Logo
Logo
महाकाली तुइन घटना

प्रत्यक्षदर्शीलाई झिकाइयो, अनुसन्धान टोली खलंगा पुग्दै


दृष्टि संवाददाता


काठमाडौं । तुइन तर्दै गर्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीन जनालाई सोमबार जिल्ला सदरमुकाम खलंगा ल्याइँदैछ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीकाअनुसार तुइन तर्दै गर्दा देख्ने तीन जनाले देखेका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय ल्याउन लागिएको हो ।

यसअघि शसस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा टोली घटनास्थल पुगेर घटनाको यथार्थ पत्ता लगाउने कोसिस गरेको थियो । दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय युवा जयसिंह धामी शुक्रबार तुइनबाट खसेर वेपत्ता भएका थिए ।

अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दैगर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएको आरोप लागेको छ । तर, यतिबेलासम्म भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको हो कि होइन भन्ने खुलेको छैन ।

प्रत्यक्षदर्शीले भने तुइननजिकै हातमा आरा लिएका भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानहरू देखेको र उनीहरुले नै तुइन काटिदिएको बताएका छन् । भारतीय सिमा सुरक्षा बल एसएसबीले भने अनभिज्ञता जनाउँदै आफ्नो संलग्नताबारे इन्कार गरेको छ ।

भारतीय पक्षले तुइन काटिएको सम्बन्धमा इन्कारी जवाफ दिएपनि प्रत्यक्षदर्शीले भने तुइन काटिएको नै बताउँदै आएका छन् । घटनालाई नजिकबाट देखेका व्यक्तिलाई सदरमुकाम बोलाइएको भन्दै उनीहरु आएपछि घटनाबारे थप केही बुझ्न सकिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन् ।

यसैबीच गृह मन्त्रालयले गठन गरेको केन्द्रीय अनुसन्धान टोली पनि घटनाको अनुसन्धानका लागि आजै दार्चुला जाँदैछ । महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्