Logo
Logo

‘बाँच्न सक्ने ज्याला’ माग्दै अस्ट्रेलियामा हजारौँको प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


मेलबोर्न, २७ चैत (एएफपी) । अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो ।
विपक्षी लेबर पार्टीले मजदूरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनाव प्रचार गरिरहेको छ । पार्टीसँग आबद्ध मजदूर युनियनले अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेको छ ।
सत्तारुढ लिबरल–नेसनल गठबन्धनले भने कामदारको ज्याला बढाउन कम्पनीको कर कटौती गर्नुपर्नेमा जोड दिएको छ । प्रदर्शनमा सहभागी धेरै प्रदर्शनकारीले चम्किला कपडा लगाउनुका साथै ‘नियममा परिवर्तन गरौँ’ भन्ने नारा लेखिएका ब्यानर बोकेका थिए ।
राज्यका प्रधानमन्त्री ड्यानियल एन्ड्रुले अस्ट्रेलियालीहरुले ‘बाँच्न सक्ने ज्याला’ माग गरिरहेको बताए । उनले भने, ‘मानिसहरु क्रुद्ध भएका छन् । उनीहरु अहिले सडकमै निस्कनुपर्ने अवस्थामा पुगेका छन् ।’
यसै साताको यो दोस्रो ठूलो प्रदर्शन हो । पशुपक्षी अधिकारवादीहरुले पनि गत सोमबार आकस्मिक प्रदर्शन गरी सडक अबरुद्ध गरेका थिए । कतिपय लेबर पार्टीका समर्थकहरुले मुलुकभित्र बढ्दै गएको आप्रवासीका कारण रोजगारीमा असर परेको तथा न्यूनतम ज्याला बढ्न नसकेको तर्क गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्