Logo
Logo

रातो मच्छिन्द्रनाथको रथ बनाउन सुरु


- दृष्टि न्युज/संवाददाता


ललितपुर, २७ चैत । सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी सुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ ।
मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।
काठ काट्ने जिम्मेवारी पाएका बोसी समुदायले काटेर ल्याइसकेको उनले बताए । बाराही आवश्यक सामग्री निर्माणमा जुटिसकेका छन् । ञँवालले केही दिनपछि नै पांग्रा, धमालगायतका भाग कस्ने, बाँध्ने काम गर्ने उनले बताए ।
यो वर्ष रथ निर्माणका लागि थोरै मात्रै काठ ल्याइएको कार्यालयले जनाएको छ । गत वर्ष एक वर्षलाई आवश्यकभन्दा धेरै काठ ल्याइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रा रहेको छ । मच्छिन्द्रनाथलाई छ महीना बुङ्गमती र छ महीना पाटनमा राखिन्छ । वर्षेनी पाटनमा हुँदा विभिन्न जात्रा र पर्वहरु हुने गर्छ भने १२ वर्षमा एक पटक बुङ्गमतीमा समेत भव्यरूपमा जात्रा मनाइन्छ । जात्रा मनाउनका लागि वर्षभरि नै विभिन्न कामहरु भइरहने कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्