नेपाली साहित्यमा काभ्रेली चेलीको गर्व « Drishti News – Nepalese News Portal
Logo

नेपाली साहित्यमा काभ्रेली चेलीको गर्व


छविरमण सिलवाल


‘गीताको गीतकार, कथाकार, निबन्धकार, कवि, समलोचक प्रतिभाको संयोगले नै उनका निबन्धहरू पनि सुललित, सशक्त र सन्देशमूलक हुन्छन् । यिनको सबभन्दा ठूलो विशेषता हो– स्वभाविकता । जुन यिनको स्रष्टा व्यक्तित्व जस्तै टड्कारो छ । गीताका समग्र सिर्जनाहरू भावनात्मक उत्कृष्टताका नमूना हुन् । सरल भाषामा व्यक्त गहन विचार उनको अर्को महत्वपूर्ण विशेषता हो ।’

वरिष्ठ साहित्यकार जगदीश घिमिरेका यी भनाइले गीताको समग्र व्यक्तित्व झल्काउँछ । नेपाली साहित्यका हरेक विधामा आफ्नो प्रभाव गाढा बनाएकी गीता त्रिपाठी काभ्रेली चेली हुनुमा गर्व लाग्छ । लामो समय भारतमा बसेर काम गर्नुभएका उनको पिता वेदराज थपलियाको नाम त्यहाँ रामबहादुर सिंह थियो । र, रामबहादुरकै नामबाट आएका चिठ्ठीहरू हराएकोमा उनी दुःखी छिन् । यसै प्रसङ्गमा उनी भन्छिन्– ‘आज आएर पिताजीको अस्तित्व पनि त्यही हराएको चिठ्ठीजस्तै लागिरहेछ । उहाँका कारण जीवन छ, जीवनको अर्थ छ । तर, उहाँ हुनुहुन्न । उहाँ नहँुदा धेरै कुरा नभएजस्तो लागिरहन्छ । जीवनको अर्थ नभएजस्तो लागिरहन्छ । तर, रामबहादुर सिंह सधैँ–सधैँ एउटा आविष्कारजस्तो घुमिरहन्छ, मस्तिष्कमा ।’

पिता एउटा आदर्श पुरुष हुनुहुन्थ्यो, समाजका लागि । उहाँकै आदर्शमा टेकेर गीता नेपाली भाषा, साहित्यमार्फत सेवा गरिरहेकी छिन् । आफ्ना सन्तति र समाजका एउटा आर्दश बनेर शब्द–चौतारी निर्माण गरिरहेकी छिन् । उनको लेखनको महत्त्वपूर्ण पक्ष भनेकै सरलता र शालीनताभित्रको विशिष्ट चेतना हो ।

उनकासामु शब्दहरू नै शालीन बनेर प्रकट भइदिन्छन् जस्तो लाग्छ । शब्द संयोजनमार्फत कलात्मक प्रस्तुतीका लागि सिपालु छिन, गीता । यसैले त वर्तमानमा भिन्नै शक्ति लिएर उदाएकी छिन् ।

उनी जीवनलाई पटक्कै ढाँट्दिनन् । जे जस्तो छ, त्यसैलाई मिठो लयमा प्रस्तुत गरिदिन्छिन् । त्यसकारण उनका सिर्जनाहरूमा जीवनका गीत भएर सुमधुर रूपमा बजिरहेका समयका प्रतिध्वनिहरू सुनिन्छन् ।

गीतासँगको त्यो बालापन
गीताको वर्तमान चर्चा गर्दा, पिताजी र बाल्यकालकातर्फ फर्कनुमा आनन्दित हुन्छु । उनकी आमा हाम्री दिदी, उनको मामाघर र हाम्रो जोडिएको । सानोमा त्यति ख्याल हुँदो रहेनछ । कति पटक भेटियौं र कति पटक छुट्टियौँ ! दिदीसँग भने हाम्रो आत्मीयता गहिरो थियो । यस अर्थमा वेदराज थपलिया हाम्रा आदरण्ीय भिनाजु ।

