Logo
Logo

खोटाङका किसान सिन्कौली खेतीमा आकर्षित


दृष्टि संवाददाता


खोटाङ । गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ खोटाङका किसान आकर्षित भएका छन् । व्यावसायिक हिसाबले यसको उत्पादन नभइरहेको जिल्लामा पछिल्लो समय व्यापारीले खोजीखोजी खरीद गर्न थालेपछि किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका छन् ।

सिन्कौली अर्थात् तेजपात (दालचिनी)का नामले प्रख्यात मसलाको ठूलो रुख हुने गर्दछ । यसको पात, बोक्रा र जरासमेत मसलाको रुपमा प्रयोग गरिँदै आएको छ । यसरी उत्पादन हुने सिन्कौलीको विभिन्न भाग राम्रो मूल्यमा बिक्री हुने भएपछि स्थानीय किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।

अब प्रविधिको परिवर्तन आएसँगै कमजोर आर्थिकस्तर रहेका किसानले नयाँ विकल्प खोज्न थालेको जिल्ला वन महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । जिल्लाका किसानले हाल डिभिजन वन कार्यालय खोटाङ, सामुदायिक वन उपभोक्ता महासङ्घ र विभिन्न कृषि फर्मसँगको सल्लाहामा सिन्कौलीको बिरुवा किनेर वा निःशुल्क प्राप्त गरेर खाली जमीनमा रोप्न शुरु गरेका छन् ।

नजिकको होलसेल बजारमा सिन्कौलीको पात प्रतिकिलो रु ६० र बोक्रा प्रतिकिलो रु १५० का दरले बिक्री हुने गरेको छ । छिमेकी जिल्ला उदयपुरको बेल्टार, गाईघाट, कटारीलगायतका बजारमा सिन्कौली सङ्कलन गरिन्छ ।

थोरै लगानीमा धेरै आयआर्जन हुने भएकाले यहाँका किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासङ्घका अध्यक्ष राईले बताए । ‘सदाबहार हरियाली रहने सिन्कौलीखेती वातावरणीय हिसाबले समेत उत्तिकै फाइदाजनक छ’, उनले भने, ‘हाम्रो जिल्लामा यसको राम्रो सम्भावना पनि छ । बजार पनि राम्रो छ ।’

यसको व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम अझै प्रभावकारी बनाएर ल्याउनुपर्ने भन्दै किसानले सिन्कौली खेतीबाट निकै राम्रो आम्दानी गर्न सक्ने जनाइएको छ । सामुदायिक वन क्षेत्र तथा व्यक्तिका बाँझो जमीनमा सिन्कौली खेती लगाएर वैकल्पिक आयआर्जन गर्न सकिने महासङ्घका अध्यक्ष राईले बताए ।

सिन्कौली हाल चिया, पुलाउ, मासुको परिकार लगायतलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिन्छ । बजारमा पाइने अधिकांश मसलाको आइटममा दालचिनीको नाममा यसको व्यापार व्यापक छ ।

सिन्कौलीको उपयोगिताका बारेमा गाउँघरमा कम जानकारी भएका कारण हालसम्म त्यसको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको छ । अलि बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् ।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधिजन्य तेल समेत उत्पादन हुने गर्दछ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ति बढाउन, रोकिएको पिसाब खुलाउनदेखि मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्