Logo
Logo

बार्दलीमा पुग्यो दुईतिहाइको हुँकार


उमेश बन्जाडे


बाल्यकालमा कतै बाटोमा साथीभाइसँग झगडा पथ्र्याे । आफूले नसक्ने भएपछि घर कुलेलम ठोकिन्थ्यो । घरको आँगनमा पुगेपछि तथानाम गाली गरिन्थ्यो । निकै नमज्जाले पराजित भएपछि ओली ‘बा’ पनि ठ्याक्कै त्यसरी नै बालकोटको बार्दलीबाट माधव नेपाललाई तथानाम गाली गर्दा मैले उही बाल्यकाल झल्यास्स सम्झिएँ । उसो त उनको यस्तै अभिव्यक्ति अनि अर्कालाई गिराउने प्रवृत्तिले दुईतिहाइसँगै आफू पनि सकियो, पार्टी पनि कोरोना संक्रमित भएर भेन्टिलेटरमा पुग्यो ।

पृथ्वी गोलो छ, घुमिफिरी सबैको पालो आउँछ । कुर्सी आफ्नो मात्रै पेवा सम्झनेहरुको आजको रुवाबासी त्यही घमण्डको प्रतिफल हो । त्यसैले यहाँ कसैले पनि सत्ता र शक्तिको आडमा मनपर्दी नगर्दा हुन्छ । संविधानभन्दा माथि आफूलाई नठान्दा हुन्छ । किनकि यो लोकतन्त्र हो, ओलीतन्त्र होइन ।

‘बा’को कुर्सी चिप्लिएपछि बिरक्तिएका सन्तानहरु यतिखेर सर्वोच्च अदालतविरुद्ध तथानाम बोलिरहेका छन् । यतिका समय सरकारको रसपानमा डुबुल्की मारेर उश्रृंखल बनेका उनीहरु त्यसै पनि ‘के निहुँ पाउँ, कनिका बुकाऊँ’ भनेझैँ सडकमा तमासा देखाइरहेका छन् । हुनत ‘बा’ नै उस्तै छुद्र भएपछि सन्तानको के दोष ? असल मान्छेहरु गल्तीबाट पाठ सिक्छन् र सत्य निष्ठको बाटो पहिल्याउँछन् । तर, लिँडेढिपी कस्नेहरु यसको ठ्याक्कै उल्टो हिँड्छन् । परन्तु घरमा समस्या आए झुल्झाउने हो, घरमै आगो सल्काउने होइन । इदिने प्रवृत्तिको अन्त्य भएको छ ।

शून्य गोल गरेर हारेको टिम क्याप्टेन रेफ्रीबाट रातो कार्ड पाएर आउट भइसके पछि त्यसको पक्षमा समर्थकले होहल्ला गर्नुको कुनै औचित्य हुँदैन । त्यो एकैछिन लाज पचाउने अभिनय मात्रै हो । सिधा अर्थमा भन्दा जनादेश लत्याएपछि परमादेश आउँछ भन्ने कुरा हेक्का भएन ‘बा’लाई, भएको यही हो । त्यसैले सबैलाई सिध्याउँछु भन्ने स्वेच्छाचारी, अहंकारी र निरंकुश मानसिकताले आफैँलाई किनारमा मिल्काइदियो ।

ओली ‘बा’को राजनीतिक स्वेच्छाचारिता असफल मात्र भएन, पतन नै भयो । तथापि, खराबमध्ये पनि असल खराब ठिक हुन्छ भन्ने स्थितिमा नेपालको राजनीतिलाई पुर्याउन बाध्य भयो ।

शेरबहादुर देउवाजस्ता अक्षम व्यक्ति पाँचौंपटक प्रधानमन्त्री हुँदा पनि मान्छे खÞुशी नै छन्– भनेपछि ओली ‘बा’प्रति जनता कति असन्तुष्ट रहेछन् भन्ने कुराको मापन यही हो । बिरालो रिसाएर खाँबो चिथोर्दा आखिर नोक्सानी कसलाई हुन्छ ? त्यो पनि प्रष्ट बुझौं । ओली ‘बा’को राजनीतिक स्वेच्छाचारिता असफल मात्र भएन, पतन नै भयो । तथापि, खराबमध्ये पनि असल खराब ठिक हुन्छ भन्ने स्थितिमा नेपालको राजनीतिलाई पुर्याउन बाध्य भयो ।

