Logo
Logo

माओवादीलाई मन्त्री छान्न नै सकस

आज पनि मन्त्रीको नाम टुंगो लगाउन सकेन


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकले मन्त्री हुनेको नामावली टुंगो लगाउन सकेन ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भोली बस्ने स्थायी कमिटी बैठकमा मन्त्री हुनेको नामावली टुंगो लाग्ने बताए । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको उनले बताए ।

पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्दै बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनसँग छुटाछुटै र सामुहिक छलफल गर्ने निर्णय भएको श्रेष्ठले बताए । ‘बैठकमा सत्तारुढ गठबन्धनलाई अझै बलियो बनाउने निर्णय भएको छ । त्यसका लागि अध्यक्ष कमरेड प्रचण्डले सत्तारुढ गठबन्धनसँग छुटाछुटै तथा सामुहिक छलफल गर्नुहुनेछ’ बैठकपछि नेता श्रेष्ठले भने ।

सत्तारुढ गठबन्धलाई बलियो बनाउँदै सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्चालनका लागि अगाडि बढ्ने र सरकारको काम जनमुखी एवं प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्दै सत्तारुढ गठबन्धलाई बलियो बनाउने बारेमा छलफल भएको बताए । पार्टीभित्र मन्त्री हुनेको नामावली भोली बस्ने बैठकबाट टुंगो लाग्ने उनले बताए ।

सत्तारुढ दलले समेत मन्त्री हुनेको नामावली टुंगो लगाउन नसकेको भन्दै उनले माओवादी केन्द्रले भोलीसम्ममा मन्त्री हुनेको नामावली टुंगो लगाइसक्ने दावी गरे ।

सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच मन्त्रालयको संख्या भागबण्डा भइसकेको छ । काँग्रेसले ८ माओवादी केन्द्र र जसपाले ७ र ६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ । सरकारलाई समर्थन गरेको एमालेको माधवकुमार नेपाल समूहलाई समेत सरकारमा ल्याउने कसरमा सत्तारुढ गठबन्धनका नेताहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्