Logo
Logo

केरुङको सुन खोज्दा यसरी ४० लाख गुम्यो अञ्जुको


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० पुस ।
सुन तस्करी बढेसँगै काठमाडौंमा तस्करीको सुन सस्तोमा दिने भनेर ठगी पनि बढ्न थालेको छ । सस्तोमा सुन बेच्ने भन्दै नक्कली सुन दिएर ठगी गर्ने धेरै गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले समीर लामा नेतृत्वको गिरोहका १० जनालाई पक्राउ गरेको हो । उनीहरूले न्युरोडकी अञ्जु शर्मालाई ४० लाख रुपैयाँ ठगी गरेका हुन् । उनीहरूले केरुङबाट तस्करी भएको आएको सुन सस्तोमा बेच्ने भन्दै झुक्याएर नक्कली सुन बेचेका हुन् ।

सिआइबीले लामासहित रोहित मगर भनिने पूर्णबहादुर पुलामी, पवन विक, मनीष ढुंगाना, सन्तोषकुमार लामा, मनोज लामा, सरिता शेर्पा भन्ने संगीता राई, सुरेश राई र सागर राईलाई पक्राउ गरेको छ । गिरोहमा आबद्ध डिएसपी उपनाम भएका व्यक्ति फरार छन् । उनले आफू सिआइडीको डिएसपी भन्दै सो ठगीमा भूमिका खेलेको प्रहरीले जनाएको छ । समूहका सबैजसो आपराधिक पृष्ठभूमिका भएको र सबैले उपनाम राख्दै आएको प्रहरीले जनाएको छ ।

गुन्डागर्दीबाट ठगी र चोरीमा
गिरोहका नाइके समीर लामा गुन्डागर्दीको आरोपमा विगतमा पक्राउ परेका व्यक्ति हुन् । हाल जेलमा रहेका गुन्डानाइके समीरमानसिंह बस्नेतको समूहमा उनी आबद्ध रहेको प्रहरीले जनाएको छ । उनले नै ११ जनाको समूह बनाएर ठगी र मोटरसाइकल चोरीको धन्दा चलाएको प्रहरीको भनाइ छ । सो गिरोहबाट प्रहरीले साढे २२ लाख र चोरीका मोटरसाइकल पनि बरामद गरेको छ ।

१० लाख कमाउन खोज्दा ४० लाख गुम्यो

घटना गत १२ कात्तिकबाट सुरु हुन्छ । न्युरोडमा सुनको कारोबार गर्ने अञ्जुलाई गाउँकै चिनजानका केशव बोहराले सस्तोमा सुन बेच्ने व्यक्ति भनेर पवन विकसँग भेट गराइदिन्छन् । पुतलीसडकस्थित ‘दिदीको क्याफे’ मा भएको थियो उनीहरूको पहिलो भेट । आफ्ना व्यक्तिहरूले केरुङ नाकाबाट तस्करी गरेर सुन ल्याउने भएकाले सस्तोमा बिक्री गर्ने भन्दै विकले शर्मालाई पहिलो भेटमै आश्वस्त पारे । बजारमा तस्करीको सुनको बारम्बार कारोबार हुने भएकाले अञ्जु विश्वस्त भइन् ।

एक किलो सुनलाई करिब ५० लाख रुपैयाँ पर्नेमा ४० लाख रुपैयाँमा दिने प्रस्ताव आएपछि उनले सुन किन्ने बताइन् । सोहीअनुसार १५ कात्तिकमा सुन किन्ने तय भयो । न्युरोडस्थित बैंक अफ काठमाण्डूबाट ४० लाख रुपैयाँ निकालेर उनी सुन किन्न बौद्ध पुगिन् । बौद्धको केएफसी रेस्टुरेन्टमा उनीहरूको भेट भयो । गिरोहका मुख्य नाइकेले पहिला पैसाको फोटो खिचेर पठाउन निर्देशन दिए । सोहीअनुसार फोटो पठाएपछि मात्र अञ्जुलाई सुन दिइयो । संगीता राईलगायत व्यक्ति त्यतिवेला त्यहाँ उपस्थित थिए ।

कालो टेपले बाँधेको सुनको बिस्कुट उनलाई दिइएको थियो र उनको ४० लाख उनीहरूले लिए । तस्करीको सुन भएको र प्रहरी आउन सक्ने भएकाले पसलमा पुगेर मात्र खोल्न अञ्जुलाई भनिएको थियो । सोहीअनुसार उनले पसलमा गएर टेप निकालेर सुन खोलिन् । सुनको कारोबार गर्दै आएकी उनलाई देख्नेबित्तिकै सुन नक्कली भएको चिन्न गाह्रो भएन । उनले हारगुहार गर्न थालिन् । यस्तो घटनामा सिआइबीले राम्रोसँग अनुसन्धान गर्ने आफन्तबाट थाहा पाएपछि उनी सिआइबीमा पुगेकी थिइन् ।

सिआइबीले अनुसन्धान पूरा गरी मुद्दा दायर गरेको छ । ब्युरोका डिएसपी कवित कटवालका अनुसार उनीहरूविरुद्ध संगठित अपराध, ठगी, चोरी र किर्ते मुद्दा दायर भएको छ । उनीहरूबाट प्रहरीले पाँचवटा मोटरसाइकल बरामद भएको छ जसमध्ये तीनवटा चोरीको भएको खुलेको छ । सोही आधारमा प्रहरीले चोरी मुद्दा पनि चलाएको हो । चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाएकाले सरकारी छाप तथा दस्तखत किर्ते मुद्दा पनि चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्