Logo
Logo
काँग्रेसको १४औँ महाधिवेशन

सुदूरपश्चिममा उम्मेदवारीको तँछाड-मछाड


दृष्टि संवाददाता


कैलाली । नेपाली काँग्रेसको १४औँ महाअधिवेशन नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै गएको छ । अहिले वडादेखि केन्द्रसम्म नेता कार्यकर्तालाई चुनावी चटारोले छोएको छ ।

सुदूरपश्चिम सभापति शेरबहादुर देउवाको क्षेत्र पनि हो । जहाँ केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन नेताहरुबीच तँछाड मछाड सुरु भइसकेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने योजना बनाइसकेका छन् । रमेश लेखक, एनपी साउद, दिलेन्द्र बडू, बद्री पाण्डे र ईश्वरी न्यौपाने पनि टिकटको दौडमा छन् । लेखक, साउद र बडू महामन्त्रीका लागि लबिङ गरिहेका छन् ।

यस्तै, आरक्षण कोटाबाट पाण्डेले सह–महामन्त्री र महिला कोटाबाट न्यौपाने सह–महामन्त्रीमा दावी गर्दै आएकी छन् ।

सुदूरपश्चिम प्रदेश अध्यक्षमा आधा दर्जन आँकाक्षी देखिएका छन् । वर्तमान कैलाली सभापति नरनारायण शाह प्रदेश अध्यक्ष बन्ने लिगलिग दौडमा छन् । दुई पटक जिल्ला सभापति भइसकेकाले उनले यसपाली प्रदेश सभापति ताकेका हुन् । कांग्रेस विधानअनुसार जिल्लामा २ पटकभन्दा बढी सभापति हुन नपाइने व्यवस्था छ ।

यस्तै, प्रदेश सभापति बन्ने दौडमा बझाङका अर्जुन बहादुर सिह, कञ्चनपुरका बहादुरसिंह थापा, अछामका बलबहादुर कँुवर र गोविन्द शाह रहेका छन् । नेपाली कांग्रेसको जिल्लाको अधिवेशन यही २६ साउनमा हुँदैछ । सुदूरपश्चिम प्रदेशमा जिल्ला सभापतिका आकांक्षीले आ–आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । १३औँ महाधिवेशनमा ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेताहरू निर्वाचित भएका थिए ।

प्रदेश राजधानी कैलालीमा जिल्ला सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी र गणेश देउवाको नाम यतिखेर चर्चामा छ ।

यस्तै, कञ्चनपुरमा पनि जिल्ला सभापति बन्न रस्साकस्सी सुरु भएको छ । वर्तमान सभापति हरि बोहरा, पदम बोगटी र गोपाल गुरुङले जिल्ला सभापति ताकेका छन् । गत अधिवेशनमा बोगटी बोहरासँग पराजित भएका थिए ।

यस्तै, सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापतिका लागि हरिप्रसाद भट्ट र परशुराम नगरपालिका मेयर भीमबहादुर साउदले उमेदवारी घोषणा गरिसकेका छन् भने उता बाजुरामा पूर्वसभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रोपटक जिल्ला सभापतिमा भिड्ने तयारी गरेका छन् ।

यस्तै, बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजना बनाएका छन् । उनी अहिले लबिङ गरिरहेका छन् । उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्टले पनि सभापति बन्न लबिङ सुरु गरेका छन् ।

यस्तै, अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ ।

डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ ।

बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्वसभापति देवराज शर्मा, नेता जगत जोशी, खडग बहादुर बोहरा र रमेश भण्डारी जिल्ला सभापति बन्ने दौडमा छन् ।

कांग्रेस महाधिवेशनको कार्यतालिका अनुसार १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा २६ साउनमा अधिवेशन हुनेछ । भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुने कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्