Logo
Logo
साहित्य

कविता- संविधान


वसन्त लोहनी


संविधान सत्तामा पुग्ने
र, सत्तामा टिक्ने एउटा दस्ताबेज
त्यो भन्दा केही भएन
एउटा निर्जीव पारिएको दस्ताबेज
न त्यसको शब्द
न त्यसको मर्म
हिफाजत भयो
त्यसैलाई विरूप बनाएर
आफ्नो स्वरूप सुन्दर पार्ने
अनवरत कसरत मसिहाहरूको

हिटलर, विश्व इतिहासको सर्वोच्च मसिहा
उ भन्थ्यो–
सशस्त्र संघर्ष गरेर
जेल परेर
सत्तामा आएको उ
उत्कृष्ट वाईमर संविधानबाट
चुनाव जितेर, जनताको चाहनाबाट
जालझेलबाट होइन
न आफ्नो इच्छाबाट
अझ प्रश्न गथ्र्यो–
को छ जनहित र अधिकारको लागि
ऊ बराबरको ?

सबैलाई सम्मोहित पारेर भन्थ्यो– उसको अटल विश्वास केवल संविधानको हिफाजतमा
र, त्यसो भन्दै संशोधन गर्दै गयो
अध्यादेश निकाल्दै गयो
कानुन बदल्दै गयो
यसरी सत्ता मात्र होइन
राज्य नै कब्जा गर्यो
फरक नै भएन राज्य र उ बिच
राज्य उसैमा विलय भयो

बोलीमा थियो केवल जनताको लागि
तर वास्तविकता थियो उसको लहड
उसलाई संविधानसँग मतलब नै थिएन
केही न केहीको एउटा व्यर्थ
काम सकिएको कागज

स्वेच्छाचारी, स्वेच्छाधारीले
संविधान मात्र उपयोग गर्ने हो
चरम दुरुपयोग गर्ने हो
नपत्याए सोध्नुहोस्
‘यति’को लागि गरिएको कानुन संशोधन
‘ओम्नी’को लागि मिति सच्याएर गरिएको निर्णय
अझ नपत्याए
रोएका अध्यादेशहरूलाई सोध्नुहोस्
जसले गोजीको सुपारी झैँ निस्कनु पर्छ
संवैधानिक पदहरू कब्जा गर्ने
कसैको लहडको लागि
जनताको नाममा

त्यसैले आफैसँग सोध्ने गर्छु म
यी कमजोर पराश्रित धुमिल स्वरूपहरू
किन यति चिच्याउँछन्
संविधान संशोधनको लागि

प्रश्न हो संशोधन कसको लागि ?
मुलुकको लागि
या उभिएको पात्रको लागि ?
या अन्त कसैको लागि ?

प्रतिक्रिया दिनुहोस्