Logo
Logo

टेलिकमको बिलिङको ठेक्का, बिचौलियाहरू सल्बलाए



काठमाडौं । नेपाल दूरसंचार कम्पनी (टेलिकम)की निमित्त प्रबन्ध संचालक संगीता पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संचार मन्त्रालयले पटक पटक निर्देशन दिएपछि बल्लबल्ल बिलिङको ठेक्का निकालेकी छिन् । तर, टेलिकमले निकालेको बिलिङको टेण्डर नै विवादमा परेको छ ।

नेट क्य्राकरका राम थापा

विश्वमा प्रबिधिले फड्को मारिसक्दा पनि निमित्त प्रबन्ध संचालक पहाडीले बिचौलियाको प्रभावमा परी सन् २०१६ कै प्रबिधिलाई आधार मानेर टेलिकमको बिलिङको बोलपत्र सूचना निकालेपछि विवादमा परेका हुन् । करिब ४ अर्बको बिलिङ सफ्टवेयरको बोलपत्रको प्रिबिडिङ मिटिङ आइतबार (९ बैशाख, २०८१) भएको थियो । उक्त मिटिङमा ६ वटा कम्पनीले भाग लिएका थिए ।

टेलिकमको बिलिङको बोलपत्रका लागि चिनियाँ कम्पनी हुवावे, नेट क्य्राकर, अमेरिकी कम्पनी सीएसजीसहित ६ वटा कम्पनी सहभागी थिए । संचारमन्त्री रेखा शर्मा हुवावेको पक्षमा रहेकी छिन् । उनले हुवावेको नयाँ (लेटेष्ट) प्रविधिको सफ्टवेयर भएकाले टेलिकमका लागि उपयुक्त हुने दाबी गर्दै आएको स्रोतले बताएको छ ।

सीएसजीका अरुण श्रेष्ठ र नेट क्य्राकरका राम थापा भने सन् २०१६ कै प्रविधि (गाट्नर)लाई आधार मानेर बिलिङको ठेक्का लिने चलखेलमा छन् । थापाले बालुवाटारमा गंगा दाहालसँग सेटिङ गरी उनैमार्फत् टेलिकमकी एमडी संगीतालाई समेत मिलाइसकेको स्रोत बताउँछ ।

एमडी पहाडीले संचारमन्त्रीको भन्दा पनि बालुवाटारकै कुरा सुनेपछि टेलिकमको बिलिङ सफ्टवेयरको ठेक्का एशिया इन्फोको भन्दा पनि कमसल गुणस्तरको र पुरानै प्रबिधिका आधारमा टुंग्याउने चलखेल जारी छ । जसको प्रत्यक्ष लाभ एनसेलले पाउने टेलिकम स्रोत बताउँछ । नेट क्य्राकरका राम थापाले अख्तियारसमेत मिलाउने ठेक्का लिएकाले एमडी पहाडीले संचारमन्त्रीको कुरा नसुनी बालुवाटारको सुनेर बोलपत्र सूचना नै पुरानो प्रविधिका आधारमा गरेको आरोप छ ।

सुरुमा टेलिकमको बिलिङको ठेक्का एशिया इन्फोले लिएको थियो । एशिया इन्फोको म्याद सकिएपछि पुनः एक बर्ष थप गरिएको थियो । त्यसको पनि म्याद सकिन केही महिना बाँकी छ । एशिया इन्फोले टेण्डर नगर्न र गरिहाले पनि बिलम्ब गराउन प्रबन्ध संचालक पहाडीलाई प्रलोभनमा पार्दै आएको थियो । एशिया इन्फोको म्यादथप प्रकरणमा भएको अनियमिततामा पनि अख्तियारले गहन अनुसन्धान गरिरहेको छ ।

जसमा टेलिकमका अघिल्ला प्रबन्ध संचालक डिल्लीराम अधिकारीले सबैभन्दा बढी अनियमितता गरेको पाइएपछि उनीसँग पनि आयोगले पटक पटक बयान लिइसकेको छ । गएको चैत १८ गते गरिएको बिलिङको बोलपत्र आगामी जेठ ८ गते खोल्ने मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्