Logo
Logo

‘संविधान कुल्चिनेविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कुल्चिने प्रयास गर्ने जो कोहीविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।

शनिबार अखिल फोर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्र ल्याउने कसैले दुस्साहस गर्न खोज्छ। भने त्यसविरोद्ध कडा प्रतिवाद गछौँ। संविधानलाई कुल्चिने काम गर्छ भन्ने हामी चुप लागेर बस्दैनौँ।’

सर्वोच्च अदालतले गलत काम सच्चाइएको उनको भनाइ छ। कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुन्छ। जे हुन्छ सिधा सिधा हुन्छ उनको भनाइ छ।

अध्यक्ष केपी शर्मा ओलीले लक्षित गर्दै भने, ‘अहंकारले मान्छेलाई कतै पुर्‍याउँदैन। त्यो अवश्य पतन हुन्छ। कोही मान्छे वचनको पालना गर्दैन भने त्यसलाई इमान्दार नठान्नुहोस्। मै जान्ने मेरासामु अरू कोही छैन भन्ने प्रवृत्तिबाट टाढा रहनुहोस्।’ उनले आफ्ना कार्यकर्तालाई जनताप्रति इमान्दार भएर काम गर्न पनि निर्देशन दिए।

उनले सर्वोच्च अदालतको फैसलाले लामो समयदेखि गलत बाटोमा गइरहेको देशलाई, लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याउने काम गरेको बताए । उनले भने, ‘यो संविधानको संरक्षण भएको छ। सही व्याख्या गरिएको छ। गलत कामलाई सच्याउने काम भएको छ। सर्वोच्च अदालतप्रति हामी सम्मान व्यक्त गर्न चाहन्छौं ।’

नेता नेपालले नेपाली जनताले राजतन्त्रलाई ढालेको भन्दै त्यो फेरि फर्केर नआउने बताए । ‘राजतन्त्रलाई फेरि कसैले ल्याउने दुष्साहस गर्छ भने इतिहासको कुडाकर्कटमा फालिनेछ तिनीहरुलाई सधैँसधैँका निम्ति। देशको हितमाथि कुठाराघात गर्ने र देशको अखण्डतामा आँच पुर्‍याउने कुनै पनि प्रवृत्ति छ भने त्यसलाई कुनै पनि हदमा छुट दिन सकिँदैन। हामीले रगत पसिना बगाएर ल्याएको संविधानको मर्यादाको रक्षा गर्छौं। यो संविधानलाई कसैले कुल्चिने काम गर्छ भने हामीलाई स्वीकार्य छैन ।’

नेपालले सबै जनतालाई कोरोनाको खोप उपलब्ध गराउन पनि माग गरे । उनले घोषणा गरेर मात्र नहुने भन्दै साँच्चिकै खोपको व्यवस्था गर्न माग गरे।

उनले भने, ‘घोषणा गरेर मात्रै आनन्दित नबन्नुस्। नेताहरुको बानी बिग्रेको छ, ठूलो कुरा गर्ने तर लागू नगर्ने। त्यस्तो नगर्नुस्। शेरबहादुर देउवाले पहिलो दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नु भएको छ। निमुखाहरुमा पनि खोपको पहुँच पुगोस् ।’

प्रतिक्रिया दिनुहोस्