हामी उहाँलाई भिनाजु नै सम्वोधन गथ्र्याैँ । धेरै कुरा हाम्रो सम्झनाबाट टाढा भइक्यो । आदरण्ीय दिदी भिनाजु पनि हामीबाट टाढा भैसक्नुभयो । तर, उहाँहरूको चिनो नेपाली वाङ्मयमा आफ्नो प्रभाव गाढा बनाएर निरन्तर साधनामा तल्लीन छिन्, गीता त्रिपाठी ।

सानोमा हामी बुद्ध पूर्णिमाका दिन पलाञ्चोक भगवतीस्थानमा लाग्ने मेलामा जन्थ्यौ । अहिले जस्तो बाटोको सुविधा थिएन । हिडेरै जानु पर्दथ्यो । वैशाख–जेठ महिनाको उखरमाउँलो गर्मी, पलाञ्चोकमा पानीको सधैं अभाव हुने । दर्शनार्थीको प्यास मेटाउन असल स्थानीय ठाउँठाउँमा ठूला–ठूला घ्याम्पामा पानी र खुदो मिसाएर राख्थे । बच्चा न पर्यौं ! गुलियो पानी खाँदै उकालो लाग्थ्यौ ।

बिचतिर (बरबन्दी खरेलथोक १) बाटो माथिल्तिर एउटा चिटिक्क परेको घर थियो । जाँदा होस् या फर्कदा हाम्रो मुकाम थियो, त्यो घर । आमाले केही कोसेली दिदीको हातमा राखिदिनुहुन्थ्यो । दिदीभिनाजुको त्यो हार्दिकताले नजिकै रहेको हाम्रा दाजुहरूको ससुराली हाम्रो छनोटमा पर्दैनथ्यो । अर्र्को कुरा पलाञ्चोकको त्यो मेलामा हाम्रो मुख्य उद्देश्य, जेरी खानु । निकै मिठो लाग्ने त्यो जेरीका लागि हामी पहिल्यैदेखि पैसा जम्मा गरेर राख्थ्यौ ।

गीता बहिनीका बारेमा केही लेख्ने प्रयत्न गर्दा त्यो पलाञ्चोकको जेरी र दिदीभिनाजको आत्मीय सम्झनाले अहिले पनि मन प्रफुल्ल हुन्छ । र, नेपाली साहित्यिक जगतमा एक पछि अर्को गर्दै गीताले बनाएको शिखरले निकै गर्वको अनुभूति भइरहन्छ ।

पलाञ्चोक भगवतीलाई हामी साक्षत् देवीका रूपमा पुज्ने गर्छौ । त्यही पुण्य भूमिमा जन्मिएकी उनको व्यक्तित्व र कृतित्व नेपाली साहित्यमा सधैँ पुजनीय भइरहनेमा विश्वस्त छु । नेपाली साहित्य क्षेत्रमा उनले गरिरहेको कार्यले त्यही बोध गराइरहेको छ ।

हुनतः नेपाली साहित्य विशाल छ, यहाँ धेरै व्यक्ति रमाइरहेका छन् । तर, प्रभाव छोड्न सफल भने थोरै छन् । साहित्यमा रमाउनु आफैभित्र रमाउनु हो । प्रभाव छोड्नु समस्त समाजलाई सत्मार्गमा डोर्याउनु हो । समाजमा त्यस्ता व्यक्ति कम छन् । गीताका सिर्जनाहरू हाम्रो समाजमा साहित्यमार्फत प्रभाव छोड्न सफल छन् । यसका प्रमाण उनका पुस्तकहरू हुन् ।

