Logo
Logo

चीनमा बाढीले भूमिगत रेल स्टेशन डुबाएपछि त्रास


दृष्टि संवाददाता


काठमाडौं । चीनको व्यस्त भूमिगत रेल स्टेशनमा मंगलबार बाढी आएसँगै कैयौँ हतास यात्रुहरूले भाग्ने प्रयास गरेका थिए । र, केहीलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढा पु¥याइदिएको थियो । बिबीसीले जनाएअनुसार रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुगेको थियो । आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाई माथि धकेलिरहेका थिए ।

सामाजिक सञ्जालमा देखिएका केही भिडिओहरूमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ । बाहिर झन् धेरै पानी रहेको थाहा नहुँदासम्म एक जना यात्रुले झ्याल फुटाउने प्रयास गरिरहेका थिए । केहीले बित्यास लाग्दो स्थितिको भिडिओ खिँचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए ।

‘म अब थप बोल्न सक्दिन’ एक जना महिलाले सामाजिक सञ्जाल वेबोमा लेखिन्, ‘२० मिनेटभित्र उद्धार नभए सयौँको संख्यामा रहेका हामीले ज्यान गुमाउने छौँ ।’ कैयौँ घण्टाको त्रास र अनिश्चितता पछि उद्धार कार्यमा खटिएको टोली रेलको छतबाट भित्र प्रवेश गर्न सफल भयो र मानिसहरूलाई बाहिर निकाल्यो । ‘हामीले छतमा रहेको सिसा अलिकति फुटायौँ । त्यसपछि अचानक त्यहाँ हावा आयो’ नाम नखुलाइएकी एक महिलाले सराकारी प्रसारक सीसीटीभीलाई भनिन् ।

जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भए । खनान प्रान्तस्थित एल्लो रिभरको किनारमा रहेको उक्त सहरमा १ करोड २० लाख मानिसहरू बसोबास गर्छन् । पछिल्लो घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ । बाढीका कैयौँ कारणहरू हुन सक्छन् ।

जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ । झन्डै ९ करोड ४० लाख जनसंख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो । जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्