Logo
Logo

कर्णेलको कीर्ते काम, प्रधानसेनापति मौन ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालमा सरकारी सेवामध्ये सबैभन्दा धेरै नक्कली सर्टिफिकेट भएको क्षेत्र सैनिक सेवा हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउँदैन । आन्तरिक रुपमा छानबिन हुँदा प्रधानसेनापतिका विरोधीहरु मात्र कारबाहीमा पर्दछन् । जसकारण सेनाका उच्च पदाधिकारीहरुको समेत नक्कली सर्टिफिकेट बढ्दो छ ।

एक सैनिक अधिकारीले जन्ममिति सच्याएर २६ वर्षको उमेरमा जागिर खाएको खुलेको छ । उनीमाथि प्रारम्भिक छानबिन भएपनि कारबाही हुनसकेको छैन ।

प्रमुख सेनानी जीवन थापाले यसरी उमेर सच्याएर जागिर खाएका हुन् । उनको स्कुलको सर्टिफिकेटमा जन्ममिति २०१९ साल पुस ६ गते उल्लेख छ । छानबिन सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालयले पठाएको पत्रमै सो कुरा उल्लेख छ । गत १८ भदौमा परीक्षा नियन्त्रण कार्यालयमा अधिकृत टिकाबहादुर कुँवरले सो बेहोराको पत्र रक्षा मन्त्रालयलाई पठाएका छन् । तर, उनले आफू जन्मेको २०२४ सालमा भनेर नक्कली कागजपत्र बनाएर जागिर खाएका हुन् । उनले २०३७ सालमा एसएलसी पास गरेका हुन् । उनले पेश गरेको कागजपत्रअनुसार १३ बर्षको उमेरमा नै एसएलसी उत्तीर्ण गरेको देखिन्छ । जुन सम्भव छैन । सेन्ट जेभियर्स स्कुलबाट अर्काे प्रमाणपत्र देखाएर उनले उमेर सच्याउने प्रयास गरेका हुन् ।

स्रोतका अनुसार उनका सानोबुबा शेखरसिंह बस्नेतले उनलाई जोगाउँदै आएका थिए । बस्नेत उपरथीबाट केही महिनाअगाडि अवकाश पाइसकेका छन् । उनीविरुद्ध उजुरी परेपछि रक्षा मन्त्रालयले समेत छानबिन गरेकोमा दबाबकै कारण कुनै निर्णय हुन सकेको छैन ।

‘सेनाको कानुन, सेनापतिले जानून्’ भन्दै सेनामाथि ब्यंग्य हुन थालिसकेको छ । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा केही सुधार थालेका छन् । नक्कली सर्टिफिकेटधारी तथा कीर्तेवालाहरुमाथि कारबाहीलाई भने उनले तिव्रता दिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्