काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएको बताएका छन् । सोमबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले उक्त मन्त्रालय रोजेको बताए । मन्त्री लामिछानेले भने, ‘सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृहमन्त्रालयका बारेमा गुनासो आएको थियो । गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो ।’
निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको बताएका मन्त्री लामिछानेले आफूमातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने बताए । ‘स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन’, उनले भने ।