Logo

इनार खन्दा फेला पर्‍याे १२ अर्ब पर्ने विशाल ‘नीलमणि’


दृष्टि संवाददाता


एजेन्सी । श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ‘स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको परेको छ । उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो ।

बीबीसीका अनुसार रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकैढिक्का नीलमणि फेला परेकाे हाे । यसअघि पनि रत्नपुरमा बहुमूल्य रत्न भेटिँदै आएको थियो ।

नीलमणि हल्का नीलो रङ्गकाे रहेकाे छ । उक्त निलमणिकाे अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ । यसलाई ‘सेरन्डिपिटी सफायर’ नाम दिइएको छ ।

‘इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्लभ पत्थरबारे जानकारी दिए । पछि हामीले यो विशाल वस्तु भेट्यौँ’ उक्त मणिको स्वामित्व भएका गामागेले भने । गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे ।

विशाल नीलमणि फेला परेपछि गामागेले अधिकारीहरूलाई सूचित गरेका थिए । झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि बल्ल उक्त पत्थरको विश्लेषण गरी नीलमणि भएको उनीहरूले प्रमाणित गरिदिएका थिए ।

गामागेका अनुसार सफा गर्ने क्रममा पत्थरको विशाल ढिक्काबाट केही टुक्रा झरेका थिए । ती उच्चगुणस्तरीय स्टार सफायर भएको पत्ता लाग्यो ।

विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थरहरू फेला परेका थिए । श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नको ठूलो निर्यातकर्ता हो । गत वर्ष श्रीलङ्काले रत्न, प्रशोधित हीरा र जवाहिरातको निर्यात गरेर झन्डै ५० करोड डलर अर्थात् साढे ५९ अर्ब नेपाली रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्