कविता र गीतमा गीताको प्रभाव गाढा छ । समालोचना र आख्यानमा पनि उनको कलम चलेको छ । उनका संस्मरणात्मक निबन्धहरू जीवन्त लाग्छन् । उनका प्रायः सबै कृति पढ्ने अवसर पाएको छु । उनका सिर्जनाहरू पढ्दा बेग्लै आनन्द आउँछ, चाहे गीत, कविता या निबन्ध नै किन नहोस् ।

जीवन प्रवाहका तितामिठा संस्मरणहरू पुस्तकका पानाहरूमा जीवन–दर्शनका गहन भावहरूले सजिएका छन् । र, संस्मरणहरूमा कविताका झझल्को र गीतको मिठो धून प्रवाहित छन् । त्यसैले त जीवन्त छन् ।

गीताको कृति यात्रा
गीताको पहिलो रचनाको रुपमा कविता– ‘स्वच्छता’ (२०४५) विरुवा मासिक पत्रिकामा प्रकाशित भयो । तत्पश्चात नेपाली साहित्यमा उनको यात्रा तीव्र गतिका साथ कुदिरहेछ ।

यसै यात्रामा गीत संग्रह ‘थुँगाः वनफूलका’ (२०६१), गीति एल्बम ‘एक्लै…एक्लै’ (२०६१), गीति–कविता संग्रह ‘दुई हरफ ओठहरू’ (२०६४) कवि मञ्जुलसँग संयुक्त कविता संग्रह ‘नृशंस पर्खालहरू’ (२०६५), गीति एल्बम ‘सारांश’ (२०६५), निबन्ध संग्रह ‘म एक्लो र उदास उस्तै’ (२०७०) र कविता संग्रह ‘सिमलको गीत’ (२०७१) प्रकाशित भइसकेका छन् ।

त्यसै गरी आधुनिक नेपाली गीतः परम्परा र प्रवृत्ति (२०६७, विश्वविद्यालय अनुदान आयोग अन्तर्गत), नेपाली नियात्राः सिद्धान्त र प्रयोग (२०७१÷०७२, नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत) माध्यमिककालीन अन्य विधा (२०७४, मदन पुस्तकालयको साहित्य इतिहास लेखन अन्तर्गत), समकालीन नेपाली गीतमा सीमान्तीयता (सन् २०२०, विश्वविद्यालय अनुदान आयोगअन्तर्गत आदि शोधहरू पनि उनले पूरा गरेकी छिन् ।

यसरी नै सहलेखनमा सिर्जनशील नेपाली (कक्षा ६) र सिर्जनशील नेपाली (कक्षा ७) का पाठ्यपुस्तक पनि प्रकाशित छन् । यसकारण पनि गीताको सिर्जनायात्रा तीव्र गतिमा छ ।

समालोचनामा गीता
नेपाली साहित्यमा लेखनसँगै समालोचना क्षेत्रमा पनि गीताको उपस्थिति सशक्त छ । उनका समालोचनाका यी ६ वटा कृतिहरूले त्यो बताइरहेको स्पष्ट हुन्छ । समालोचना ‘दृष्टिविचरण’ (२०६६, प्रकाशक भावक अभियान नेपाल), समालोचना ‘कृति विश्लेषणः प्रायोगिक आयाम’ (२०६७, प्रकाशक रत्न पुस्तक भण्डार), विश्वनारी नेपाली साहित्यः परम्परा र प्रवृत्ति (२०७१, सह), नेपाली महिला लेखनः प्रवृत्ति र योगदान (२०७१, सह), नेपाली नियात्राः सिद्धान्त र प्रयोग (२०७३, नेपाल प्रज्ञा प्रतिष्ठान), पर्यावरण र नारीकेन्द्री समालोचना (२०७५) आदि कृतिहरूले नेपाली साहित्यलाई अझै बलियो बनाएको छ ।

