Logo
Logo

ओलीद्वारा हस्ताक्षर सहितको दोस्रो अध्यक्ष अस्वीकार


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समान हस्ताक्षर सहितको अध्यक्ष पार्टीमा बनाउन अस्वीकार गरेका छन् ।

आइतबार एमाले उपाध्यक्ष डा. भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अध्यक्ष ओलीलाई भेट्न बालकोट निवास पुगेका थिए । नेपाल निकटका रावल र पाण्डेसँग छलफल गरेका ओलीले एमालेमा समान हस्ताक्षर सहितको दोस्रो अध्यक्ष अस्वीकार गरेका हुन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चर्किदै गएपछि पार्टी एकताका लागि दोस्रो तहका नेताहरुले दवाव दिन ओलीले नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरेका थिए । तर, नेपालले समान हस्ताक्षर सहितको अध्यक्षको व्यवस्था विधान संशोधन गरेर गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

अध्यक्ष ओलीसँग भेटेका नेता पाण्डेले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्दै पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको बताए । पार्टीभित्रको विवाद समाधानका लागि विगठित कार्यदलले गरेको १० बुँदे प्रस्तावमा आवश्यक परिमार्जन गरेर पार्टीलाई एकताबद्ध बनाउन सकिने उनको भनाइ छ ।

‘पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्यौ । १० बुँदे प्रस्तावदेखि त्यसमा आवश्यक परिमार्जन गरेर पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ’ पाण्डेले भने ।

अध्यक्ष ओलीले दोस्रो अध्यक्ष नेपाललाई बनाउन खोजेका छन् । नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीभित्रको विवाद समाधान गर्न सकिन्छ भन्ने रणनीतिमा ओली भएपनि नेपालले दोस्रो अध्यक्षको रुपमा वरिष्ठ नेता झलनाथ खनाल वा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यमध्ये एकलाई बनाउन प्रस्ताव गरेका छन् ।

एमाले विधानअनुसार दोस्रो अध्यक्षको व्यवस्था छैन् । तर, नेताहरुले विधान संशोधन गरेर भएपनि पार्टी एकता गर्न दोस्रो अध्यक्षको प्रस्तावमा छलफल गरिरहेका छन् । एमाले भित्रको विवाद चर्किदै गर्दा पार्टी नै फुट नजिक पुगेपछि दोस्रो तहका नेताहरुले एकताका लागि दवाव दिइरहेका छन् । शीर्ष नेताले विभिन्न प्रस्तावमा छलफल गरेपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन् ।

दोस्रो तहका नेताहरु पार्टीलाई एकताबद्ध बनाउने बिषयमा छलफल जारी राखेकाले शनिबार स्थायी कमिटी बैठक स्थगित भएको थियो । तर, सहमति नभएपनि आज बस्ने भनिएको स्थायी कमिटी बैठक नरोक्ने पक्षमा ओली समूह रहेको छ । एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज ३ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्