Logo
Logo

लालबोझीबासी बाढीले बिचल्ली : भन्छन्, ‘हाम्रा लागि सरकार छैन’


हिक्मत बम




धनगढी । मोहना र कान्द्रा नदीको बाढी उर्लेर गाउँ पसेपछि भजनीवासी बिचल्ली भएका छन् । गाउँ पसेको बाढीले घर बगाएपछि वडा नम्बर ५, लालबोझीका बाधुराम चौधरीको परिवार उठिबास भएको छ ।

हेर्दाहेर्दै नदीले स्थानीयको घर बगाउन थालेपछि सुतेकै बेला हामीलाई पनि बगाउने पो हो कि भन्दै उनीहरूलाई निन्द्रासमेत लाग्दैन । बाधुरामकी छिमेकी राम पियारीले नदीले घर बगाउनुभन्दा पहिले आफैँले भत्काइन् ।

‘नदीले छिमेकीको घर बगाएर लग्यो, हाम्रो पनि कतिखेर बगाउँछ थाहा छैन, त्यसैले आफैँले घर भत्काएर सुरक्षित टहरो बनाएर बसेका छौँ’ उनले भने, ‘नदीले घर बगायो भने क्षति धेरै हुन्छ राहत पाइँदैन । तर, हामीले घरको काठ सुरक्षित स्थानमा राखेका छौँ, बर्खा सकियो भने फेरी घर निर्माण गर्छौँ ।’ मोहना र कान्द्रा नदीबाट विस्थापित भजनीवासी सुरक्षित स्थानको खोजीमा छन् । उनीहरु अहिले त्रासका बिच त्रिपालमूनी रात काट्न बाध्य छन् ।

‘टहरो पनि कति बेला बग्ने हो थाहा छैन । नदीले धार परिवर्तन गरिरहेको छ’ स्थानीय अमर चौधरीले भने, ‘टहरो पनि भत्काएपछि कहाँ बस्ने अत्तोपत्तो छैन, स्थानीय सरकारबाट पनि आश्वासनबाहेक केही पाएका छैनौँ ।’

‘नदीको पानी घरभित्र पसेको छ, यहाँ बस्न सकिने अवस्था छैन’ अर्का स्थानीय गणेश चौधरीले भने, ‘सुरक्षित स्थानको खोजीमा छौँ, यहाँ त ज्यान जोगाउनै मुस्किल छ ।’

प्रत्येक वर्ष भजनीका तल्लो तटिय क्षेत्रका स्थानीय विस्थापित हुँदै आएका छन् । समस्या अहिलेको मात्र हैन, भजनी–५ पुलियापुरका राजाराम चौधरीले भने, ‘गत विगतका त केही दिन मात्र समस्या हुन्थ्यो, स्कुलको भवन र सडकमा आश्रय लिन्छौँ । तर, यसपाली त हामी पूर्णरुपमा विस्थापित भएका छौँ ।’

भजनी नगरपालिका ५ पुलियापुरमा १४ घरधुरी छन् । उत्तरमा कान्द्रा नदी र दक्षिणमा मोहना नदी बग्ने गर्दछ । सामान्य वर्षाको पानी पनि निकास नहुँदा पुलियापुर हरेक वर्ष डुबान हुने गर्दछ । बाढीले विस्थापितहरू अहिले हुलाकी सडकमा आश्रय लिएर बसिरहेका छन् ।
‘हरेक वर्ष हामी विस्थापित हुन्छौँ, जनधनको क्षति हुन्छ, पलियापुरका स्थानीय खुशराम चौधरीले भने, ‘हामीलाई कुनै निकायले हेर्दैन, स्थानीय सरकार हाम्रा लागी नभए जस्तै हो, हाम्रो आश्रयको थलो यहीँ हुलाकी सडक हो ।’

‘हाम्रा लागि सरकार छैन’

भजनीका बाढी प्रभावितहरु आफूहरूको समस्या समाधानका लागि सरकारले पहलसम्म नगरेका बताउँछन । ‘देशमा तीन तहको सरकार छ, स्थानीय सरकारले त झन् हाम्रा स–साना समस्या पनि समाधान गर्नुपर्ने हो, स्थानीय जुगराम चौधरीले भने, ‘तर बाढीको समस्या समाधानका लागि कसैले पनि पहल गरेनन् ।’

कैलाली जिल्लाको तल्लो तटिय क्षेत्रका जनता हरेक वर्ष डुबानमा पर्ने गर्दछन । उनीहरुको पीडा स्थानीय र प्रदेश सरकारले राम्रोसंग देखेको हुन्छ । तर, वास्तानै गर्दैन र बेखवरजस्तै बन्छन् । र, हरेक वर्ष बाढी पीडितका लागि सरकार भएको महसुस चुनावको बेलामात्र हुन्छ । जब ती नेताहरु चुनावको बेला भोटका लागि गाउँ र टोलमा आउने गर्दछन ।

वडा नम्बर–५ का कार्यवहाक अध्यक्ष शेरबहादुर बोहराले बाढी प्रभावितहरूलाई राहत र व्यवस्थापनको लागि निरन्तर खटिरहेको बताए । ‘हामीले सक्दो प्रयास गर्दैछौँ । समस्या निराकरणका लागि तटबन्ध गरेका थियौँ । त्यो नदीले बगायो, पक्की तटबन्ध गर्न वडाको बजेटले सम्भव छैन’ उनले भने ।

नगरपालिकाको तर्फबाट पनि विपद् व्यवस्थापनको लागि सक्दो प्रयास भएको नगर प्रमुख शेर बहादुर चौधरीले बताए । ‘नदी कटान र डुबान निकै ठूलो समस्या छ, हामीले यसको दीर्घकालीन समाधानका लागि एकल प्रयासले सम्भव देखिएन’ नगर प्रमुख चौधरीले भने, ‘यसका लागि हामीले प्रदेश र सङ्घीय सरकारको सहयोग मागेका छौँ, निकट भविष्यमै यसको दीर्घकालीन समाधान हुन्छ ।’

भजनी नगरपालिकाको ३, ८, ५ र ७ पूर्णरूपले बाढी प्रभावित क्षेत्र हुन् । यहाँका नागरिक प्रत्येक वर्ष डुबान र कटानको चपेटाले विस्थापित हुने गर्छन् । विस्थापित दर्जनौँ परिवार त्रिपालमूनि सडकमा बाध्य छन । हालसम्म कुनै निकायबाट पनि राहत वितरण नभएको बाढी पीडितहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्