Logo
Logo

राजनीतिमा कति सफल पूर्वप्रहरी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीकी पहिलो डिआईजी पार्वती थापा केही साताअघि राजनीतिमा प्रवेश गरिन् । पहिलो आईजिपी हुने दाउमा रहेकी उनी असफल भएपछि अवकाश पाइन् र केही वर्ष विदेश बसिन् । प्रहरी सेवामा रहँदै सधैं विवादमा पर्ने उनी हालै स्वदेश फर्किएर मधेसी जनअधिकार फोरममा प्रवेश गरेकी छिन् । ठूलो पार्टीले वास्ता नगरेपछि उनी क्षेत्रीय पार्टीमा लागेकी हुन् ।

अवकाशपछि राजनीति रोज्ने उनी एक्लो पूर्व प्रहरी होइनन् । ठूलो संख्यामा पूर्व प्रहरीहरु राजनीतिमा लागेका छन् । जसमध्ये कपितय सफल भएका छन् भने कतिपय असफल छन् ।

सशस्त्र प्रहरीका पूर्व एआईजी रोहित थापा पनि राजनीतिमा छन् । वीपीपुत्र प्रकाश कोइराला नेतृत्वको नेशनल मुभमेन्टमा उनी लागेका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग राखेर सो अभियान सुरु गरिएको हो ।

आइजिपी बन्न नसकेपछि डिआइजी पदबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका नवराज सिलवाल गत वर्ष तीन महिनामै सांसदमा निर्वाचित भए ।

राजिनामा दिएको केही दिनमै तत्कालिन एमाले प्रवेश गरेका उनी ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेस नेता उदय शमशेर राणालाई पराजित गर्दै विजयी भए । प्रहरीबाट राजनीतिमा लागेको छोटो अवधिमै उनले ठूलो सफलता हात पारे । सिलवाल जस्तै धेरै जना प्रहरीबाट अवकाश पाएपछि राजनीतिमा लागेका छन् । तर, धेरैजसो अपेक्षाकृत सफल भएका छैनन् ।

एआइजीबाट अवकाश पाएलगत्तै गणेश राई दुई वर्षअघि नयाँशक्ति पार्टीमा आबद्ध भए । उनी पार्टीको सुरक्षा विभागका प्रमुख समेत भए । पार्टीको केन्द्रीय सदस्य बनेका उनी सुरुमा निकै उत्साहित थिए । तर, उनको त्यो उत्साह एक वर्ष पनि टिक्न सकेन । गत वर्ष मंसिर १२ गते उनले नयाँ शक्ति परित्याग गरे । ‘राजनीति सोचे जस्तो रहेनछ’, राई भन्छन् ‘फौजी वातावरणको मान्छेलाई राजनीतिक पार्टीको वातावरण ठीक लाग्दो रहेनछ ।’ अब कुनै पनि पार्टीमा नलाग्ने उनको भनाइ छ ।

धु्रवबहादुरः सांसद बनाउने चाहना अधुरै

अदालतको आदेशमा आइजिपीबाट हटेपछि धु्रवबहादुर प्रधानलाई सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनायो । तर, त्यसबाट सन्तुष्ट हुन नसकेपछि राजीनामा दिएर राजनीतिमा होमिए । ०५६ सालको आम निर्वाचनमा प्रधानले नवलपरासी क्षेत्र नम्बर ४ बाट चुनाव लडेका थिए । तर, उनी कांग्रेसका देवेन्द्र कँडेलसँग पराजित भए । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि त्यहीबाट चुनाव लडेका उनले सम्मानजक भोट ल्याए पनि जित हात पार्न सकेनन् । गत वर्ष प्रतिनिधिसभाको निर्वाचनमा उनी राप्रपा प्रजातान्त्रिकको समानुपातिकतर्फ १ नम्बरमा थिए । तर, पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा माननीय बन्ने प्रधानको सपना पूरा हुन सकेन ।

