Logo
Logo

गण्डकीका मुख्यमन्त्री विरुद्धको रिटमा आज पनि सुनुवाइ


504
Shares

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिटमा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा मंगलबारबाट सुनुवाइ सुरु भएको हो । मंगलबार सो रिट हेर्दाहेर्दैमा राखिएको थियो ।

यसअघि सर्वोच्चले उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो । मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरी आफूलाई ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत र विपक्षमा २७ मत खसेको थियो । मतदानपछि सभामुख कृष्ण प्रसाद धितालले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै अधिकारीको पक्षमा बहुमत प्राप्त भएको घोषणा गरेका थिए ।

गण्डकी प्रदेश सभामा सभामुखसहित ६० सदस्य रहेकोमा बहुमतका लागि ३१ मत आवश्यक थियो । तर, सभामुखले अधिकारीलाई विश्वासको मत दिइ बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेसले नाराबाजी गरेको थियो ।

यसअघि अधिकारीको नियुक्ति असंवैधानिक भन्दै गण्डकी कांग्रेसका संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । तर, अदालतले उक्त रिट खारेज गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्