Logo
Logo

दल विहीन ठाकुर र महतो पक्ष अझै अनिर्णित


सन्ताेष साह


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपला (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा छ ।

आयोगको निर्णय पश्चात यादव पक्षले कार्यकारिणी समितिको बैठकमार्फत विभिन्न निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, ठाकुर–महतो पक्ष ठूलो अलमलमा छ ।

ठाकुर निकट नेता सर्वेन्द्रनाथ शुक्लले आयोगको निर्णय पश्चात कसरी अगाडि बढ्ने भन्ने विषय आन्तरिक छलफलमै रहेको बताए । शुक्रवार ठाकुर–महतो पक्षको कार्यकारिणी समिति बैठक बस्यो । बैठकले निर्णय त गरेन तर नयाँ दल दर्ता गरी संगठन निर्माणसँगै जनतामा पुग्ने निष्कर्ष निकाल्यो ।

ठाकुर पक्षले शुक्रवार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको छ । राजपा र समाजवादी पार्टीबीच एकीकरण पश्चात बनेको जसपामा प्रथम वरीयताको अध्यक्ष ठाकुर रहेको दावी गर्दै आयोगको निर्णय कार्यान्वयन नगर्न ठाकुर–महतो पक्षको माग छ ।

‘निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले म समेत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ’ भन्ने ठाकुर पक्षद्वारा दायर रिटमा उल्लेख छ ।

यसअघि निर्वाचन आयोगले ११ साउनमा ‘हेड काउण्ट’ गर्दै यादव पक्षलाई आधिकारिता दिने निर्णय गरेको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले यादव पक्षमा र १६ जनाले ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसे ।

प्रधानमन्त्री छोडे, छोडेनन् मुद्दा

‘ठाकुरजी शान्ति, सादगी र लोभ वा आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न आएको प्रस्तावसमेत अस्वीकार गरेर उहाँ मधेस मुद्दा सम्बोधनतर्फ लाग्नुभयो । अरुले त मुद्दा छोडे र सरकारमा बसेर रमाए, फरक यत्ति हो’ ठाकुर निकटका नेता शुक्लले भने ।

जसपा भित्र विवाद चर्किएका बेला ४ जेठमा अध्यक्षद्वय ठाकुर र यादवको एक संयुक्त विज्ञप्ति आयो । जसमा भनिएको थियो– ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढन सकिने छ ।’

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिता दिइसक्यो । महन्थ–राजेन्द्र पक्ष दल विहीन बन्यो । दल विहीन महन्थ–राजेन्द्र पक्षले अब के गर्ने भनेर निर्णय गर्न सकेको छैन ।

यस सहमति पश्चात ठाकुर र यादवबीचको विवाद समाधान हुने विश्वास सहित ठाकुर प्रधानमन्त्री हुने वातावरण बनेको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समेतले प्रधानमन्त्री हुन ठाकुरलाई प्रस्ताव गरिसकेका थिए ।

गठबन्धन सरकार बनाउन कसरत भइरहेका बेला अध्यक्ष प्रचण्डले ओलीलाई सत्ताच्युत गराउन ठाकुरलाई प्रधानमन्त्री स्वीकार्न सकिने बताएका थिए । त्यसको केही दिनअघि काँग्रेसका वरिष्ठ नेता पौडेलले निवासमै गएर ठाकुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । त्यसपछि ओलीले पनि आफू हट्ने अवस्थामा आफ्नै प्रस्तावमा ठाकुरलाई प्रधानमन्त्री बनाउने मन्त्रणा सुनाए ।

तपाईं प्रधानमन्त्री बन्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा त्यति बेला ठाकुरले भनेका थिए– ‘यो मेरा लागि प्लिजिङ (आनन्द) को विषय हो ।’ प्रधानमन्त्री बन्ने अवसर ठाकुरलाई आए पनि उनी विशेषगरी मुद्दा सम्बोधनमा केन्द्रित भएको जसपा नेताहरू बताउँछन् ।

