Logo
Logo

मौसमीका कैयौँ रहर, एउटै उद्देश्य…!


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ चैत । हरेक मान्छेका सपना र उद्देश्य हुन्छ । फरक यतिमात्रै हो, त्यो आ–आफ्नै हुन्छ । यस्तै मोडल तथा कलाकार मौसमी कन्दङ्वा लिम्बूसँग पनि सपना र उद्देश्यहरु छन्, जसलाई पूरा गर्दै जाने उनको लक्ष्य छ ।
पुर्वी पहाडी जिल्ला तेह्रथुमकी मौसमी भन्छिन्, ‘सपना र उद्देश्यहरु थुप्रै छन् । तर, कुन क्षेत्रलाई लक्ष्य बनाउने भन्ने यकिन गरेकी छैन ।’ केही वर्षयता मोडलिङमा सक्रिय रहेपनि उनले ग्ल्यामरस क्षेत्रलाई उद्देश्यकै रुपमा नलिएको बताइन् । ‘मेरो रुचि गायनतिर पनि छ’ उनले भनिन्, ‘तर, ती सबै मेरो रहरमात्रै हो ।’

कलाकारिता अर्थात मोडलिङलाई रहरकै रुपमा मात्र लिएकी मौसमीले एक प्रशंग भनिन्, ‘म नयाँ–नयाँ काम गर्न रुचाउँछु । त्यसैले मिडिया फिल्डमै रमाउने मन छ ।’ हुन त मोडलिङ पनि मिडिया क्षेत्र नै हो । तर, मौसमीले आफू ‘किङ मेकर’ बन्न चाहेको बताइन् ।
करिब दुई वर्षकै अन्तरालमा म्युजिक भिडियोहरुमा आफ्नो कला सौन्दर्यमार्फत दर्शकको मन जित्न सफल भएकी मौसमी भन्छिन्, ‘आवाज बुलुन्द गर्ने मिडियाकर्मी बन्न चाहन्छु जबकि, ओझेलमा परेका प्रतिभा र आवाजविहीनहरुका आवाज बन्न सकुँ ।’ यसरी एक कुसल सञ्चारकर्मी बन्ने उद्देश्य लिएपनि मोडलिङलाई पनि निरन्तरता दिने उनको सोच छ ।
‘मोडलिङ मेरो सानैदेखिको रहर हो’ मौसमीले भनिन्, ‘अहिले ती रहर र इच्छाहरु विस्तारै पूरा गर्दै आएकी छु । तर, अब एउटै उद्देश्य लिएर अगाडि बढ्नु पर्ला भनेर सोच्दै छु ।’ उनले आफ्ना थुप्रै उद्देश्य र सपनाहरुमध्ये मिडिया क्षेत्र एक भएको बताइन् ।
दुई वर्षअघि मोडलिङमा करिअर प्रारम्भ गर्दा मौसमीले एउटा सपना देखेकी थिइन् । त्यो सपना मोडलिङ थियो । उनले भनिन्, ‘थुप्रै सपनाहरुमा एक सपना मोडलिङ थियो । त्यो अहिले गरिरहेकी छु । तर, मोडलिङमै करिअर बनाएर भविष्य बनाउँछु भन्ने सोचेकी छैन किनकि, रहर र उद्देश्य भनेको फरक–फरक हुन् ।’
हुन त मौसमीको मोडलिङमा पनि उज्वल भविष्य देखिन्छ । यसअघि उनले जति पनि मोडलिङ गरिन्, त्यसबाट पाएको ‘फिडब्याक’ले पनि त्यो प्रष्टिन्छ । एक जना मोडलमा हुनुपर्ने गुण मौसमीसँग छ । थोरै फोटोजेनिक मोडलमध्ये मौसमी पछि पर्छिन् । मोडलका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ, लुक्स र जीवनशैली अनि समयको महत्व । जसलाई मौसमीले अंगिकार गरेकी छन् ।
तैपनि मौसमीले मोडलिङलाई करिअरको सपना देखेकी छैनन् । आफ्ना रहरहरु पूरा हुँदै गएपछि सामाजिक रुपमा आफूलाई चिनाउन मिडियाकर्मी हुँदै विजनेश वुमनसम्म बन्ने उनको लक्ष्य छ । हाल भिजुअव मिडियालाई कसरी अंगिकार गरेर अगाडि बढ्न सकिन्छ भनेर अध्ययनकै क्रममा रहेकी मौसमी भन्छिन्, ‘अहिले जतिपनि काम गर्दै आएकी छु । ती सबै मेरो लागि अध्ययन हो ।’ अनौपचारिक कुराकानीकै क्रममा उनले थपिन्, ‘यो क्षेत्रमा मेरो कसैसँग प्रतिस्पर्धा पनि हुने छैन । म आफ्नै तरिकाले अगाडि बढ्न चाहन्छु ।’

Mausami , Model

प्रतिक्रिया दिनुहोस्