Logo
ब्लग

न एमाले, न त माओवादी, मात्र सडकको माली !


मिलन लिम्बू


– Milan Limbu

मान्छेका अनेक पीडा हुन्छन् । र, पीडाका पनि अनेक प्रकार हुन्छन् । त्यसमध्येका एक हो- टोपबहादुर रायमाझीहरुको पीडा !

टोपबहादुर र टोपबहादुरजस्तै आफ्नो पदचाप भुलेका पूर्वमाओवादी नेताहरु आजकाल त्यस्तै पीडामा छन् । बेचैनीमा छन् । बेचैनीमै बर्बराइरहेका छन् । कहिले भन्छन्- ‘माओवादी भन्ने पार्टी नै छैन ।’ कहिले भन्छन्- ‘म माओवादी नै हुँ !’

मान्छेका दिन पनि कस्तो-कस्तो ! जो, आफ्नो ज्यानको प्रवाह नै नगरी माओवादी आन्दोलनमा होमियो, आज त्यही व्यक्ति ‘म माओवादी नै हुँ’ भन्दै सडकदेखि न्यायालयसम्म धाउनु परेको छ । आफ्ना स्वार्थहरु सम्झदै धुरुधुरु रुनु परेको छ !

अदालतले नेकपा खारेज गरेपछि टोपबहादुरहरु खुरुक्कै पेरिसडाँडा फर्कनुपर्ने थियो । उनीहरुको विगत, वर्तमान र भविष्य माओवादी नै थियो । तर, स्वार्थले केपी शर्मा ओलीसँगै प्रतिगमनको मतियार बन्न निर्देशित गर्याे । बादल, टोपबहादुर, लेखराज र प्रभुहरु ‘प्रतिगमन ठीक’ भन्दै सडकमा कुर्ले । सडकबाट आफ्नै घर भत्काउन बारम्बार प्रहार गरे । जुनदिन सडकले प्रतिगमन गल्याम्मै ढाल्यो, त्यो दिनदेखि टोपबहादुरहरुको बेचैनी सुरु भयो ।

देश प्रतिगमनको पक्ष र विपक्षमा ध्रुवीकृत हुँदा टोपबहादुरहरु ‘अबको निकास प्रतिगमन नै हो’ भन्दै सडकमा कुर्लदै थिए । बुटवलबाट टोपबहादुरले माओवादी र नेताविरुद्ध गरेको ‘विषवमन’ दुनियाँको मानसपटलमा अमिट तुषको रुपमा जिवित छ । त्यसपछिका दर्जनौं सत्तोसरापहरु कसले बिर्सने ? तर, आज टोपबहादुरहरु ‘हामी माओवादी नै हौँ’ भन्दै अदालत पुगेका छन् !

प्रतिगमनको ‘दोस्रो इनिङ’ अदालतले छिनोफानो गर्नै लाग्दा टोपबहादुरहरुको बेचैनी निर्वाचन आयोग पुग्यो । दावी थियो- ‘यो देशमा माओवादी भन्ने पार्टी नै छैन ।’ तर, बेचैनी र वास्ताविकता त फरक हुन्छ । निर्वाचन आयोगले पानी छम्केर पठायो । माओवादी नै छैन भन्ने टोपबहादुरहरुको फगत दावी धुलिसात भयो ।

बेचैनीको पारो झन् उकालो चढ्यो, बर्बराहट झनै बढ्यो । आयोगले ‘माओवादी वैधानिक पार्टी हो’ भनेपछि पनि टोपबहादुरहरु रोकिएनन् । माओवादीविरुद्ध ‘विषवमनक’ गरिरहे, माओवादी भन्ने पार्टी नै छैन भनिरहे !

सुरुमै भनियो, पीडाका अनेक रुप हुन्छन् । निर्वाचन आयोगले पानी छम्केर पठाएपछि टोपबहादुहरुलाई अर्को पीडाले पेलेर ल्यायो । बेचैनीमा अर्को बर्बराहट सुरु भयो- ‘हामी माओवादी नै हौँ !’ १५ दिनअगाडि माओवादी नै छैन भन्दै निर्वाचन आयोग पुगेका टोपबहादुरहरु अहिले ‘हामी माओवादी नै हौँ’ भन्दै सर्वोच्च अदालत पुगेका छन् । बिचरा टोपबहादुरहरु आफ्नो पदचाप भूल्दा आज आफैँले बनाएको पार्टीले समेत चिन्दैन !

