काठमाडौं । नेपका एकीकृत समाजवादीले विद्युतीय मेसिनमार्फत मतदान गर्ने भएको छ ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गरिएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा. गंगालाल तुलाधर र डा. विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।
अहिलेसम्म अध्यक्षका लागि माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना रहेको बताएका छन् ।
यद्यपि सहमतिमै नेतृत्व छानिने गरी प्रयास पनि भइरहेको छ । महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ ।