Logo
Logo

गठबन्धनबीच फाटो ल्याउने षडयन्त्र हुँदैछ : प्रचण्ड

लापरबाही नगर्न मन्त्रीहरुलाई निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने प्रयास भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए ।

‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ’, प्रचण्डले भने ।

प्रचण्डले संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको टिप्पणी गरेका छन् ।

प्रचण्डले संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै अझै चुनौती बाँकी रहेको बताए । ‘ठूलै लडाइँ जितियो । संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ । सजिलो छैन ।’

यस्तै प्रचण्डले पछिल्लो समय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् । “मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ । नियुक्ति पायो भने ठीक छ नभए बदमाश भनेर गाली गर्ने प्रवृत्तिको विकास भएको छ”, उनले भने ।

यस्तै प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् । सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न प्रचण्डले निर्देशन दिए ।

जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना÷साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष प्रचण्डले सुझाव दिएका छन् ।

यसअघिको सरकारले निरंकुशता लाद्न विभिन्न ठाउँमा सेटिङ मिलाएको त्यसलाई भत्काएर राम्रा काम गर्न चुनौती भएकोले बुद्धिममत्तताका साथ काम गर्नुपर्ने प्रचण्डको भनाई छ ।

यो पनि…

प्रतिक्रिया दिनुहोस्