Logo
Logo

निर्मला प्रकरणमा ८ प्रहरीलाई पक्राउको तयारी, प्रहरीको मनोबल खस्कदै


- दृष्टि संवाददाता



काठमाडौं, २० पुस ।
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीलाई पक्राउको तयारी भएको छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन लागिएको हो । एआइजी धिरू बस्न्यात नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा मुद्दा चलाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएपनि उनीहरु पक्राउ पर्न लागेका हुन् ।


प्रमाण नष्ट गरेकोमा आठ प्रहरीलाई सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा तथा निर्दाेषलाई यातना दिएकोमा यीमध्ये चारलाई यातनासम्बन्धी मुद्दासमेत चलाउने निर्णय भएको छ । सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो । एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी मुद्दासमेत चलाउन निर्देशन भएको छ ।
–सार्वजनिक न्यायविरुद्धको कसुरको दफा ८९, ९१, ९२, ९६ र ९९ अनुसार आठैजनालाई मुद्दा चलाउन निर्देशन दिइएको छ । अपराध संहिताको दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने, ९१ मा झुटा प्रमाण तथा प्रमाणपत्र बनाउन नहुने, ९२ मा लिखत नष्ट गर्न नहुने, दफा ९६ मा कसुर भएको जानकारी दिनुपर्ने तथा दफा ९९ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने उल्लेख छ । हरेक दफामा फरक–फरक सजाय उल्लेख छ । कानुनअनुसार अधिकतम पाँच वर्षसम्म कैद सजाय हुन सक्छ । निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिइसकेकी छिन् ।

–यातनासम्बन्धी मुद्दामा मुलुकी संहिताको दफा १६७ अनुसार मुद्दा दायर गर्न र १६९ अनुसार क्षतिपूर्ति भराइदिनुपर्ने दफा उनीहरूविरुद्ध आकर्षित हुने उल्लेख छ । दफा १६७ अनुसार पाँच वर्षसम्म कैद सजाय हुन्छ । दिलीपसिंहलाई यातना दिइएको भन्दै उनका दाइ खडकसिंह विष्टले क्षतिपूर्ति माग गरी प्रहरीविरुद्ध जाहेरी दिएका छन् ।
गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले सातजना शंकास्पद व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्दा पनि अभियुक्त फेला पार्न सकेको छैन । हाल सिआइबीका एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुरमा बसेर घटनाको अनुसन्धान गरिरहेको छ ।
छानबिनमा प्रहरीले नियतबश रुपमा रुपमा लापरबाही भने नगरेको खुलाएको छ । नियतबश रुपमा प्रमाण नष्ट नगरेको अवस्थामा पनि आफुलाई जोगाउन तल्लो तहका प्रहरीलाई मुद्दा चलाउन आइजिपीले निर्देशन दिएपछि प्रहरीमा भने मनोबल खस्किएको छ । यसले अनुसन्धानमै असर पर्ने देखिएको छ ।
अर्काेतर्फ यो विषयमा थप चर्किने देखिन्छ । किनकी प्रदीप रावल र बिशाल चौधरीलाई समेत प्रहरीले यातना दिएर अपराध कबोल गर्न लगाएको थियो । तर, डिएनए नमिलेपछि उनीहरु छुटिसकेका छन् । आइजिपीले नै आफूलाई धम्काएको प्रदीपले बताएका छन् । ‘यस्तो अवस्थामा आइजिपीविरुद्धै यातनासम्बन्धि जाहेरी पर्याे भने के हुन्छ,’ एक प्रहरी अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्