Logo

नेता सिंहको कटाक्ष ‘ओलीजीले रेल र पानीजहाज चलाइसक्नुभएको छ’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले ओली सरकारले पानीजहाजदेखि चुच्चे रेल चलाएकाले नयाँ सरकारलाई सहज हुने कटाक्ष गरेका छन् ।

शुक्रबार संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनेक्रममा सांसद सिंहले देउवा लक्की भएको बताए । ‘एक किसिमले उहाँ लक्की नै हुनुहुन्छ’ सिंहले भने, ‘किनभने ओलीजीको साढे तीन वर्षको समयमा उहाँले पानीजहाज पनि चलाइसक्नुभएको छ ।’ उनले थपे, ‘हाइवेमा रनवे बनेकै छ । यही कारण हाम्रा प्रधानमन्त्रीलाई काम सजिलै होला भन्ने लागेको छ ।’

कांग्रेस सांसद सिंहले खोप व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले कोरोनासँगै भ्रष्टाचारको भाइरसलाई पनि सरकारले नियन्त्रण गर्नुपर्ने बताए ।

सांसद सिंहले संविधानको धारा ७६(५) को अपव्याख्या नगर्न समेत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सुझाव दिए । निवर्तमान केपी ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीपूर्ण काम गरेकाले लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न काँग्रेस सरकारमा जान बाध्य भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्