Logo
Logo

सडकमा पँजनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सडक विभागको महानिर्देशकको जिम्मेवारी केशव शर्मालाई दिइएको छ । रविन्द्रनाथ शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएको छ । उनी बरिष्ठ सहसचिव भएकाले सचिव बढुवाका दाबेदार हुन् । यसअघि नै उनी सचिव बढुवाका दाबेदार थिए । तर उनले नै अस्वीकार गरेका कारण अरुले अवसर पाएका छन् ।

शर्मा सडक विभागको महानिर्देशक हुनासाथ उनीसँगै एकै दिन सहसचिव बढुवा भएका सहसचिवद्वय अर्जुनजंग थापा र शिवहरि सापकोटालाई पनि विभागको महत्वपूर्ण महाशाखाको प्रमुखमा ल्याइएको छ । थापालाई विभागको बैदेशिक महाशाखाको प्रमुख र सापकोटालाई योजना महाशाखाको प्रमुख बनाइएको छ । थापा पूर्वान्चलका निर्देशक थिए । उनी महानिर्देशककै दाबेदार हुन् । उनलाई न्याय नै दिइएको अर्थमा लिइएको छ । २०६९ मा महानिर्देशक शर्मा खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बढुवा भएका थिए भने थापा र सापकोटा फाइल बढुवाबाट भएका हुन् । शर्मा डीईमा पनि खुल्ला प्रतिस्पर्धाबाटै आएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल महाशाखा र एडीबी सडक निर्देशनालयमा बसी अकूत सम्पत्ति आर्जन गरेका सरोज प्रधानलाई सम्भार महाशाखाको प्रमुख दिइएको छ । उनले भौतिक मन्त्रीका आसेपासेलाई खुसी बनाएका कारण पुलमा जतिसुकै भ्रष्टाचार गरे पनि सम्भार महाशाखा जस्तो आकर्षक ठाउँको प्रमुख हुने मौका पाएका छन् ।

शिव नेपाललाई गुणस्तर तथा अनुसन्धान महाशाखामा लगेका छन् । उनलाई भने पेलिएको छ ।

यसैबीच, सडक विभागका सहसचिवहरु अवकाश भएकाले कामु खान डीईहरुको दौड चलेको छ । कामु खान पश्चिमान्चलका भीमार्जुन अधिकारी विभागमा आउन चाहिरहेका छन् । केही समयअघिको सरुवामा उनी परेनन् । धरान–चतरामा अनियमितता गरेको आरोपमा तानिएका कर्णबहादुर रानाभाटलाई पश्चिमान्चलमा खटाउने संभावना छ । रानाभाटलाई मन्त्री रघुवीर महासेठले पश्चिमान्चलमा पठाउन खोजेका छन् । धरान–चतरामा हुँदा उनले मन्त्री महासेठका निकटहरुलाई प्रभावमा पारी टिक्न खोजेका थिए । तर उनको कार्यसम्पादन सन्तोषजनक नभएपछि तानिएका थिए । हरिप्रसाद पोखरेल पूर्वाञ्चलमा जान खोजिरहेका छन् । पोखरेल भरतपुर सडक प्रमुख हुँदा नागढुंगा सडक विस्तार गर्दा अथाह आर्जन गर्ने भनेर चिनिन्छन् । काठमाडौं डिभिजनका डीई कैलाश श्रेष्ठ चलखेल गर्न नसक्ने भएपछि ऊ सिनियर भए पनि उनले ठाउँ पाउने संभावना कम देखिएको छ । केही डीईहरु पनि फेरबदल गर्ने तयारीमा भौतिक मन्त्री महासेठ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्