माग प्रस्तुत


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्धा सम्बोधन गर्न आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिए ।

यसअघि मंगलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाएअनुरुप चाँडो पूरा गराउन माग गरेको थियो । जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधानलगायतका माग अघि सार्दै आएको छ ।

सो क्रममा प्रधानमन्त्री देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको छ । बालुवाटार स्रोतका अनुसार सरकार विस्तार हुनेक्रममा रहेको भन्दै देउवाले ठाकुरलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन गर्ने प्रकृया अगाडि बढाएमात्र सरकारमा आउने भनेको स्रोतको भनाइ छ ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासमक्ष आठ बुँदे माग प्रस्तुत गरेका छन् । नागरिकताको विषय, संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीलगायत राजबन्दीको रिहाइ लगायतका माग अघि सारिएको छ । जसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आफूहरुको मुख्य बटमलाइन मधेसको माग नै भएको बताए ।

जसपामा उपेन्द्र यादव समूहले देउवालाई विश्वासको मत दिने भएपछि ठाकुर समूहले पनि अन्तिममा देउवाको पक्षमा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्