Logo
Logo

कैलालीमा रोकिएन नदीजन्य पदार्थको दोहन र उत्खनन्

अवैधरुपमा उत्खनन् गर्ने ११ ट्याक्टर कारवाहीमा


हिक्मत बम


धनगढी । कैलाली जिल्लामा नदीजन्य पदार्थको दोहन र उत्खनन् तिब्र रुपमा भइरहेको छ । जिल्लाका खोला तथा नदिहरुबाट ढुंगा, गिट्टी, बालुवाको चोरीनिकासी बढ्दै गएपछि तल्लो तटिय क्षेत्र डुवानमा पर्न थालेको छ ।

वर्षातमा नदीजन्य पदार्थ उठाउनु आफैमा पनि जोखिम कार्य मानिन्छ तर केही प्राकृतिक माफियाहरुले नदीजन्य पदार्थको दोहन र उत्खनन्संगै चोरीनिकासी गर्दै जाँदा जिल्लाको तल्लो तटिय क्षेत्र हरेक वर्ष वर्षा सुरु भएसंगै डुबानमा पर्ने गरेको हो । चुरे क्षेत्रमा पनि बाढीपहिरोको जोखिम बढेको छ ।

तरपनि माफियाहरुले प्राकृतिक सम्पदाको दोहन र उत्खनन् गर्ने कार्य रोकेका छैनन् । सरोकारवाला निकाय पनि मौन छ । जसले गर्दा कैलालीबासीहरु हरेक वर्ष प्राकृतिक विपत्ति र दैविक प्रकोपमा पर्ने गरेका छन् ।

पछिल्लो समय कलाली जिल्लाको प्राकृतिक सम्पदाहरु माफिया चंगुलमा पर्दै गएको छ । स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारको ठेकेदारसंगको मिलेमतोमा जिल्लाका प्राकृतिक सम्पदाहरु माफियाको हातमा पर्दै गएको स्थानीयहरुको आरोप छ ।

स्थानीयका अनुसार यदि स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारको मिलेमतो नभएको भए नदीजन्य पदार्थ उत्खनन् र दोहन हुनबाट रोक हुने थियो तर उनीहरु आफै माफियाको चंगुलमा परिसकेका छन् ।

कैलाली जिल्ला प्राकृतिक रुपमा जति धनी छ । त्यतिनै जोखिममा पनि रहेको छ । कैलाली जिल्ला चुरे पहाडसँग जोडिएको र जिल्लाको केहि भू–भाग चुरे पहाडमा पर्ने भएकाले पनि जोखिममा रहेको वातावरणविद्हरु बताउँछन । विद्काअनुसार चुरे आफैमा पनि जोखिममा रहेको पहाड हो । त्यसैमा पनि माफियाहरुले चुरेको दोहन र उत्खनन गर्ने हो भने त्यसको प्रत्यक्ष असर चुरेको तल्लो तटिय क्षेत्रमा पर्ने गर्दछ ।

नदीजन्य पदार्थको दोहन र उत्खनन् बढ्दै गएसँगै चुरे भू-स्खलित हुँदै गएको छ । र बाढीपहिरोको जोखिम पनि बढ्दै गएको छ । यसको प्रत्यक्ष असर जैविक मार्ग, जल मार्ग, वातावरणीय सन्तुलन र पर्यावरणीय सन्तुलनमा पर्दै गएको शिव माध्यमिक विद्यालय चुरे–१, किम्तोलाका शिक्षक शेरबहादुर बमले बताए ।

उनले भने– ‘प्राकृतिक रुपमा धनी कैलाली जिल्लालाई माफियाहरुले कु्रप पार्दै गएका छन् । जसले गर्दा हामीहरुले मौसम परिवर्तन भएसंगै विभिन्न विपत्तिहरुको सामना गर्नु छ ।’

जिल्लाका गोदावरी, गौरीगंगा, खुटिया, रोरा, डोडा, लिक्मा, चोरी खोला तथा नदिबाट नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको चोरीनिकासी भइरहेको छ । यी नदी तथा खोलाहरुबाट नदीजन्य पदार्थहरुको चोरीनिकासी हुँदा जिल्लाको अत्तरिया, धनगढी, चौमाला, मसुरिया, पहलमानपुर, सुखड, बौनियाँ, लम्की, टीकापुर लगायतका क्षेत्रहरु हरेक वर्ष डुबानमा पर्ने गरेका छन । यो वर्ष पनि भजनी नगरपालिकाका लालबोझीबासी बिस्थापित भएका छन ।

११ ट्याक्टर कारवाहीमा

जिल्लामा अवैधरुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा अवैध रुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरी सम्झाइबुझाइ गरी छोडिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ७ बजे कैलालीको गोदावरी नगरपालिका ९ स्थित खुटिया खोलाबाट अवैध रुपमा बालुवा निकाली रहेको अवस्थामा ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अवैधरुपमा बालुवा निकाली रहेकोले प्रति ट्याक्टर रू ६ हजारका दरले राजस्व जरिवाना काट्न लगाई सम्झाइबुझाइ छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

अवैधरुपमा बालुवा निकाली रहेको अवस्थामा ९ से २ त २८३५, से २ त ३६५५, स े१ त ५३९७, से १ त २३६८, से १ त ९६१३, से १ त ८४४९, से १ त ८७५९, से १ त ५४४९, सु.प.प्र.०१००२ त ५८०७, सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा कारवाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई गोदावरी नगरपालिकाको कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रति ट्याक्टर रु ६ हजारका दरले राजस्व जरिवाना काट्न लगाई सम्झाइबुझाइ गरी छोडिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्