Logo
Logo

खोपको पर्खाइमा


नवीन राई


आशा र निराशासँगै कोराना विरुद्घको खोप कुरिरहेका छन्, गरीब नेपाली । खोप पाउने आशामा सरकारले तोकेको खोपकेन्द्रमा दिनभर घाम पानी सहेर लाइनमा उभिरहेका छन्, हजारौँ मानिस । घण्टै लाइनमा उभिएपछि अस्पतालले भन्छ– खोप सकियो । अनि उनीहरू निराश भएर फर्कछन् ।

अहिले नेपाललगायत विश्वभर ‘खोप अभियान’ चलिरहेको छ । अहिलेसम्म नेपालमा कोभिडशिल्ड, कोभ्याक्स, भेरोसेल र जोनसोन गरी चार वटा खोप आएको छ । नेपालमा सबैभन्दा पहिला आएको कोभिडशिल्ड भारतमा उत्पादित खोप हो । जुन खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनकाले विकास गरेको हो ।

सोचेभन्दा अगाडि नै नेपालमा कोरोनाविरूद्धको खोप आयो । गत माघ ८ गते भारत सरकारले नेपाललाई अनुदानमा कोभिडशिल्ड खोप उपलब्ध गराएको थियो । उक्त खोप फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीबाट सुरु गरियो ।

पहिलो चरणको ‘खोप अभियान’ सुरु हुँदा धेरैले शंका गरे । खोप लगाउन डराए पनि । त्यसबेला खोपबारे केही शंका, डर र अन्यौल हुनु स्वभाविक थियो । नेपालभन्दा केही समयअघि भारतमा ‘खोप अभियान’ सुरु भएको थियो । त्यहाँ खोपलाई लिएर विभिन्न शंका र नकारात्मक कुराहरू आएका थिए । सामाजिक सञ्जालमा पनि सकारात्मकभन्दा नकारात्मक कुराले बढी स्थान पायो । त्यसैको प्रभाव पर्याे नेपालमा ।

संकटमा राजनीतिक दलहरु एक हुन सकेका छैनन् । बरु आन्दोलन र संघर्षका नाममा झनै संक्रमण बढाउने क्रियाकलाप हुँदै आएको छ

खोपलाई लिएर भारतमा उठेको शंका र नकारात्मक कुराहरूले हाम्रा स्वास्थ्यकर्मीहरू पनि खोप लगाउन उत्साहित देखिएनन् । पहिलो चरणको ‘खोप अभियान’मा सबै स्वास्थकर्मीले खोप लगाएनन्, पछि लगाउने भाका गरे ।

०७७ फागुन ९ गते १० लाख कोभिडशिल्ड खोप भारतबाटै ल्याइयो । उक्त खोप फ्रन्टलाइनमा खटिने कर्मचारी र पत्रकारलाई लगाउन सुरु गरियो । स्वास्थकर्मीजस्तै कर्मचारी र पत्रकार पनि कोरोना खोप लगाउन उत्साहित देखिएनन् । केहीले लगाए । केही ‘पर्ख र हेरौँ’ भन्नेमा पुगे ।

अहिले सबैले खोपको महत्व बुझे । खोप लगाउन दिनभर लाइनमा बसिरहेका छन् । अहिलेको सबैभन्दा ठूलो आवश्यकता कोरोनाविरुद्घको खोप नै हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले पनि तत्काल खोप प्राप्त गर्न नसके कठिन अवस्था आउने चेतवानी दिएको छ ।

पहिले शहरमा मात्रै सुनिने कोरोना शब्द अहिले गाउँ–गाउँमा फैलिसकेको छ । गाउँका संक्रमितले उपचार पाएका छैनन् । आजसम्म पनि डाक्टर र औषधि छैन । जनजीवन कष्टकर बन्दै गएको छ । शहरवासीले खोप पाउन नसकिरहेका बेला ग्रामीण भेगका जनताले कहिले पाउलान् ?

कोरोना संक्रमण रोक्न सरकारले गत वैशाखदेखि निषेधाज्ञा गरेपनि अझै देशको अवस्था सामान्य बन्न सकेको छैन । देश कोरोना महामारीसँगै लडिरहेको छ । निषेधाज्ञा अझै जारी छ । महामारीबाट कसरी बच्ने भन्ने चिन्ताले नागरिकलाई सताएको छ । घरबाहिर निस्कन डराउनुपर्ने अवस्था छ ।