गीताले विश्वविद्यालय अनुदान आयोगको वृत्ति अन्तर्गत त्रिभुवन विश्वविद्यालय मानविकी डीन कार्यालयबाट २०६९ माघे सत्रमा दर्ता भई ‘आधुनिक नेपाली कवितामा पर्यावरणीय चेतना’ शीर्षकमा २०७५, साउन २८ गते विद्यावारिधि अनुसन्धान पूरा गरी पिएचडी उपाधि प्राप्त गरिसकेकी छिन् ।

सम्पादनमा भूमिका
‘आँसु’ खण्डकाव्य, रचनाः कुलचन्द्र कोइराला (२०५६), द रेज् (२०६०), बि.जि.सि.भ्वाइस (२०६२, २०६४, २०६५, २०६६, २०६७), जनमत कविता भाग–१ र भाग–२ (२०६४), बहुभाषी उखान टुक्का (२०७४) यी बहुमुल्य कृतिहरू सम्पादन गरेर सम्पादनका क्षेत्रमा पनि उनी क्रियाशील रहेको प्रमाण देखिन्छ ।

पुरस्कार
पद्मकन्या स्वर्णपदक (२०५७), निबन्ध प्रतियोगिताः प्रथम पुरस्कार (२०५६), तीर्थप्रसाद ढुंगाना स्मृति पुरस्कार (२०५७), नानु न्यौपाने स्मृति पुरस्कार (२०५७), प्रेमचन्द्र–देवकुमारी पुरस्कार (२०५७), सर्वोत्कृष्ट गीतकार पुरस्कार (२०६४, आयोजक सांस्कृतिक संस्थान), वेस्ट टिचर अवार्ड (२०६७, ब्रिटिस–गोर्खा कलेज), वेष्ट टिचर अवार्ड (२०७३÷७४, साउथवेस्टन कलेज), सूचक पद्मादेवी युवा प्रतिभा पुरस्कार (२०६८, समालोचना विधाका लागि), हरिहर शास्त्री शैक्षिक पुरस्कार (२०७०), भानुभक्त निबन्ध पुरस्कार (२०७१), नेपालीपन सम्मान तथा पुरस्कार (उत्कृष्ट कविताका लागि, नेपाल साहित्य विज्ञान प्रतिष्ठान, २०७१), प्रमोदराज– साबित्री पाण्डे स्मृति साहित्य पुरस्कार (२०७६) गीताले प्राप्त गरिसकेकी छिन् ।

अध्यापन यात्रा
यी लगायत करिब डेढदर्जन साहित्यिक र शैक्षिक संस्थानहरूबाट सम्मानित गीतासँग तीन दशकको अध्यापन अनुभव पनि छ । हाल उनी त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्यस काठमाडौंमा उपप्राध्यापकका रूपमा आफ्नो ज्ञान बाँडिरहेकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान (प्राज्ञसभा सदस्य), गुञ्जन (कार्यकारी सदस्य) तथा छिन्नलता गीत पुरस्कार गुठी (कार्यकारी सदस्य) मा संलग्न रही निकै सक्रिय गीता त्रिपाठीको प्रतिभा विश्व भर चुलिदैछ । उनका कविताहरू अङ्ग्रेजी, हिन्दी, बाङ्ला, भियतनामी, जापानी तथा कोरियन लगायत भाषामा अनुवाद भई प्रकाशित छन् ।

उनको कविता संग्रह नृशंस पर्खालहरू (२०६५) माथि त्रिचन्द्र कलेजबाट स्नातकोत्तर तहमा शोध गरिएको छ । सिमलको गीत (२०७१) माथि पशुपति क्याम्पस चाबहिलबाट स्नातकोत्तर तहको शोधकार्य गरिएको छ ।

हाल श्रीमान् यादवराज त्रिपाठी र छोरा समीपसँगै बालुवाटार काठमाडाँैमा बसोबास गरेकी गीतालाई हाम्रो काभ्रे जिल्लाकै अमूल्य निधिका रूपमा हामीले पाएका छौं ।

[email protected]

प्रतिक्रिया दिनुहोस्