शुक्लका अनुसार उनले त्यतिबेला मुद्दा छोडेर प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको भए राजनीति कोर्ष पनि बेग्लै हुने थियो । तर, त्यसो नभएको बताउँदै यस बीचमा ठाकुर र महतोकै पहलमा मधेसका केही माग सम्बोधन भएको बताए । मुद्धा फिर्तादेखि संविधान संशोधनका लागि सरकारीस्तरमा समिति गठन, नागरिकतासम्बन्धी अध्यादेश आउनु उपलब्धी नै रहेको ठाकुर पक्षका नेताहरूको बुझाई छ ।

‘विगतमा संविधान संशोधन गर्न भनेपछि आवश्यकता र औचित्यका आधारमा गर्ने भन्ने ओली समेत संशोधनका लागि तयार हुनु र नागरिकतासम्बन्धी अध्यादेश ल्याउनु राम्रो पक्ष नै हो’ शुक्लले भने, ‘कोही कोही त सम्झौता गरेर भए पनि सरकारमा गए तर केही गर्न सकेनन् । हामी सरकारमा सहभागी नभई मुद्दा सम्बोधनतर्फ लाग्नुले मधेसको जनमत हामीसँगै छ ।’ मधेसको मुद्दा बोक्नेसँगै जनमत हुने कि सम्झौता गर्ने र सत्तामा रमाउनेसँग जनमत हुन्छ ? भन्ने निर्णय आउने निर्वाचनबाट हुने उनले बताए ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरले ठाकुर अहिले राजनीतिक दल विहीन अवस्थामा पुगे पनि मुद्दा उहीसँगै रहेको बताउँछन् । मधेसको मुद्दा सम्बोधनका लागि धेरै कुरा त्याग गरेका ठाकुरले ओलीको पछिल्लो कदमलाई सहयोग गर्नु ठिक नभएको बताए ।
‘ओलीले दुई पटक एउटै प्रतिनिधिसभा विघटन गरे । पहिलोपटक विघटन गर्दा ठाकुर–महतो विरोधमै थिए । तर दोस्रोपटक विघटन गर्दा ठाकुर र महतोले साथ दिनु गल्ती भयो’ उनल टिप्पणी गरे ।

‘ठाकुरजीसँग मधेसको मुद्दा छ । तर, उपेन्द्रजीसँग सत्ता छ । हिजो धेरै कुरा त्याग गरेर मधेसको मुद्दा सम्बोधन गराउँन ठाकुरजी लाग्नुभयो । तर, सम्झौता गरेर ओली सरकारमै सहभागी उपेन्द्रजीले केही गर्न सक्नुभएन’ चन्द्रकिशोरले भने, ‘तर प्रतिनिधिसभा विघटनको पक्षमा दोस्रोपटक उभिनु ठाकुरजीको निर्णय गलत थियो ।’

कतिपयले मधेस एजेन्डाका पक्षपाती ठाकुर र अनुदार ओलीबीचको पछिल्लो साँठगाँठलाई रहस्यमय रुपमा लिइरहेका छन् । दुई धु्रवमा विभाजित ओली र ठाकुर–महतोको मिलन घरेलु राजनीतिको स्वार्थ मात्रै नभई बाह्य शक्तिको आड, भरोसा तथा समर्थनले सम्भव भएको विश्लेषणसमेत नेपाली राजनीतिमा भयो र भइरहेको छ ।

मधेसको जनमत कसको पक्षमा ?

