Logo

बेरोजगारी बढ्दै, गाउँमा युवाशक्ति रितिँदै


Published On : 8 April, 2019

रुकुम (पूर्व), २५ चैत । राहदानी बनाएर तेस्रो मुलुक जानेको संख्या वर्षेनी बढ्दो छ । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनौँ युवा विदेशिइरहेका छन् ।
जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा धेरै छन् ।
कामको खोजीमा युवा भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिँदा वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन् । देशमै रोजगारको सिर्जना नहुँदा जति पढेलेखे पनि विदेश जानुपर्ने बाध्यता रहेको जानकार बताउँछन् ।
जिल्लाका युवाको ठूलो हिस्सा श्रमका लागि अमेरिका पुगेका छन् । खाडी मुलुक साउदी, कतार, मलेशियालगायतका देशमा जाने युवाको जमातसमेत उत्तिकै छ । वैदेशिक रोजगारका लागि युवा मुग्लानतिर लागेपछि विकास निर्माण, सामुदायिक अभियानदेखि परम्परा, संस्कारसमेत प्रभावित बनेका छन् । खेतीपातीको काम पनि निकै प्रभावित भएको छ ।
गाउँमा जनशक्ति नहँुदा खेती लगाउन छाडेका जग्गा बाँझिदै गएका छन् । मन्त्रिपरिषद्को बैठकले रुकुम (पूर्व)लाई गत वर्ष भदौ ५ गते छुट्टै जिल्लाको रूपमा मान्यता दिएको थियो भने असोज १९ गते जिल्ला प्रशासन कार्यालयलगायत अन्य कार्यालयको उद्घाटन गरिएको थियो ।
यस अवधिमा कार्यालयको तथ्याङकअनुसार एक हजार ९५५ ले राहदानी लिएका छन् । यस आर्थिक वर्ष सकिने बेलासम्म जिल्लाबाट राहदानी लिनेको सङ्ख्या दुई हजार ५०० नाघेको अनुमान कार्यालयले गरेको छ ।
विदेश जाने अधिकांश २० देखि ३५ वर्ष उमेरसमूहका युवा रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । ‘पछिल्लो समयमा राहदानी बनाउन आउने महिलाको संख्यासमेत बढेको छ’, प्रजिअ शर्माले भने, ‘जिल्ला प्रशासनको तथ्याङ्कअनुसार २०७४ मा एक हजार १२७ ले राहदानी बनाएका छन् । यस वर्षको फागुनसम्मको तथ्यांक हेर्ने हो भने ८२८ ले राहदानी लिएका छन् ।’
कार्यालयबाट दैनिक आठ देखि १० जनाले राहदानी लिने गरेको उहाँको भनाइ छ । जिल्लाबाट महीनामा २५÷३० को सख्यामा राहदानी बनाएर काम खोज्दै अन्य मुलुक जाँदा गाउँ सुनसान बन्दै गएको हो ।

युवा पलायनको योे दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिँदै गएको पुष्टि हुन्छ । चुनाव जितेका जनप्रतिनिधिले समेत युवालक्षित स्वरोजगारका कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ । सिस्ने गाउँपालिकाका स्थानीयवासी भाष्कर रेउलेले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्