भनिन्छ, मान्छेको काम गर्ने तौरतरिकामा केही हदसम्म परिवर्तित गर्न सकिन्छ । तर, मानव स्वभाव बदल्नसकिन्न । यसर्थ सरकार फेरिँदैमा पुराना राजनीतिक नेताहरूका संस्कार फेरिने ग्यारेण्टी हुँदैन । कुसंस्कारको ठाउँमा सुसंस्कार स्थापित भएन भने, देश र जनताको उन्नति हुने कुरै भएन ।

एकपछि अर्को गल्ती दोहोर्याउँदै बालकोट पुगेका ओलीबा त्यहाँ पनि सुस्ताएनन् । बार्दलीमा उक्लिएर घाँटी सुकुन्जेल चिच्याए । बार्दलीको मुन्तिरबाट बिनामेसै, मनलाग्दी र उत्तेजित हुटिङ गरिरहेको समूहले ‘आइ लभ यू केपीबा’ भन्दा ओली झनै उग्र बनिरहेका थिए । राष्ट्रपतिको बचाउ गर्दै देउवा सरकारलाई पर्दा पछाडिबाट बालकोटे प्रतिशोधले पोलिरहनसक्ने छनकसमेत उनले देखाएका थिए ।

संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्री नियुक्त गर्न खोज्नु, सपथपछि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति हिँड्नु, स्वयं बहालवाला प्रधानमन्त्री सपथग्रहण कार्यक्रममा उपस्थित नहुनुजस्ता यावत कुराहरुले पनि भविष्यका जटिलताहरुतर्फ संकेत गरेको बुझ्न सकिन्छ ।

‘जहाँ बौद्धिकता मौन बस्छ, त्यहाँ अराजकता र असभ्यताले स्वर मच्चाउँछ’ भनिन्छ, देशमा त्यही भइरहेको छ । प्रधानमन्त्री हुँदा ओली ‘बा’ले उद्घाटन गरेका कयौं भौतिक संरचना उद्घाटन स्थलबाट बालुवाटार नपुग्दै भत्किए । लिम्पियाधुरासहितको नक्शा भएको पुस्तक वितरणमा रोक लगाइदिए । कोभिड नियन्त्रणमा लापरवाही र चरम भ्रष्टाचार गरेका तथ्यहरु बाहिर आए । शीतल निवासलाई गुटको हेडक्वार्टरमा रुपान्तरण गरिदिए ।

राष्ट्रहीत विपरीतको भनिएको अमेरिकी परियोजना एमसिसी सम्झौता पारित गर्न जोरजुलुम लगाए । पहिलो लकडाउनमा हप्तौं खाली खुट्टा हिँड्न श्रमिक जनतालाई बाध्य बनाए । भोकै मारे । खुलामञ्चमा निःशुल्क भोजनमा रोक लगाए । अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद गरे । के यही हो त ओली बाले कमाएको लोकप्रियता र उनको सफल कार्यकाल ?

नेपाल ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण गरेर बेइज्जती कमाए । हिँड्ने बेला नेपाल वायुसेवा निगम लिलाममा चढाए ? मेडिकल उपकरण खरिदमा ३ अर्ब भ्रष्टाचार, एनसेल घोटालाजस्ता दर्जनौं काण्डमा किन बालुवाटार जोडियो ? सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ कसले गर्यो ? यी त मात्रै नमूना हुन् । यस्ता ज्वलन्त उदाहरण थुप्रै छन् ।

साँच्चै यो सफल कार्यकाल भनेको चाहिँ के रहेछ ? अदालतको आदेशसहित घोक्रेठ्याक लाएर खेदाउँदा पनि सफल भइँदोरहेछ ? ओली ‘बा’को कार्यकालमा देशको ऋण तीन वर्षमा दोब्बरले बढेको छ । जसअनुसार आठ खर्ब ४३ अर्बबाट बढेर देशको ऋण १५ खर्ब ८९ अर्बमा पुगेको छ । कि यसलाई पो सफल कार्यकाल भनिएको हो क्यारे ? हो भने यस्ता थुप्रै जनविरोधी निर्णय र बहुमतको धङधङीले नै बार्दलीमा पुर्याएको हो भनेर किन नस्वीकार्ने त ?

प्रतिक्रिया दिनुहोस्