Logo
Logo
एमाले विवाद

पार्टीलाई एकताबद्ध बनाउनेबारे नेपाल-पौडेलबीच छलफल


दृष्टि संवाददाता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपमहासचिव विष्णु पौडेलबीच पार्टीलाई एकताबद्ध बनाउने बारेमा छलफल भएकाे छ । शुक्रबार दुई नेता बीचमा छलफल भएको एमाले स्रोतले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओली निकट नेता पौडेल विगठित कार्यदलका सदस्यसमेत हुन् । नेपाल निवास कोटेश्वरमा पुगेर पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्नेबारे उनीहरुबीीच छलफल भइरहेको बताइएको छ ।

यसअघि ओली निकट नेता सुवासचन्द्र नेम्वाङले बिहिबार नेता नेपालसँग झण्डै डेढ घण्टा छलफल गरेका थिए । नेपालकै आग्रहमा छुटाछुटै छलफल भइरहेको नेता नेम्वाङले बताए । पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्ने बिषयमा बिभिन्न प्रस्तावमा छलफल जारी रहेको नेम्वाङको भनाइ छ ।

नेम्वाङ र पौडेलसँग छुटाछुटै छलफल गरेका नेता नेपाल अब अध्यक्ष ओलीसँग छलफल गर्ने एमाले स्रोतको दावी छ । तर, ओली र नेपालबीच कहिले र कहाँ छलफल हुन्छ भन्ने टुंगो लागिसकेको छैन् ।

२७ असारमा पार्टीलाई एकताबद्ध बनाउन विगठित कार्यदलबीच १० बुँदे सहमति भएको थियो । तर, त्यो सहमति अपूर्ण रहेको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने माग नेपाल पक्षको रहेको छ । कार्यदलले १० बुँदे सहमति ओली र नेपाललाई बुझाएपनि दुई नेता बीचमा छलफल भएको छैन् ।

अध्यक्ष ओलीले एकतर्फी रुपमा १० बुँदे प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छन् । तर, सहमतिपश्चात बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक नेपाल समूहले बहिष्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्