स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अबको एक वर्षमा क्रमश शुरु हुँदैछ । राजनीतिक वृत्तमा मधेसको जनमत कसको पक्ष हुने चर्चा समेत शुरु भएको छ । निर्वाचन आयोगको निर्णयसँगै मधेसको सशक्त पार्टी विभाजन भएको छ ।

अध्यक्ष यादव पक्षको पनि आफ्नै दावी छ । जसपा नेता प्रमोद गुप्ताले पार्टी विभाजन नभएको बताउँदै जसपामा मधेसमा झनझन बलियो भएको दावी गरे । पहिलेभन्दा अहिले जसपा मधेसमा बलियो भएको बताउँदै गुप्ता हिमाल पहाडमा बलियो पार्टी बन्दै गएको दावी गर्छन् ।

महन्थ पक्षका नेता शुक्ल भन्छन्- ‘महन्थजी परिपक्व र सादगी नेता हो । अकस्मात राजनीतिमा आएका होइनन् । अहिले पनि मधेसको मुद्दा ठाकुर–महतोले नै बोक्ने भएकाले मधेसको जनमत पनि उनीसँगै हुनेछ ।’

अध्यक्ष यादव पक्षको पनि आफ्नै दावी छ । जसपा नेता प्रमोद गुप्ताले पार्टी विभाजन नभएको बताउँदै जसपामा मधेसमा झनझन बलियो भएको दावी गरे । पहिलेभन्दा अहिले जसपा मधेसमा बलियो भएको बताउँदै गुप्ता हिमाल पहाडमा बलियो पार्टी बन्दै गएको दावी गर्छन् ।

‘मधेसमा हिजो विभिन्न पार्टीहरु थिए । पार्टी एकीकरण हँुदै अहिले जसपा बनेको छ । विभाजन भएको छैन । केही नेता यसबाट अलग भएको मात्रै हो । जसपा पहिलेभन्दा अहिले शसक्त पार्टी बनेको छ । स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचन केही महिना पछि क्रमश हुँदैछ । हेर्नुहोला जसपाले पहिलेभन्दा बढी संख्यामा निर्वाचन जित्नेछ ।’ उनले भने ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भने मधेसको जनमत बेग्लै रहेको बताउँछन् । मुद्दाको हिसावले मधेस एजेण्डा ठाकुर र महतोसँग भएकाले जनमत पनि उतै जाने निश्चित छ । विगतलाई हेर्ने हो भने उपेन्द्रजीले सम्झौता गर्दै सरकारमा गएर मधेस मुद्दा बिर्सेका छन् ।

‘मधेसको जनमत छुट्टै खालको छ । मुद्दाको हिसाबले ठाकुर र महतोजी अहिले पनि बलियो हुनुहुन्छ । उपेन्द्रजी सम्झौता गर्दै सरकारमा जाने तर सत्तामा पुगेर मुद्दा बिर्सने गर्दै आउनु भएको छ, चन्द्रकिशोरले भने ।

अहिलेको पद जाने डरले केही निर्वाचित जनप्रतिनिधिको संख्या उपेन्द्रतर्फ देखिए पनि आउँने निर्वाचनसम्ममा सबै आ–आफ्नो ठाउँमै पुग्ने उनको तर्क छ । उनले भने– ‘उपेन्द्रजीको जनमत एकखालको छ भने, ठाकुर र महतोको जनमत पनि छुट्टै खालको छ । तटस्थ मतदाता तथा मधेस मुद्धाप्रति समर्पित ठाकुर र महतो तर्फ नै जानेछ ।’

जसपाका नेता एवं वुद्धिजीवि सत्यनारायण मण्डल मधेस मुद्दा सम्बोधनका लागि नेताहरू एकजुट हुनुको विकल्प नभएको बताउँछन् । विभाजित भएर मधेसको मुद्दा सम्बोधन नहुने बताउँदै उनले अहिले पनि केही नबिग्रेकाले नेताहरूले आत्मालोचना गर्दै पार्टीलाई एकजुट बनाउनुपर्ने बताए ।

भिन्न भिन्नै अवस्थामा रहँदा मधेसी शक्ति शक्तिहीन थिए । तर, एकीकृत भएपछि शक्तिशाली बने । त्यो शक्ति भने लामो समय टिक्न सकेन । तर, मधेसी शक्ति एकीकृत हुनुपर्छ भन्ने मधेसी जनताको मत छ ।

प्रतिक्रिया दिनुहोस्