Logo
Logo

मेरो कम्ब्याक होइन, निरन्तरता हो– सुष्मा लामा, मोडल


- दृष्टि न्युज/संवाददाता


‘म फेरि मोडलिङमै फर्किँदै’ करिब पौने पाँच वर्ष ग्ल्यामर्स फिल्डमा ओझेल परेकी मोडल तथा कार्यक्रम प्रस्तोता सुष्मा लामाले सुरुमै भनिन्, ‘साथीभाईहरुकै आग्रहमा एकपटक कम्ब्याक हुने ईच्छा जाग्यो ।’ सन् २०११ मा ‘मिस मंगोल नेपाल’मा सेकेण्ड रनरअप एवं ‘पब्लिक च्वाइज’ अवार्ड पाएसँगै सन् २०१४ सम्म मोडलिङमा सक्रिय थिइन् उनी । छोटो समयमै मोडलिङ र कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई चिनाएकी सुष्माले दुई दर्जनभन्दा बढी म्युजिक भिडियो र तामाङ तथा केही नेपाली फिल्ममा समेत अभिनय गरेकी छन् । तर, उनी ‘डिमाण्डेड मोडल’कै रुपमा अगाडि बढारहँदा ओझेल परिन् । हेयर स्टाइलिस्ट समेत रहेकी सुष्मा भन्छिन्, ‘हराउने सोच थिएन, नयाँ अनुभव गरौँ र सिकौँ भनेर केही समय विश्राम मात्र लिएकी हुँ ।’ करिब चार वर्ष एक अन्तर्राष्ट्रिय कम्पनीमा आवद्ध भएर नयाँ अनुभव संगालेपछि मोडलिङमै ‘कम्ब्याक’को तयारीमा रहेकी सुष्मा लामासँग एमपी सुब्बाको जम्काभेट :


सुष्मा लामा, मोडल तथा कार्यक्रम प्रस्तोता

तपाइँ मोडलिङमा ‘कम्ब्याक’ गर्नु लाग्नुभएको हो ?

सोच बनाउँदै छु । तर, यो मेरो कम्ब्याक होइन, निरन्तरता हो । म केही वर्ष विश्राममा थिएँ । अहिले फेरि साथीहरुले मोडलिङमै आऊ भनेर कर गरेपछि हेरौँ न त भनेर काम गर्न लागेकी हुँ ।

मोडलिङबाट निकै वर्ष हराउनुभयो नि ?

म हराएजस्तो लागेको छैन । साथीहरु र, जो–जसले मलाई चिन्नुभएको थियो, उहाँहरुले चाहिँ सुष्मा मोडलिङबाट हराए भन्ने सोच्नुभएछ । तर, म पूरै हराउँछु भनेर गायब भएकी होइन । केही नयाँ अनुभव गरौँ र सिकौँ भनेर एक अन्तर्राष्ट्रिय कम्पनीमा आवद्ध भएँ । जसबाट धेरै सिक्ने अवसर पनि पाएँ ।

कुन कम्पनीमा काम गर्नुभयो, जहाँ नयाँ कुरा सिक्ने अवसर पाउनुभयो ?

त्यो कम्पनीको नाम त नबताऔँ होला । तर, मैले जुन कम्पनीमा काम गरेँ, त्यो राम्रो अन्तर्राष्ट्रिय कम्पनी हो ।

फेरि त्यो कम्पनीमा फर्किने सोच छ कि छैन ?

अब फर्कदिनँ । यहीँ केही गरौँ भन्ने सोचले आएकी हुँ । मोडलिङ त छदैछ, त्यसबाहेक कार्यक्रम प्रस्तोता पनि हुँ । मोडलिङमा आउनुअघि नै म कार्यक्रम प्रस्तोता थिएँ । स्टेज र टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा चिनिएपछि मात्र मोडलिङ सुरु गरेकी हुँ ।

मोडलिङमा चाहिँ कसरी लाग्नुभयो ?

सन् २०११ मा ‘मिस मंगोल नेपाल’मा सहभागिता जनाएकी थिएँ, जहाँ मैले सेकेण्ड रनरअप र बेस्ट पब्लिक च्वाइजको अवार्डसमेत पाएँ । त्यसपछि मलाई विभिन्न गीत तथा विज्ञापनमा अफर आउन थाल्यो । त्यसपछि मोडलिङमा सक्रिय भएकी हुँ ।

तपाईं फिल्म अभिनेत्री पनि होइन र ?

तामाङ भाषाको फिल्म ‘अमिर जो–जो’ मा मुख्य अभिनेत्रीको भूमिका गरेकी छु । त्यसबाहेक केही नेपाली फिल्महरुमा पनि अभिनय गरेकी छु । तर, आफूलाई अहिलेसम्म अभिनेत्री नै चाहिँ भन्ने गरेकी छैन ।

फिल्ममा प्रस्ताव आयो भने गर्नुहुन्छ ?

मलाई सुहाउँदो र राम्रो कथावस्तु भएको फिल्ममा अफर आयो भने गर्छु । तर, फिल्म भन्दैमा जस्तोसुकैमा काम गर्दिनँ ।

तपाइँ मोडलिङमा भविष्य देख्नुहुन्छ ?

हिजोआज चाहिँ देख्न थालेकी छु । जतिखेर म मोडलिङमा सक्रिय थिएँ, त्यो बेला मोडल भन्नेवित्तिकै हेर्ने नजर नै बेग्लै थियो । पछिल्लो समय मोडलिङ र कलाकारिता क्षेत्रमा पनि एजुकेटेड पसर्नहरु आउन थालेका छन् । जसले गर्दा मोडलिङप्रतिको नकरात्मक दृष्टिकोण हराउँदै गएको छ ।

अब घरजम गर्ने बेला भयो । के सोच्दै हुनुहुन्छ ?

बेला भयो भनेरमात्र हुन्न । जुर्नुपर्छ । जुरेपछि अवश्य गर्छु । मलाई पनि घरजम गरेर फेमिली बनाउने रहर छ । तर, त्यो रहर गरेरमात्र हुँदैन । सबै कुुरा मिल्नुपर्छ ।

अहिलेसम्म सिंगल बस्नुको कारण लगन नजुरेरै हो ?

नजुरेरै भन्नुपर्ला । जुरेको भए त घरजम भइहाल्थ्यो नि । जुन समयमा जुरेको थियो, त्यो बेला करिअरलाई फोकस दिएकी थिएँ । अब म टिनएज पनि होइन । र, विवाह भन्ने कुरा सोचेर गर्नुपर्छ ।

प्रेम प्रस्तावको सामना कतिको गरिरहनुभएको छ ?

म सिंगल छु । त्यसैले आइरहेको हुन्छ । तर, अहिलेसम्म कसैको प्रेम एसेप्ट गरेकी छैन । जुन दिन जुर्छ, त्यही दिन एसेप्ट गर्नेछु ।

भविष्यको लक्ष्य र योजना के छ ?

अहिले नै त केही योजना बनाएकी छैन । मेरो सोचचाहिँ विजनेशतिर छ । यदि योजना नै बनाउनुप¥यो भने ‘विजनेश वुमेन’ बन्ने लक्ष्य लिएकी छु ।

प्रतिक्रिया दिनुहोस्