१८ वर्ष सक्रिय राजनीतिमा लाग्दा समेत चुनावमा सफल हुन नसके पनि उनी पार्टीको राजनीतिमा भने सफल छन् । ‘म सुरुदेखि नै पार्टीभित्र टप टेनभित्र परेँ’, प्रधान भन्छन् ‘पार्टी राजनीतिमा भने आफूलाई सफल ठान्छु ।’ हाल उनी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष छन् । तर उनी धेरै निराश छैनन् ‘चुनाव हार्नुमा विभिन्न पक्ष हुन्छन्, तर राजनीतिमा लागेकोमा ममा कुनै निराशा छैन । अवकाशपछिको जीवनमा राजनीतिमा बिताउन पाएकोमा खुसी नै छु ।’ प्रधान राजनीतिका साथै खेलकुद क्षेत्रमा पनि सक्रिय छन् । उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत भए ।

कसैको रहर, कसैको महत्वाकांक्षा

दुई वर्षअघि अवकाशप्राप्त कर्मचारीहरु मिलेर नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गरे । जसमा धेरैजसो अवकाशप्राप्त सुरक्षा अधिकारीहरु थिए । नेपाल प्रहरीका पूर्व डिएसपी चुणादेवसिंह लामा पार्टीको अध्यक्ष बने । तर, सो पार्टी एक वर्ष पनि सञ्चालन हुन सकेन ।

पार्टी सञ्चालन निकै गाह्रो काम लागेपछि उनीहरुले गत वर्ष पार्टीलाई एमालेमा समाहित गरे । लामा एमालेबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचिमा थिए । तर, सांसद बन्न नसकेपछि निराश भए । उक्त पार्टीका रहेका पूर्व एआइजी विनोद सिंह, पूर्व एआइजी रुपसागर मोक्तान, पूर्व एसएसपी केदार कोइराला, पूर्व एसएसपी वसन्त कुँवर, सशस्त्र प्रहरीका पूर्व एआइजी जीवन थापा, राष्ट्रिय अनुसन्धान विभागबाट डिआइजी पदबाट अवकाश पाएका नवराज थापा लगायत आबद्ध भएका थिए । तर, पार्टीमा प्रवेश गरेपछि उचित जिम्मेवारी नदिएको भन्दै उनीहरु असन्तुष्ट छन् । उनीहरुमध्ये कतिपय रहरले त कतिपय पदीय महत्वाकांक्षाले पार्टी नै खोलेर राजनीतिमा लागेका हुन् ।

छुट्टै पार्टी चलाउन नसक्ने निचोड निकालेपछि सो पार्टीका नेताहरुले सुरुमा कांग्रेससँग पार्टी एकीकरणको प्रयास गरेका थिए । ‘तर कांग्रेसबाट समयमै जवाफ आएन,’ पूर्व एसएसपी वसन्त कुँवर भन्छन्, ‘एमालेले प्रस्ताव पठाएको पहिलो दिनमै कमिटि बनाएर एकीकरणको प्रक्रिया अघि बढायो, त्यसकारण हामी एमालेमा आबद्ध भएका हौं ।’

०६४ सालमा डिएसपीबाट अवकाश पाएलगत्तै लामा राजनीतिमा लागेका हुन ्। सुरुमा राप्रपा र पछि चुरेभावर पार्टीमा आबद्ध भएका उनी संविधानसभाको निर्वाचन ०७० मा चुरेभावरको समानुपातिक सूचीमा थिए । तर, भोट नपुगेपछि उनी सांसद हुन पाएन् । त्यसपछि उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरे । त्यो पार्टीले पनि स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा नल्याएपछि एमालेमा आबद्ध भए ।

मेयरदेखि सहायकमन्त्रीसम्म

विगतमा पनि केही पूर्वप्रहरी राजनीतिमा लागेका थिए । पञ्चायतकालमा नेपाल प्रहरीका दुई आइजिपी खड्गजित बराल र डिबी लामा अवकाशपछि राजनीतिमा लागे । बराल अवकाशपछि राष्ट्रिय पञ्चायतको सदस्य बने । लामाले भने चुनाव नै लडे । रसुवाबाट निर्वाचित समेत भएका लामा ०५५ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायकमन्त्री समेत भएका थिए ।

