Logo
Logo

कफिनमाथि आँसुको भल


दृष्टि संवाददाता


तस्विर कान्तिपुर


काठमाडौं । प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २ घण्टाअघिदेखि नै भेला भइसकेका थिए मलिन अनुहार लगाएकाहरू ।

यही भीडमा छुट्टै किंकर्तव्यविमूढ उभिएकी थिइन् दैलेखको दुल्लु–१३ मालिकाकी २८ वर्षीया पुष्पा शाही । साथमा थिए १३ वर्षीया छोरी र १० वर्षका छोरा ।

अलि पर भित्र पस्न हतारिँदै थिए उनका जेठाजु नरेन्द्रबहादुर र चार जना आफन्त । मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान बिहान ७स्३० बजे अवतरण भएको थियो । वाइडबडी विमान २४ जनाको शव लिएर आएको थियो । तीमध्येको एउटा शव ३२ वर्षीय लोकबहादुर शाहीको थियो, जसका लागि १८ घण्टा कठिन यात्राको दूरी पार गर्दै पुष्पा, छोराछोरी र आफन्त आएका थिए ।

शव बुझ्न कागजी प्रक्रिया पूरा गर्दागर्दै दुई घण्टा लाग्यो । शव बुझ्ने कागजात भएपछि प्रहरीले गेट आधा मात्रै खोलेर नरेन्द्रबहादुरको साथमा रहेका आफन्तलाई भित्र पस्न दिए । पुष्पा र छोराछोरी बाहिरै उभिए । विमानस्थलभित्र शव ल्याइएका सेता बाकस खात लगाइएको थियो । भिज्न नदिन बाकसलाई प्लास्टिकले बेरिएको थियो ।

हरेक बाकसमा नाम लेखिएको थियो । भित्र पस्न दिएपछि नरेन्द्र आफ्ना भाइ ‘लोकबहादुर शाही’ नाम लेखिएको बाकस खोज्दै अगाडि बढे । शव बनेर भाइ आएको बाकस भेटियो । पाँच जना मिलेर स्ट्रेचरमा हाली बाहिर निकाले । भित्र नरेन्द्रले शव भएको बाकस पहिचान गर्नेबित्तिकै बाहिर ढोकाबाट हेरिरहेकी पुष्पाको आँखाबाट आँसुको भल छुट्न थालिसकेको थियो ।

छोरीले भित्र आँखा लगाइरहे पनि छोराले भने आमालाई हेरिरहे । पुष्पालाई सम्हालिन निकै गाह्रो भइरहेको थियो । नरेन्द्रले बाकसलाई बाहिर ल्याए । परिवारका तीन जना शवको टाउको राखिएको भागमा हात राखेर रुन थाले । यो दृश्य देख्ने अरूका आँखा पनि रसाइरहेका थिए । नरेन्द्रले शव लैजान ल्याइएको गाडीमा बाकस लोड गरे । गाडी पशुपति आर्यघाट पुग्यो ।

‘शवलाई कति ठाउँ घुमाउँदै गाउँ लैजाने ? आफूलाई सम्हाल्न कठिन भएकाले पशुपति आर्यघाटमै अन्त्येष्टि गरियो,’ नरेन्द्रले कान्तिपुरसँग भने, ‘अब काठमाडौं बसेर भएन, घर फर्किन्छौं ।’

सुरक्षा गार्डको काम गर्न भिसा आउँदा लोकबहादुर हाँसीखुसी घरबाट हिँडेका थिए । उनी २०७४ पुस २६ मा मलेसिया गएका थिए । नेपाली दूतावासका अनुसार गत जुलाई २० मा उनले आत्महत्या गरेका थिए । ‘वास्तविक कुरा बुझ्न सकेको छैन । सुन्नमा आएअनुसार आत्महत्या भएको भन्ने छ ।

विदेशको मामिलाबारे पूरा कुरा बुझ्न सकेको छैन,’ नरेन्द्रले भने, ‘उनले आत्महत्या गर्नुपर्ने कारण त थियो जस्तो हामीलाई लाग्दैन । खै के हो ? के  ?’ उनले कम्पनी र साथीहरूमार्फत भाइको मृत्युको कारण पत्ता लगाउन कोसिस पनि गरेका थिए । तर चित्तबुझ्दो उत्तर नपाएको उनले बताए । दाहसंस्कार सकेपछि उनीहरू साँझ ६ बजे दैलेख फर्किए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्