Logo
Logo

नेपालका १५ वटा बैंक ह्याक गरी पैसा चोरी गर्ने ह्याकरको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको खुलासा भएको छ । जसमा राष्ट्र बैंकसमेत परेको छ ।

ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा समेत पठाइएको छ ।

प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फतसमेत धम्की आएको बताएका छन् । ‘अंग्रेजीमा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदै छ भनेर फोन काट्यो,’ उनले भनेका छन्,, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौँ । सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन आग्रह गरेका छौँ ।’

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र बिहीबार बिहानसम्म कुनै गडबडी नभएको सम्बद्ध बैंकहरूले जनाएका छन् । ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्