जब स्वार्थको चुली भत्कियो

टोपबहादुरहरुले प्रचण्ड छाडेर ओली रोज्नुमा स्वार्थ नै प्रमुख थियो । प्रनिधिसिभा पुनःस्थापना हुँदैन भन्ने आकलन थियो । निर्वाचनसम्म मन्त्री बनिरहने चाहना थियो । जब प्रतिनिधिसभा पुनःस्थापना भयो, सबै सपना चकनाचुर भयो ।

माओवादी छाडेर एमाले रोज्दा सांसद पद गुमे पनि मन्त्री बनिरहने आकलन थियो । तर, पार्टी त्याग्नेलाई माओवादीले कारबाही नगर्ने कुरा भएन । माओवादीले कारवाही गरेपछि पनि ओलीले मन्त्री त बनाएकै थिए । तर, ओलीले विश्वासको मत नपाएपछि मन्त्रिपरिषद विघटन भयो ।

विधानको अर्को धारा टेकेर ओली प्रधानन्त्री भए । टोपबहादुरहरुलाई पनि मन्त्री बनाए । तर, सांसद नरहेका व्यक्ति ६ महिनाका लागि एक पटकबाहेक मन्त्री बन्न नसक्ने भन्दै सर्वोच्चमा रिट पर्यो । त्यो रिटको फैसला हुँदा टोपबहादुरहरुले बनाएको स्वार्थको चुली गर्लम्मै ढाल्यो ! हो, त्यहीबाट टोपबहादुरहरुको बेचैनी सुरु भएको हो ।

न एमाले, न त माओवादी, मात्र सडकको माली !

मन्त्री बनिरहने चाहना ढलेपछि बादल र टोपबहादुरहरु एमाले बैठकमा ओलीसँगै अग्रपंक्तिमा विराजमान देखिन्थे । ओलीद्वारा एकतर्फी घोषित १०औँ महाधिवेशन आयोजक कमिटीको सदस्य भए । न्यायालयले १०औँं महाधिवेशन आयोजक कमिटी खारेज गरिदियो । त्यससँगै बादल टोपबहादुरहरुलाई एमाले प्रवेश गराउने केन्द्रीय कमिटीका बैठकहरु अवैध ठहर भएर खारेज भए ।

एकपछि अर्को गर्दै संकटमा फस्दै गएका ओलीबाट बादल र टोपबहादुरहरुलाई माया त मिलि नै रह्यो । पछिल्लो बैठकबाट ओलीले बादल, टोपबहादुर र लेखराजलाई स्थायी कमिटी सदस्य पनि बनाए । तर, समाप्तीको अन्तिम छटपटाहटमा ओलीले एकपछि अर्को गर्दै ‘ब्याक गियर’ लगाउँदा नेकपा एमाले २०७५ जेठ २ मा पुगिसकेको छ । जेठ दुईले बादल, टोपबहादुर, लेखराज र प्रभुहरुलाई चिन्दैन । एमालेको विधानले चिन्ने कुरा नै हुँदैन । त्यसैले टोपबहादुरहरु घरको न घाटको भएका छन् । सडकमा पुगेका छन् । भन्दैछन्– ‘हामी माओवादी नै हौँ । एमाले प्रवेश गरेको छैन ।’

सबै परिघटना हेरेपछि जनमासले भन्न थालिसकेको छ– ‘बादल टोपबहादुरहरु न एमाले, न त माओवादी, मात्र सडकको माली ! अब सडक स्याहार्दै बसुन् ।’

माओवादीमा ठाउँ छैन !

घर न घाटको भएपछि अदालत पुगेका टोपबहादुरहरुले ‘बेहाल भइयो माओवादीमै फर्कन्छौँ’ भन्दै धेरैपटक खुमलटारमा खबर पुर्याए । तर, प्रचण्डले कानमा कपास राखे । त्यसैले टोपबहादुरहरु बेचैनीमा न्यायालय पुगेका छन् । संकटमा लात मार्नेहरुलाई फुलमाला लगाएर माओवादीमा स्वागत गर्न प्रचण्ड तयार छैनन् । दोस्रो तहका नेताबाट हैरान प्रचण्डले पार्टीमा युवाका लागि ढोका खोल्ने निर्णय गरिसकेका छन् । यस्तो अवस्थामा किन पो लिन्थे बैगुनी बुढाहरुलाई ! जसले बारम्बार आफ्नै घरमा ढुंगा हानेका छन् ।

माओवादीमा प्रचण्ड फ्याक्टर डरलाग्दो छ । प्रचण्डले चाहे स्थापितमात्रै होइन, उठ्न नसक्ने गरी विस्थापित पनि गरिदिन्छन् । टोपबहादुरहरु माओवादीमै फर्केपनि जीवनभर प्रचण्ड पेलान धान्नुको विकल्प हुँदैन ।

प्रतिगमन रोजेका टोपबहादुरहरुले जनविश्वास पनि गुमाइसकेका छन् । अब फेरि जनताबाट अनुमोदन हुन सहज छैन् । माओवादी नै छैन भन्दै कुर्लदा सहीद तथा वेपत्ता परिवारको मन मुटुमा तिखो छुरा रोपिएको छ । टोपबहादुरहरुले त्यसको जवाफ अबको निर्वाचनमा पाउनेछन् । त्यसैले त टोपबहादुरहरु बेचैनीमा बर्बराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्