Logo
Logo

मेलम्ची खानेपानी आयोजना अनिश्चित


दृष्टि संवाददाता


काठमाडौं । मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको छ । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको हो ।

सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवक्र्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताइन् ।

अयोजनामा बाढीले क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो ।

सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण नहुने समितिले यसअघि नै सूचना जारी गरिसकेको थियो । बाढीले बारम्बार आयोजना स्थलमा पुर्‍याएपछि थप केही महीना पानी नआउने निश्चित भएको छ ।

गत असार एक गतेको बाढीअघि माघसम्म अस्थायी रुपमा ल्याउने सकिने आकल गरिएपनि बाढीले बारम्बार आयोजनामा क्षती पुर्याएपछि पानी आउने मिती अनिश्चित भएकाे सचिव बज्राचार्य बताइन् । उनका अनुसार तत्काल आयोजना स्थलमा गएर काम गर्न सक्ने अवस्था छैन ।

बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पुर्याएको छ । बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले काम अगाडि बढाउन नसकिने बज्राचार्य बताइन् ।

गाडी पुग्ने बाटो बनेपछि तीनदेखि चार महिनासम्ममा पानी ल्याउन सकिने अनुमान रहेको उनको भनाइ छ । अहिले पनि पानी पर्ने र बाढी र पहिरो जाने खतरा नहटेकाले आयोजनाको काम गर्न अन्यौल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्