महामारीले जनता त्रसित छन् । तर, नेता तथा कार्यकर्ता राजनीतिक खिचातानी र चर्को दोषारोपणमा व्यस्त छन् । यस्तो विषम् परिस्थितिमा जनताको ज्यान बचाउनुपर्छ भन्ने कुरामा सरकारको ध्यान गएको छैन । एक वर्षदेखि लकडाउन, निषेधाज्ञा, मनोत्रास, आर्थिक क्षति, भोकमरी, उपचारका लागि अस्पताल र अक्सिजनको अभाव खेपेका नागरिक अहिले कोरोनाविरुद्धकाे खोपको पर्खाइमा छन् । पहिले रोग जितौँ अनि अरू पछि गरौँला भनेर खोप कुरिरहेका छन् । कोरोना नियन्त्रणमा सरकारलाई साथ दिइरहेका छन् ।

तर, खोपको लागि नेपाल अरू देशमै निर्भर छ । सीमित खोपमा अनियन्त्रित आशा पलाएको छ, आम नागरिकमा । कतिले पावर र पहुँचको भरमा पनि खोप लगाउने गरेका छन् । संघीय राजधानीका सरकारी अस्पतालमै पहुँचका आधारमा खोप बाँडिएका विवरणसमते आउने गरेको छ ।

हामीले नै जिताएर पठाएको सरकारले हाम्रो जीवन धरापमा पारिरहेको छ । तर, सरकारले नागरिकको जीवनप्रति गम्भीर रूपमा सोचेको छैन । कोरोना खोप लगाउनको लागि हङकङलगायतका देशमा त्यहाँका सरकारले कोरोना खोप लगाउनेका लागि विषेश उपहार योजना नै ल्याएको छ ।

तर, नेपालमा भने खोपका लागि घण्टौँ लाइनमा उभिँदा पनि पाएका छैनन् । हरेक नागरिकले सरकारसँग जीवन रक्षाका लागि याचना गरिरहेका छन् । खोप चाहियो भन्दै नागरिक आन्दोलन गरिरहेका छन् । तर, सरकार जनताको जीवन रक्षामा होइन, आफ्नो सत्ता जोगाउन तल्लीन छ ।

संकटमा राजनीतिक दलहरु एक हुन सकेका छैनन् । बरु आन्दोलन र संघर्षका नाममा झनै संक्रमण बढाउने क्रियाकलाप हुँदै आएको छ । कोभिडशिल्डको पहिलो मात्रा लगाएका १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन् । खोप योजनाबारे सरकारले प्रभावकारी कदम चाल्न नसक्दाको परिणाम हो, यो ।

केही देशले केही संख्यामा नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि अझै प्राप्त हुन सकेको छैन । कोरोनाले सिर्जना गरेको यो विश्वव्यापी मानवीय संकटमा खोप उत्पादक केही देशको हातमा हुनु आफैँमा जनस्वास्थ्यको दृष्टिकोणले विडम्बनापूर्ण हो ।

त्यसैले खोप ल्याउनको लागि सरकारले शीघ्र पहल गर्नुपर्छ । कोरोनाको यो दोस्रो लहर अन्तिम लहर भन्ने निश्चित छैन । खोपमा सबैको पहुँच हुनसके तेस्रो लहर आए पनि दोस्रो लहरजस्तो जटिल अवस्था नआउने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

खोपको पूरा दुई डोज लगाएपछि धेरैलाई लामो समयसम्म पूर्ण फाइदा लिन सक्ने डा. पुन बताउँछन् । दुई डोज खोप लगाएका कतिपयलाई कोरोना संक्रमण देखिएपनि उनीहरूलाई खासै स्वास्थ्य समस्या नदेखिएको उनको भनाइ छ । कोरोना संक्रमण रोक्ने सबैभन्दा उत्तम विकल्प खोप नै भएको डा. पुनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार साउन १ गतेसम्म कोभिडशिल्ड र भेरोसेल खोपको दुवै मात्रा ११ लाख २० हजारले लगाएका छन् । पहिलो मात्रा लगाउनेको संख्या भने २७ लाख ६५ हजारभन्दा बढी छ ।

जनस्वास्थका मापदण्ड व्यवहारमा लागू नगरिनु तथा कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्टले निरन्तरता पाउनुले थप त्रासको सम्भावनालाई नकार्न सकिँदैन । भारतीय भेरियन्ट, यूके भेरियन्टभन्दा थप तीव्र गतिमा फैलिने र घातक रहेको पुष्टि भइसकेको छ । त्यसैले तत्काल सबै नागरिकालाई खोप उपलब्ध गराउनुपर्छ ।

खोप चिकित्सा विज्ञानको एक प्रभावकारी उपलब्धि हो । खोपले हामीलाई भविष्यमा हुनसक्ने सम्भावित रोगको खतराबाट सुरक्षित गराउँछ । शारीरिक स्वास्थ्यको आधारभूत कुरा हो, खोप । त्यसैले छिटो खोप ल्याउने र लाउने व्यवस्थालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्