नेपाल प्रहरीका पूर्व आइजिपी रविन्द्रप्रताप शाह पनि ०७० को संविधानसभा निर्वाचनबाट सभासद बने । कांग्रेस निकट पृष्ठभूमि भएका उनी माओवादीबाट समानुपातिक सांसद बनेपछि धेरै चकित भएका थिए । तर, शाह भने राजनीतिमा लाग्ने उद्देश्यले सभासद् नबनेको बताउँछन् । ‘माओवादीबाट सांसद भए पनि मैले पार्टीको सदस्यता लिइनँ’, उनी भन्छन् ‘परिस्थितिवश संविधानसभा सदस्य भइयो, संविधान बनाउने जिम्मेवारी अनुसार संविधान बनाइयो, राजनीतिमा सक्रिय हुने कुनै योजना छैन ।’

त्यस्तै, एसएसपीबाट अवकाश पाएपछि एमालेमा आबद्ध भएका लक्ष्मीनरसिंह वादे स्थानीय तहको निर्वाचनमा काभ्रेको बनेपा नगरपालिकाको मेयरमा निर्वाचित भए । अवकाशपछिको जीवनलाई सक्रिय बनाउने उद्देश्यले आफू राजनीतिमा लागेको मेयर वादे बताउँछन् । ‘राजनीतिमा आएपछि प्रहरी संगठनलाई बलियो बनाउन मैले आफ्नोतर्फबाट सहयोग गर्दै आएको छु’, उनले भने ।

आ–आफ्नै स्वार्थ

आइजिपीमा बढुवा नगरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अन्याय गरेको भन्दै नवराज सिलवाल एमालेमा प्रवेश गरेका थिए । चुनावी भाषणहरुमा उनले देउवालाई गाली गरे । प्रतिशोधकै लागि पनि उनी एमाले प्रवेश गरेर राजनीतिमा लागेको धेरैको विश्लेषण छ । उनको एमाले प्रवेशले गत वर्षको चुनावमा कांग्रेसलाई धक्का लागेको विश्लेषण गर्नेहरु पनि प्रशस्तै छन् ।

पदमा रहेका बेला कमाएको अकुत सम्पत्ति जोगाउन पनि कतिपयले राजनीति पार्टीको छहारी खोज्ने गरेका छन् । केही भने राजनीतिक शक्तिका लागि आबद्ध हुने गरेका छन् । अवकाश पाएपछि एकैपटक आफ्नो पहुँच गुम्ने भएकाले शक्तिमै रहन केही राजनीतिक दलमा लागेका छन् ।

सशस्त्रका पूर्वएआईजी ऋषभदेव भट्टराई तथा पूर्व डिआइजी नारायण पाण्डेले पनि अवकाशपछि राजनीतिलाई रोजे । उनीहरु नयाँशक्ति पार्टीमा आबद्ध भए । दुवै जनालाई गत वर्ष नयाँ शक्तिले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि उनलाई पार्टीले निलम्बन गरेको थियो । पाण्डे भने अहिले त्यति सक्रिय छैनन् ।

दुई वर्षअघि एसएसपीबाट अवकाश पाएका लव विष्ट पनि लगत्तै विवेकशील पार्टीमा आबद्ध भएका थिए । पछिल्लो समय प्रहरी सेवाबाट अवकाशपछि राजनीतिमा लाग्ने क्रम बढेको छ । सुरक्षा जस्तो निष्पक्ष भएर काम गर्नुपर्ने राज्यको निकायमा बसेका व्यक्तिहरु अवकाश लगत्तै एउटा पार्टीमा आबद्ध हुनुलाई धेरैले गलत ठान्छन् । तर, कतिपयको विचार फरक छ । ३० वर्षे सेवाहदका कारण सक्रिय उमेरमै अवकाश पाइने भएकाले बाँकी जीवन निष्क्रिय बिताउनुभन्दा राजनीतिमा लाग्नुपरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्